१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पूर्वाञ्चल फाइनलमा

काठमाडौं- नेपाल एपिएफ क्लब र पूर्वाञ्चलले राष्ट्रिय महिला छनोट क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार वर्षाले खेल हुन नसकेपछि पूर्वाञ्चल र सुदूरपश्चिमले १–१ अंक बाँडेका थिए।

त्यसको फाइदा पूर्वाञ्चललाई भयो। समूह 'बी' को पूर्वाञ्चल र सुदूरुपश्चिमले समान १ खेल जित्दै २ अंक जोडेका थिए। दुवैलाई सोमबारको खेल फाइनल पुग्नका लागि महत्वपूर्ण थियो। जित हासिल गर्ने टोली फाइनल पुग्ने थियो। तर बराबरी अंक बाँड्दा नेटरनरेटका आधारमा राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्रीको टोली पूर्वाञ्चल फाइनल पुगेको हो। यसैगरी समूह 'बी' मा पश्चिमाञ्चलमात्र अंकविहीन टोली बन्यो। पश्चिमाञ्चलले खेलेका दुवै खेल हारेको थियो।

सोमबार टस जितेपछि कप्तान रुबिनाले फिल्डिङ गर्ने निर्णय गरिन्। ओसिलो पिचको फाइदा उठाउँदै पूर्वाञ्चलका बलर विपक्षी ब्याट्सवुमनमाथि हाबी भएका थिए। सुरुआतमा ब्याटिङ गरेको सुदूरपश्चिमले ८ ओभरमा खेलिरहँदावर्षाले खेल रोकियो। ७.२ ओभरमा सुदूरपश्चिमले ७ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो। कविता कुँवरर विकेटकिपर करुणा जोडीक्रिजमा हुँदा अम्पायर राजेश ठाकुर र सतीश सिंहले खेल रोक्ने निर्णय गरेका थिए।

खेल रोकिनुअघि सुदूरपश्चिमकी रोशनी बोहराले २, ओपनर माया रावतले १ र कविता कँुवरले १ रनबाहेक अन्यले रन जोड्न सकेनन्। मायाले १८ बल खेल्दै क्रिजमा टिक्ने प्रयास गरेपनि गतिलो रन बनाउन सकिनन्। सुदूरपश्चिमका चार ब्याट्सवुमन खाता खोल्न नसकेर आउट भए।

पूर्वाञ्चलकी कविता गौतम र सन्तोषी चौधरीले उत्कृष्ट बलिङ गर्दै सुदूरपश्चिमलाई दबाबमा राखेका थिए।

सुरुआतमै आक्रामकबलिङ गरेकी कविताले २ ओभरमा ३ विकेट लिइन्। उनले १ मेडन ओभर फालेकी थिइन्। त्यस्तै सन्तोषीले ३.२ ओभरमा २ विकेट लिइन्। उनले पनि २ मेडन ओभर बलिङ गरिन्।

यसैगरी प्रतिष्ठाका लागि खेलिएको खेलमा मध्यपश्चिमले मध्यमाञ्चललाई ५ विकेटले हरायो। समूह 'ए' बाट एपिएफ यसअघि नै लगातार दुई खेल जित्दै फाइनलपुगिसकेको छ। प्राविधिक कारणले मध्यपश्चिम र मध्यमाञ्चलबीचको खेल आयोजक राष्ट्रिय खेलकुद परिषद(राखेप)ले १० ओभरमा खेलाएको थियो।

टस जितेर सोमबार सुरुआती ब्याटिङ गरेको मध्यमाञ्चलले १० ओभरमा ४ विकेट गुमाई ५७ रन बनाएको थियो। मध्यमाञ्चलकी रचना अर्यालले अविजित २२ रन बनाइन्। सीता श्रेष्ठले १२ रनबाहेक मध्यमाञ्चलका अन्य कुनै पनि खेलाडीले दोहोरो स्कोर बनाउन सकेनन्। मध्यपश्चिमकी नेरी थापाले २ विकेट लिइन्। नेरीले १ ओभरमा १० रन खर्चेकी थिइन्। गीता गोसाइँले १ विकेट हात पारिन्।

जवाफमा लक्ष्मी चौधरीले अविजित ३९ रन जोडेपछि मध्यपश्चिमले १० ओभरमा ५ विकेट गुमाएर जित हासिल गर्‍यो। प्लेयर अफ दी म्याच लक्ष्मीले ३३ बलमा ४ चौका प्रहार गरिन्। कप्तान नेरीले १० रन बनाइन्। नेरीले १२ बल खेल्दा १ चौका प्रहार गरिन्। नेरीलाई मध्यमाञ्चलकी शोभा आलेले गीता चूडालबाट क्याचआउट गराइन्। मध्यपश्चिमकी ओपनर गीता गोसाइँ ६ रनमा आउट भइन्।

मध्यमाञ्चलकी अस्मिना कमाचार्य, सीता श्रेष्ठ, शोभा आले र गीताले समान १ विकेट लिए।

जारी छनोट प्रतियोगिता राखेपले आइसिसी महिला विश्वकप छनोट खेल्नेका लागि नेपाली टोली तयारी पार्ने उद्देश्यले आयोजना गरेको हो। छनोटमा पाँच विकास क्षेत्रर एपिएफ क्लबले भाग लिएका छन्।

छनोट प्रतियोगिताबाट हङकङमा हुने महिला विश्वकप छनोटका लागि २४ खेलाडी छनोट गरेर बन्द प्रशिक्षण राख्ने जनाइएको छ।

प्रकाशित: ११ श्रावण २०७३ ०५:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App