१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

बजेटै छैन वडालाई

काठमाडौं महानगरपालिकाले वडालाई आवश्यकभन्दा कम बजेट विनियोजन गरेको पाइएको छ । 
महानगरले ल्याएको बजेट एवं नीति तथा कार्यक्रममा स्थानीय आवश्यकतालाई बेवास्ता गर्दै वडाहरूलाई न्यून बजेट विनियोजन गरिएको हो । मुलुक संघीयतामा गएपछि सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुग्ने नारा लगाइए पनि महानगरको बजेटमा भने केन्द्रीय मानसिकता नै हाबी देखिएको हो । 

करिब दुई दशकपछि महानगरले नयाँ जनप्रतिनिधि पाए पनि वडाहरूले भने एकदमै न्यून बजेट पाएका छन् । महानगरले चालू आर्थिक वर्षका लागि कुल १२ अर्ब ८७ करोड  ८९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ । त्यसमध्ये महानगरका ३२ वटै वडाको कुल बजेट भने जम्मा ५८ करोड ४७ लाख ८० हजार मात्र छ । 

कामनपा– १६ का वडाध्यक्ष मुकुन्द रिजाल महानगरले बजेट विनियोजनमा वडालाई बेवास्ता गरेको बताउँछन् । ‘क्षेत्रफलका हिसाबले मेरो वडा तारकेश्वर नगरपालिकाभन्दा ठूलो छ, बजेट साह्रै थोरै विनियोजन गरियो,’ उनले भने, ‘महानगरपालिकाको बजेट जति सबै केन्द्रमै राखिएको छ, वडालाई त कनिका छरेजस्तो मात्र भयो ।’ 

महानगरले ल्याएको बजेट एवं नीति तथा कार्यक्रममा स्थानीय आवश्यकतालाई बेवास्ता गर्दै वडाहरूलाई न्यून बजेट विनियोजन गरिएको हो । मुलुक संघीयतामा गएपछि सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुग्ने नारा लगाइए पनि महानगरको बजेटमा भने केन्द्रीय मानसिकता नै हाबी भएको देखिएको हो । 

उनले वडालाई अधिकारसम्पन्न हुन नदिने चलखेलका कारण कम बजेट छुट्ट्याइएको दाबी गरे । ‘सिंहदरबारको अधिकार गाउँ–गाउँमा भन्ने नारा घन्कियो, व्यवहारमा कार्यान्वयन भएन, त्यसले स्थानीय तह कमजोर हुँदै गइरहेका छन्,’ रिजालले भने, ‘बजेट विनियोजन गर्दा भूगोल, जनसंख्या, विकास पूर्वाधारलाई आधार मान्नुपथ्र्यो, त्यसो नहुँदा वडाले चाहेजस्तो विकास निर्माण हुन सक्दैन ।’

महानगरले चालू आवका लागि ३२ वडालाई तीन भागमा वर्गीकरण गरेर बजेट विनियोजन गरेको छ । वडास्तरीय भौतिक पूर्वाधार विकासका लागि १५ ठूला वडालाई दुई करोड २५ लाख रुपैयाँका दरले  ३३ करोड  ७५ लाख रुपैयाँ छुट्ट्याइएको छ । 

मझौला वडाका लागि प्रत्येकलाई एक करोड ५० लाख रुपैयाँ छुट्ट्याइएको छ । महानगरभित्र मझौला वडा १० वटा छन् । यसैगरी साना वडाका लागि प्रत्येकलाई एक करोड पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ । महानगरमा साना वडा सातवटा छन् । 

महानगरले वडास्तरमा सञ्चालन हुने बत्ती मर्मतसम्भार, महिला सीप विकास, बालविकास, विपन्न तथा पिछडिएको वर्ग उत्थान, सफाई सामग्री खरिद, सचेतना एवं जात्रापर्व सञ्चालन लगायत कार्यक्रममा लागि बजेट छुट्ट्याइदिएको छ । 
कामनपा– २० का वडाध्यक्ष राजेन्द्र मानन्धर महानगरले वडाको आवश्यकता नबुझी बजेट विनियोजन गरेको बताउँछन् । ‘हाम्रो वडामा फुटपाथ निर्माण गर्नुपर्ने छैन, तर केन्द्रले फुटपाथ बनाउन भन्दै १० लाख रुपैयाँ छुट्ट्याएको छ,’ उनले भने, ‘अब त्यो बजेट कहाँ खर्च गर्ने ? अन्योल छ ।’ 

कामनपा– ७ का वडाध्यक्ष शुद्ध डंगोल वडामा सीमित बजेट विनियोजन हुँदा विकास निर्माण गर्न असहज भएको बताउँछन् । ‘जनताको चाहना र आकांक्षा धेरै छन्, हामी सीमित स्रोत–साधनबाट चल्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘वडालाई शक्तिशाली नबनाउँदासम्म जनताको आकांक्षा पूरा गर्न सकिँदैन ।’

महानगरपालिकाका राजस्व महाशाखाका प्रमुख ध्रुव काफ्ले वडाको जनसंख्या, राजस्व र क्षेत्रफलका हिसाबले बजेट विनियोजन गरिएको बताउँछन् । ‘जनप्रतिनिधिको प्रत्यक्ष सहभागितामा बजेट बनेको हो,’ उनले भने, ‘चार–पाँच दिन व्यापक छलफल गरेर पारित भएकाले बजेटमा विभेद भएजस्तो लाग्दैन ।’

उनका अनुसार सबै पूर्वाधार निर्माण वडाले गर्न नसक्ने हुँदा ठूला पूर्वाधारको निर्माण र मर्मतसम्भारको जिम्मा महानगरपालिकाले लिने गरेको छ ।  

वडा वर्गीकरण
ठूला वडा

१, ३, ४, ६, ७, ९, १०, ११, १३, १४, १५, १६, २६, ३१, ३२
मझौला वडा
२, ५, ८, १७, २२, २४, २५, २८, २९, ३०
साना वडा
१२, १८, १९ ,२०, २१, २३, २७

प्रकाशित: ९ भाद्र २०७४ ०७:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App