१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भोको पेट रातभरि अनिँदो

रौतहट- रौतहटका बाढीपीडित भोकभोकै रातभरि अनिँदो बस्न बाध्य भएका छन्। घरबाट विस्थापित भएर शरणार्थी बनेका पीडितको समस्या बढ्दै गएको छ। जिल्लामा बाढीबाट प्रभावितको संख्या चार लाख रहेको भए पनि सरकारले २१ हजारमात्र त्रिपाल पठाएको छ। प्राप्त त्रिपाल प्रभावित क्षेत्रमा पठाउने काम भइरहेको रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताए। तर जिल्लाको सडक सञ्जाल ध्वस्त भएकाले राहतको सामग्री पठाउन समस्या भइरहेको देखिएको छ।

बुधबारसम्म रौतहटमा १५ हेलिकोप्टर राहत सामग्री आएको छ तर त्यो अपुग छ। आएको राहत पनि सुगम ठाउँतिर मात्र गएको पीडितको गुनासो छ।

जिल्लामा आवश्यकताका तुलनामा निकै थोरैमात्र राहत आएको सम्बन्धित निकायले बताएको छ। बुधबारसम्म रौतहटमा १५ हेलिकोप्टर राहत सामग्री आएको छ तर त्यो अपुग छ। सुगम ठाउँतिर मात्र राहत गएको पीडितको गुनासो छ। गढीमाई गाउँपालिकाअन्तर्गतको लक्ष्मीपुर मुसहर टोलका पीडितले सय घरमा बागमतीको बाढीले क्षति पुर्‍याएको भए पनि कतैबाट कुनै राहत नआएको गुनासो गरेका छन्। गरिब र दलित बस्तीका मुसहरले आफ्नो पीडा कसैले नसुनेको गुनासो गरेका छन्।

प्रभावित क्षेत्रमा महामारी फैलिने खतरा पनि बढेको स्थानीयको भनाइ छ। जिल्लाका औरैया, बन्जरहा, डुमरिया, लौटना, राजपुर, फरहदवा, महेशपुरलगायतका दर्जनौं गाउँको वरिपरि अझै बाढीको पानी जमेको छ। बाढीको पानी जमेर गनाउन थालेको बन्जरहाका कृष्णनन्दन सिंहले बताए। गोठ पनि भत्केका कारण विस्थापित पशुसँगै सुत्न बाध्य छन्। घर नै पूरै भत्केकाहरु शरणार्थीका रुपमा पुल, सडक, विद्यालय, धर्मशालालगायतका ठाउँमा बस्दै आएका छन्। तर लामखुटे, सर्प, स्याल, फ्याउरोलगायतका कारण रातभरि निदाउन नसकेको गौर नगरपालिकाकी शान्ति झाले बताइन्। प्रभावित क्षेत्रमा फाटफुट चोरीको समस्या पनि देखिएको पीडितको गुनासो छ।

स्वास्थ्य सञ्जाल तहसनहस

बाढीले जिल्लाको सरकारी स्वास्थ्य सञ्जाल तहसनहस बनाएको छ। जिल्लाका अधिकांश स्वास्थ्यचौकी तथा उपचौकी डुबानमा परेर उपचारका लागि प्रयोग गरिने सामग्री र औषधि सखाप भएका छन्। सदरमुकाम गौरमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटमा रहेका मेसिन डुबानमा परेपछि कामै नलाग्ने अवस्थामा पुगेको जनस्वास्थ्य प्रमुख डा. नवलकिशोर झाले बताए। करिब जिल्लाभरिको सरकारी स्वास्थ्य संस्थाको औषधि र उपकरण बाढीले बिग्रेको र कामै नलाग्ने बनेको डा. झाको भनाइ छ। उपकरण र औषधि गरी जिल्लामा स्वास्थ्य क्षेत्रमा करोडौंको क्षति भएको अनुमान छ। स्वास्थ्य क्षेत्रमा भएको क्षतिको तथ्य संकलनको काम भइरहेको डा. झाको भनाइ छ।

यसैबीच जिल्लाको स्वास्थ्यस्थिति गम्भीर हुने देखेर स्वास्थ्य विभागले वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर घिमिरेको नेतृत्वमा औषधिसहितको टोली पठाएको छ। टोलीमा जनस्वास्थ्य निरीक्षक हरिनारायण साह पनि छन्। जिल्लाको जनस्वास्थ्य अवस्थाप्रति स्वास्थ्य मन्त्रालय संवेदनशील रहेको झाले बताए। अहिलेसम्म जिल्लाको स्वास्थ्यस्थिति सामान्य छ। झाले रहे पनि उमालेर पानी पिउन, जथाभावी खाना नखान, शौचालयमा दिसा–पिसाब गर्न, सरसफाइमा विशेष ध्यान दिन सबैलाई आग्रह गरे। शरणार्थी जीवन बिताइरहेका बाढीपीडितमा भने राहत सामग्री नै अपुग रहेको अवस्थामा जे पायो त्यही खाने स्थिति हुँदा स्वास्थ्य जोखिममा रहेको देखिएको छ।

अभावै अभाव, मूल्य अकासियो

बाढीले विभिन्न गाउँको सडक सञ्जाल ध्वस्त भएपछि उपभोग्य सामानको अभाव देखिएको छ। पेट्रोलियम पदार्थको अभावले कालोबजारी बढ्ने खतरा छ। बाढीले कृषि बालीमा अपूरणीय क्षति पुर्‍याएपछि खाद्यान्न तथा तरकारीको मूल्य बढेको छ। आलुको अभाव देखिएको छ भने हरियो तरकारीको मूल्य अकासिएको छ। बाढीले अत्यधिक प्रभावित देवाहीका विनोद पटेलले खाद्यान्न तथा तरकारीको मूल्य अकासिएर छुनै नसक्ने भएको बताए। पहिले पचास रुपैयाँ किलोमा पाइने काउली एक सय पचास, बन्दा कोभी सत्तरी, मूला असी, भन्टा सय, आलु पचास, घिरौंला पचास रुपैयाँ किलोको पुगेको उनले बताए।

प्रकाशित: १ भाद्र २०७४ ०२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App