१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अस्पतालको फोहोरबाट बायोग्यास

चितवन– सरकारी अस्पतालमा फोहर व्यवस्थापन सबैभन्दा ठूलो चुनौती मानिन्छ । असरल्ल हुने फोहरबाट आउने दुर्गन्धले बिरामीसमेत हैरान भएका हुन्छन् । तर चितवनको जेठो सरकारी अस्पताल भरतपुर अस्पतालले ‘बायोग्यास प्लान्ट’ राखेर फोहर तह लगाउने उपाय निकालेको छ । यसबाट फोहर र दुर्गन्धको समस्या निराकरण हुनुका साथै अस्पताललाई सस्तो ऊर्जा पनि प्राप्त भएको छ ।    

अस्पतालबाट निस्कने सड्ने (जैविक) फोहर संकलन गरेर बायोग्यास प्लान्टमा हाल्ने गरिएको छ । त्यसरी निस्कने ग्यास अस्पतालको शल्यक्रिया कक्षमा औजार उपकरण निर्मलीकरणमा प्रयोग हुने पानी तताउन प्रयोग हुने गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ । अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ड डा. रुद्र मरासिनी बायोग्यास प्लान्टको क्षमता २५ घनमिटर रहेको बताउँछन् ।

भरतपुर अस्पताल सुत्केरी धेरै हुने अस्पतालमध्येमा पर्छ । महिलालाई सुत्केरी गराउँदा निकस्ने अनावश्यक वस्तु र अन्य ठाउँबाट निस्कने सड्ने फोहर अस्पतालमा जडान भएको बायोग्यास प्लान्टमा राख्ने गरिएको छ । भरतपुर अस्पतालमा दैनिक औसत ४५ महिलाले सुत्केरी सेवा लिँदै आएका छन् ।
बायोग्यास प्लान्टमा सुत्केरी हुँदा निस्केका सालनाल, फ्याँक्नुपर्ने मानव अंग, मासुका टुक्रा, अन्य सड्ने फोहर सबै राख्ने गरिएको छ । राष्ट्रिय गोवरग्यास निर्माण तथा सेवा प्रालिले चार लाख ९० हजार ९ सय ९० रुपैयाँको लागतमा अस्पतालमा बायोग्यास प्लान्ट निर्माण गरेको हो ।
सो प्लान्टका लागि दुई लाख ८७ हजार ५ सय अनुदान प्राप्त भएको मेडिकल सुपेरिटेन्डेन्ट मरासिनीले बताए ।  प्लान्टबाट निस्किएको बायोग्यास शल्यक्रिया कक्षमा प्रयोग हुने भएपछि एलपी ग्यासका लागि हुने खर्च जोगिएको छ ।
शल्यक्रिया कक्षमा पानी उमाल्न तथा अन्य उपकरण निर्मलीकरण गर्नका अस्पतालले महिनामा १५ हजार रुपैयाँ बराबरको एलपी ग्यास किन्ने गरेको मरासिनीले बताए । फोहरले मोहर अर्थात पैसा जोगाएको उनले बताए ।
‘बायोग्यासबाट एकातिर अस्पतालको मासिक लगभग १५ हजार रुपैयाँ जोगिने छ भने अर्कोतिर सड्ने फोहरको दीर्घकालीन व्यवस्थापनसमेत हुने भएको छ । फोहरबाट अस्पतालमा फैलने दुर्गन्धमात्रै रोकिएन यसबाट खर्च कम भएर मोहर पनि कमाउन सकियो,’ मेडिकल सुपेरिटेन्डेन्ट मरासिनीले भने ।
बायोग्यास प्लान्टका लागि प्रतिदिन डेढ क्विन्टल फोहर आवश्यक पर्ने बायोग्यास निर्माण समितिका संयोजक ईश्वरी खनालले बताए । अस्पतालमा दिनमा योभन्दा धेरै कुहिने फोहर जम्मा हुने गरेको छ । त्यसैले प्लान्टलाई आवश्यक पर्ने फोहर सहजै उपलब्ध हुने उनको भनाइ छ । बायोग्यास वातावरणमैत्री पनि मान्छि ।

 

प्रकाशित: ११ श्रावण २०७३ ०७:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App