१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

देउवा नेतृत्वको सरकार ५० सदस्यीय

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । आइतबार मात्र प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रका आठजनालाई राज्यमन्त्री नियुक्त गरेका प्रधानमन्त्री देउवाले मंगलबार थप १५ जनालाई सरकारमा सहभागी गराएका हुन्। 

प्रधानमन्त्री देउवाले सत्ता साझेदार फोरम लोकतान्त्रिकका तीनसहित आफ्नै दल नेपाली कांग्रेसका १२ जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । यो विस्तारसँगै देउवा नेतृत्वको सरकार ५० सदस्यीय पुगेको छ । कांग्रेस र फोरम लोकतान्त्रिकले सम्हालेका मन्त्रालयमा नियुक्त राज्यमन्त्रीलाई मंगलबार नै प्रधानमन्त्रीले सिंहदबारमा पद तथा गोपनीयताको शपथ गराए ।

आइतबार प्रमुख सत्ता साझेदार माओवादी केन्द्रका आठजनालाई राज्यमन्त्री बनाएर सरकारमा सहभागी गराएका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार फोरम लोकतान्त्रिकका तीन र आफ्नै दल कांग्रेसका १२ जनालाई राज्यमन्त्री बनाए।

सरकारमा थपिएका कांग्रेसका १२ राज्यमन्त्रीमा सीता गुरुङ, सरिता प्रसाई, शेषनाथ अधिकारी, नरबहादुर चन्द, अब्दुल रज्जाकगद्दी, तप्तबहादुर बिष्ट, अमरसिंह पुन, दिलमान पाख्रिन, उदयशमशेर राणा, डिल्लीबहादुर चौधरी, तेजुलाल चौधरी, चम्पादेवी खड्का छन् । गुरुङ भौतिक पूर्वाधार तथा यातायात, प्रसाई कृषि विकास, अधिकारी शिक्षा, चन्द वाणिज्य, रज्जाकगद्दी खानेपानी तथा सरसफाइ राज्यमन्त्री भएका छन् । त्यस्तै, बिष्ट सूचना तथा सञ्चार, पुन सिँचाइ, पाख्रिन कानुन, न्याय, तथा संसदीय मामिला, राणा अर्थ, डिल्लीबहादुर चौधरी श्रम तथा रोजगार, तेजुलाल युवा तथा खेलकुद र खड्काले सहकारी तथा गरिबी निवारण राज्यममन्त्रीको जिम्मेवारी पाएका छन् । 

त्यस्तै, फोरम लोकतान्त्रिकका जनकराज चौधरी संघीय मामिला तथा स्थानीय विकास, सुमित्रा थरुनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र यशोदाकुमारी लामा भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री भएका छन् । 

प्रधानमन्त्री देउवाले आइतबार मात्रै माओवादीका मोहम्मद जाकिर हुसेनलाई महिला, बालबालिका, रामसिंह यादवलाई स्वास्थ्य, श्यामकुमार श्रेष्ठलाई गृह, शम्भुलाल श्रेष्ठलाई ऊर्जा, कर्णबहादुर विकलाई आपूर्ति, छमबहादुर गुरुङलाई सहरी विकास, गोमा कुँवरलाई पशुपन्छी विकास र वाङदी शेर्पालाई सामान्य प्रशासन राज्यमन्त्री नियुक्त गरेका थिए ।  

राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दललाई सरकारमा सहभागी गराउने भन्दै प्रधानमन्त्रीले अझै चार मन्त्रालय राखेका छन् । देउवा जेठ २४ गते प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।   

प्रकाशित: ७ भाद्र २०७४ ०३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App