१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

नागरिक एजुकेशन करिअर मेलामा विद्यार्थीको घुँइचो (फोटो फिचर)

काठमाडौं– कक्षा १२को परीक्षा दिएर बसेका विद्यार्थीहरुको कुन विषय र कहाँ पढ्ने  अन्योलता दूर गर्न नेपाल रिपब्लिक मिडियाले  ‘हेराल्ड कलेज नागरिक एजुकेशन करिअर फेर २०१७’ शुक्रबारदेखि सुरु गरेको छ । 

काठमाडौंको अन्पूर्र्ण होटेलमा आयोजना गरिएको शैक्षिक मेलाको उपप्रधान एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले उद्घाटन गरी औपचारिकता प्रदान गरे । मेलामा शुक्रबार मात्र एक हजारले अवलोकन गरेका छन् । मेला शनिवारसम्म चल्ने छ। 

स्नातक तह विद्यार्थीको करिअर बनाउने आधार भएकोले विद्यार्थीहरू आ–आफ्नो रुचि अनुसारको विषयबारे मेलामा उपस्थित कलेजहरूको स्टलहरुबाट जानकारी प्राप्त गरिरहेका थिए ।  बजारको माग अनुसारको बिक्न सक्ने विषय अध्ययन गर्न तर्फ उन्मुख भएका विद्यार्थी तथा अभिभावकहरुलाई स्वदेशी तथा विदेशी दुबै खाले डिग्रीबारे उपस्थित शैक्षिक निकायहरुले परामर्श दिरहेका थिए। 

अवसर र भविष्य सुरक्षित हुने अनुसारको विषय छनौट गरी विश्वविद्यालय शिक्षा हासिल गर्ने लक्ष्यसहित मेला अवलोकन गर्न आएको एरिन शाक्यले बताइन् । कक्षा १२मा विज्ञान विषय अध्ययन गरे पनि स्नातकमा भने उनी आइटी अध्ययन गर्ने योजना तय गरेको सुनाइन्। 

विगतमा कक्षा १२ मा विज्ञान अध्ययन गर्नसाथ स्नातकमा मेडिकल  र इन्जिनियरिङ्गनै अध्ययन गर्नू पर्ने आधारणामा समेत हाल विद्यार्थीहरुमा परिवर्तन आइरहेको  प्रवृति बढ्दै गएको मेलाले सावित गरेको छ।  

नागरिक इडुकेशन एन्ड करिअर शैक्षिक मेला २०१७मा स्वदेशी तथा विदेशी गरी कूल २५ वटा कलेजहरूको सहभागिता रहेको छ  । मेला संयोजक धीरज ढकालले मेला अवलोकनकर्ताहरूलाई निःशुल्क प्रवेशको ब्यवस्था मिलाएको जनाए । ‘मेलामा विद्यार्थीहरुले कलेजका प्रतिनिधिहरुसँगै प्रत्यक्ष भेटेर कलेज,विषय, शुल्क लगायतका विषय बस्तुबारे सही सूचना प्राप्त गरी रहेका छन्’, संयोजक ढकालले भने ‘साथै मेलामा विद्यार्थीहरुलाई ग्रोथसेलर संस्थाका प्रतिनिधिले करिअरबारे सही गाइडलाइन दिने व्यवस्थाले विद्यार्थीहरू बढी उत्साहित बनेका छन् ।’ उनले थपे ‘विभिन्न विज्ञहरूबाट सेमिनार र करिअरबारे कक्षाहरूसमेत संचालन हुन्छ ।’ मेलामा एआइआइटी कलेजले  आयोजना गरेको क्वीज कन्टेस्टले थप रोमान्चित बनाएको छ। 

नेपाल मेघा कलेजका कार्यक्रम निर्देशक मधुकर पाण्डेका अनुसार मेलामा एउटै छातामूनि विद्यार्थीहरुलाई धेरै शैक्षिक कार्यक्रमबारे जानकारी गराइने भएकोले मेला विद्यार्थीकोलागि उपलब्धी मुलक हुन्छ । ‘विद्यार्थीहरूले धेरै कलेज चहार्नु नपर्ने र समयकोपनि बचत हुन्छ,’ पाण्डेले भने ‘नेपालमै स्नातक तहको पठनपाठन स्तरीय भएकोले अब विद्यार्थीहरू बाहिर जानु पर्दैन।’

शैक्षिक मेलाका कोस्पन्सर हब इन्टरनेसनल इजुकेशनका स्टलबाट विदेशी शिक्षाबारे विद्यार्थीहरुलाई जानकारी पाउँदा उनीहरू मेलालाई उपलब्धी मुलक मानेका छन् ।  ‘विदेशमै गएर उच्चशिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई मेलामा विदेशी कलेज, शुल्क, छात्रावृति लगायतका शैक्षिक परामर्श दिइने व्यवस्था हामीले गरेका छौं,’ हब इन्टरनेशनलका बजार व्यवस्थापक विश्वम्बर खतिवडाले भने ‘ स्वदेशी र विदेशी दुबै डिग्रीको विद्यार्थीसँग रोजाई हुन्छ । कुन छान्ने उनीहरूको अधिकार हो।’

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App