१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

देउवा-मोदी 'वार्मअप' बैठक, आज उच्चस्तरीय भेटवार्ता

काठमाडौं- भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आकस्मिक 'वार्मअप' बैठक गरेका छन्। औपचारिक कार्यक्रममा बुधबार भेटवार्ता गर्ने तालिका रहे पनि भारतीय प्रधानमन्त्री मोदीको आग्रहमा दुवै प्रधानमन्त्रीबीच वार्ता भएको अधिकारीहरुले बताएका छन्। भारतीय प्रधानमन्त्रीको निवास सेभेन रेस कोर्समा दुवैबीच अनौपचारिक भेटवार्ता भएको हो।

भारतीय प्रधानमन्त्री मोदीले नेपाली प्रधानमन्त्री देउवासँगको भेटको फोटो राखेर टि्वट गरेका छन्। 'नजिक र मित्र छिमेकी नेपालका सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई स्वागत गर्दा खुसी छु। भोलि हुने बृहत् छलफलको प्रतीक्षारत छु,' मोदीले भनेका छन्।

भारतको पाँचदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले बिहीबार महŒवपूर्ण राजनीतिक भेटवार्ता गर्नेछन्। भारतीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र केही मन्त्रीसँग उनले बिहीबार भेटघाट गर्ने कार्यक्रम छ। बिहीबार नै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–भारत द्विपक्षीय वार्ता हुनेछ।

भ्रमण तालिकाअनुसार बिहीबार बिहान राष्ट्रपति भवनमा ब्रेकफास्ट गरेपछि प्रधानमन्त्री देउवा राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल जानेछन्। त्यहाँ पुष्पगुच्छा अर्पण र पाहुना पुस्तिकामा हस्ताक्षर गरेपछि उनी राष्ट्रपति भवनमा नै फर्किनेछन्। स्थानीय समयअनुसार बिहान साढे १० बजे भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री देउवालाई राष्ट्रपति भवनमा भेट गर्नेछिन्।

स्वराजले भेटेर फर्केपछि प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेट्न हैदरावाद हाउस पुग्नेछन्। साढे ११ बजेदेखि १२ बजेसम्म उनी र भारतीय प्रधानमन्त्री मोदीबीच 'वान एन वान' भेटवार्ता हुनेछ। यो भेटवार्तामा देउवा र मोदीबाहेक अरु कोही हुनेछैनन्। १२ बजेदेखि साढे १ बजेसम्म हैदरावाद हाउसमै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–भारत द्विपक्षीय वार्ता हुनेछ।

द्विपक्षीय वार्ता सकिएपछि दिउसो १ बजे नेपाल र भारतबीच चारवटा सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर हुनेछ। भूकम्पपछिको पुनर्निर्माण, लागूऔषध नियन्त्रण, निर्यात गर्ने सामग्रीको गुणस्तर जाँच र मेची पुल स्तरोेन्नतिसम्बन्धी सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर हुनेछ।

भारतले यसअघि नै पुनर्निर्माणका लागि २५ करोड अमेरिकी डलर आर्थिक सहायता र ७५ करोड डलर सहुलियतपूर्ण ऋण दिने घोषणा गरेको थियो। यसैअनुरुप आर्थिक सहायताअन्तर्गत प्राप्त हुने २५ करोड डलरसम्बन्धी सम्झौता भारतसँग गरिनेछ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार घर निर्माणका लागि १० करोड डलर, सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि ५ करोड डलर, विद्यालय पुनर्निर्माणका लागि ५ करोड डलर र स्वास्थ्य क्षेत्र पुनर्निर्माणका लागि ५ करोड डलर प्राप्त हुनेगरी सम्झौता गरिनेछ।

द्विपक्षीय वार्ता सकिएपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा कटैया–कुशाह र रक्सौल–परवानीपुर ५० मेगावाट विद्युत् क्षमताको क्रस–बोर्डर प्रसारण लाइन उद्घाटन गर्ने काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ। दुई देशका प्रधानमन्त्रीले हैदरावाद हाउसबाट रिमोटमार्फत उक्त प्रसारण लाइन उद्घाटन गर्ने भारतीय दूतावासद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।

विद्युत् प्रसारण लाइन उद्घाटन र केही सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर भएपछि दुवै देशले संयुक्त विज्ञप्ति जारी गर्ने कार्यक्रम छ। भ्रमणका उपलब्धिलाई विज्ञप्तिमा समेटिनेछ। त्यसपछि प्रधानमन्त्री देउवा भारतीय समकक्षीले उनको सम्मानमा हैदरावाद हाउसमा आयोजना गर्ने दिवा भोजमा सहभागी हुनेछन्। त्यसपछि उनी राष्ट्रपति भवन फर्किनेछन्।

दिउसो तीन बजे भारतीय गृहमन्त्री राजनाथ सिंहले प्रधानमन्त्री देउवासँग भेट गर्ने कार्यक्रम छ। भेटघाट राष्ट्रपति भवनमै हुनेछ। गृहमन्त्री सिंह निस्केपछि भारतीय अर्थमन्त्री अरुण जेट्ली प्रधानमन्त्री देउवालाई भेट्न राष्ट्रपति भवन पुग्नेछन्। त्यसपछि प्रधानमन्त्री देउवाले हैदरावाद हाउस पुगी भारतीय उपराष्ट्रपति बिनाकैया नाइडुसँग शिष्टाचार भेट गर्नेछन्।

उपराष्ट्रपतिलाई भेटेर फर्केपछि प्रधानमन्त्री देउवा राष्ट्रपति भवन पुगी साँझ ५ बजे भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग शिष्टाचार भेट गर्नेछन्। राजनीतिक भेटवार्ताको अन्त्यमा बिहीबार साँझ ६ बजे भारतीय नेसनल कंग्रेसकी अध्यक्ष सोनिया गान्धीसँग उनको भेट हुनेछ। गान्धी प्रधानमन्त्री देउवालाई भेट्न साँझ ६ बजे राष्ट्रपति निवास पुग्नेछिन्।

राजनीतिक भेटवार्ता सकिएपछि बिहीबार साँझ नै प्रधानमन्त्री देउवा इन्डिया फाउन्डेसनले आयोजना गर्ने अन्तरक्रिया कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। त्यसपछि उनी भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले होटल ताजमहलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन्।

प्रधानमन्त्री देउवा पाँचदिने भारत भ्रमणको सिलसिलामा ५९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार नयाँदिल्ली पुगेका हुन्। नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतीय विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन्। बुधबार नै उनले नयाँदिल्लीस्थित नेपाली दूतावासमा नेपाली समुदायसँग अन्तर्त्रि्कया गरेका थिए। त्यसपछि उनी उद्योग वाणिज्य महासंघ भारतले आयोजना गरेको अन्तर्त्रि्कया कार्यक्रममा सहभागी भएका थिए। त्यहाँ उनले भारतीय उद्योगी तथा व्यापारीलाई नेपालमा लगानी गर्न आग्रह गरेका थिए।

प्रकाशित: ८ भाद्र २०७४ ०२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App