१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बाढीपीडितलाई जापानबाट दुई करोडको राहत सामग्री

काठमाडौं- जापान सरकारले बाढी, पहिरोपीडितका लागि दुई करोड ३४ लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको छ। नेपालका लागि जापानी राजदूत मासासी ओगावाले बुधबार उक्त सामग्री गृहमन्त्री जनार्दन शर्मालाई हस्तान्तरण गरेका छन्।

जापान सरकारद्वारा उपलब्ध गराइएको राहत सामग्रीमा तीन हजार थान ब्लांकेट, एक सय रोल प्लास्टिक सिट, दुई हजार थान स्लिपिङ प्याड, एक सयवटा टेन्ट र तीन हजार दुई सय लिटरका १० थान पानीट्यांकी छन्।    

जाइका नेपालले बुधबार विज्ञप्ति जारी गरी जापान सरकारले पठाएको उक्त सहयोग सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएलगत्तै नेपाल सरकारलाई हस्तान्तरण गरिएको जानकारी दिएको छ। सहयोग हस्तान्तरणकै क्रममा जाइका नेपालका प्रमुख जुन साकुमा र गृह मन्त्रालयका सहसचिव केदार न्यौपानेबीच राहत सामग्रीको लागि …लेटर अफ डेलिभरी एन्ड एसेप्टेन्स'मा हस्ताक्षर भएको विज्ञप्तिमा उल्लेख छ।

सो अवसरमा जापानी राजदूत ओगावाले नेपालको तराई भेगमा हालैको बाढीबाट पुगेको धनजनको क्षतिप्रति दुःख व्यक्त गरे। यस विपत्को घडीमा नेपाललाई सहयोग गर्दा नेपाल र जापानबीचको सुमधुर सम्बन्धको आभाष मिलेको उनले बताए। राजदूत ओगावाले जापानमा सन् २०११ र २०१६ मा गएको महाभूकम्प र विपत्तिको बेला नेपालले गरेको सहयोगप्रति जापान सरकार र जापानी नागरिकको तर्फबाट आभारसमेत व्यक्त गरे।  

राहत सामग्री तत्काल पीडितको हातमा पुग्नेमा जापान सरकार विश्वस्त रहेको उनले बताए। जापानबाट थप राहत सामग्री आउने क्रममा रहेको पनि राजदूत ओगावाले जानकारी दिए।

प्रकाशित: ८ भाद्र २०७४ ०४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App