१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रधानमन्त्रीको हवाई दौडाहा, पूर्वमा ४० को मृत्यु

पूर्वेली ब्युरो

विराटनगर- बाढीले बगाएर बेपत्ता परेकाको शव फेला पर्न थालेका छन्। मोरङ, सुनसरी, झापा, सप्तरी, इलाम र पाँचथरमा बाढीपहिरोले ४० जनाको ज्यान गएको छ। बाढीपहिरोले मोरङमा १८, झापामा १०, सुनसरीमा ११, पाँचथरमा २ र इलाममा १ जनाको मृत्यु भइसकेको पूर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ। अविरल वर्षा रोकिएसँगै पानीको सतह घटेपछि बेपत्ता भएकाहरूको शव फेला पर्न थालेको मोरङ प्रहरीले जनाएको छ। सोमबार मोरङका विभिन्न खोला र भारतीय सीमा क्षेत्र जोगबनीमा गरी १२ जनाको शव भेटिएको एसपी अरुणकुमार बिसीले जानकारी दिए। उनका अनुसार मोरङमा मृत्यु भएका १८ मध्ये १४ जनाको पहिचान खुलेको छ। पछिल्लो तथ्यांकअनुसार बाढीबाट सबैभन्दा बढी मानवीय क्षति भएको मोरङ नै हो। आइतबारसम्म ६ जनाको मृत्यु भएको प्रहरीले बताएको थियो। तर, १२ जनाको शव फेला परेको छ।

बाढीपहिरोमा परेर पाँचथरमा २, झापामा १३, मोरङमा ४, सुनसरीमा ७ र सप्तरीमा १ जना अझै बेपत्ता छन्। बाढीपहिरोले पूर्वका यी जिल्लामा एक सय ५१ वटा घर बगेको छ। २ सय ९४ चौपाया मरेका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

बाढीपहिरोले साउन २७ देखि ३० गते सम्ममा १८ जनाको मृत्यु भइसकेको मोरङ प्रहरीले जनाएको छ। पहिरोले घर पुर्दा लेटाङ नगरपालिका–१ की ३७ वर्षीय गोपीमाया तामाङ, नुनसरी खोलाले बगाएर मिक्लाजुङ–२ की ३२ वर्षीय गंगाराम खतिवडा, खोलाले बगाएर केराबारी–९ का मीनबहादुर थापाको मृत्यु भएको छ। यस्तै, घरनजिकैको नालामा डुबेर बूढीगंगा–६ की ७५ वर्षीय बुद्धिमाया लिम्बु, केसलिया खोलाले बगाएर इटहरी–४ की २२ वर्षीय सानुमाया राई, विराटनगर–१८ का ६५ वर्षीय किसन महतो, घरबाटै बाढीले बगाएर विराटनगर–१९ का अरुलिया ऋषिदेवको मृत्यु भएको छ।

भेलले  बगाएर मोरङ बूढीगंगा–१ का २५ वर्षीय उमेश नेपाल, सिंगियाको बाढीले बगाएर बूढीगंगा–५ का २० वर्षीय धीरज माझीको मृत्यु भएको छ।

सीमावर्ती भारतीय बजार जोगबनीस्थित रेल्वे स्टेसनमा सोमबार ७ जनाको शव फेला परेको छ। तीमध्ये तीनजनाको सनाखत भइसकेको छ। जसमा विराटनगर–१३ का २१ वर्षीय रोशन लुइँटेल, विराटनगर–१२ का २० वर्षीय  निश्चल घिमिरे, विराटनगर–१३ का २८ वर्षीय मनोज पासवान छन्। एक पुरुष र तीन महिलाको पहिचान हुन बा“की छ।

मोरङकै लोहन्द्रा र बूढीखोलाले बगाएर ल्याएको विराटनगर–११ र जहदा–६ मा फेला परेका दुई महिलाको शवको पनि पहिचान खुल्न बा“की छ। मोरङको सुन्दरहरैंचास्थित लक्ष्मीनारायण मन्दिर परिसरको वृद्धाश्रमबाट भेलले बगाएर बेपत्ता भएका तीनजना महिला अझै फेला परेका छैनन्। बेपत्ता भएकामा ६२ वर्षीया सावित्रा थापामगर, ६१ वर्षीय लीला दाहाल र ८० वर्षीया गोविन्दा कार्की छन्।

यस्तै स्थानीय सिंगिया खोलाले बगाएर बेपत्ता भएका ग्रामथान–६ का २३ वर्षीय सागर खवास बेपत्ता छैन।  पहिचान भएका शव भने आफन्तले बुझिसकेको प्रहरीले जनाएको छ। भारतमा भेटिएका शव नेपाल ल्याउने क्रममा रहेको र बेपत्ताको खोजी तीव्र पारिएको एसपी बिसीले जानकारी दिए। यस्तै पहिचान हुन नसकेका शव कोसी अञ्चल अस्पतालमा राखिएका छन्।

मोरङ प्रहरीका अनुसार जिल्लामा ८ हजार ५ सय घर डुबानमा परेका छन। तीमध्ये आधा परिवार विस्थापित भएका छन्। बाढी प्रभावित विराटनगर, रतुवामाई, केराबारी, मधुमल्ला, सुन्दरहरैंचालगायत स्थानमा राहत वितरण थालिएको छ।

बेपत्ता खोज्दै प्रहरी

बाढीका कारण ज्यान गुमाउनेको संख्या झापामा १० पुगेको छ। आइतबार साँझसम्म चार जनाको शव भेटिएको जिल्लामा सोमबार थप ६ जनाको शव फेला परेको छ। थप पाँच जना चार दिनदेखि बेपत्ता छन्।

शुक्रबार रातिदेखि गाउँगाउँमा छिरेको विभिन्न खोलाको बाढीले बगाएर मृत्यु हुनेमा झापा गाउँपालिकाका सबैभन्दा धेरै छन्। झापा–२ की ३५ वर्षीया धनमाया घोर्साने, झापा ७ की कमला दर्लामी, उनकी आठ वर्षीया छोरी खुसी दर्लामी र झापा २ कै ६० वर्षीया मुस्लिम महिलाको ज्यान बाढीमा परेर गइसकेको छ। त्यस्तै शिवसताक्षी–१ का २८ वर्षीय विजय पाण्डे, कचनकवल–३ का २२ वर्षीय पवन राजवंशी र दमक–५ का तपोस मण्डलको मृत्यु भएको छ।

झापा गाउँपालिकाकै कलिप्रसाद राजवंशीको परिवारका तीन जना, सोही गाउँकी मृतक धनमाया घोर्सानेकी छोरी कमला र दमकका दिवस राई अझै बेपत्ता छन्। 'बेपत्ताको खोजी कार्य जारी छ', झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भने, 'मौसममा सुधार आएपछि खोलामा पानीको सतह क्रमशः घट्न थालेको छ।'

आइतबार अपराह्नदेखि घाम लाग्न थालेपछि झापामा बाढीको कहर बिस्तारै साम्य हुँदै गएको छ। यद्यपि खोलामा पानीको सतह जति घट्दै गयो, कटानको समस्या भने थपिँदै गएको छ। 'खोलामा पानीको सतह घट्दै गएपछि डुबाउने र बगाउने चिन्ता कम हुने हुन्छ', रेडक्रस झापाका सभापति लोकराज ढकालले भने 'तर, कटानको समस्या अब झनै बढेर जान्छ। त्यसैले अब भौतिक रूपमा हुने क्षति केही दिन बढ्ने देखिन्छ।'

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार जिल्लामा १ हजार ९ सय ५२ परिवार बाढीबाट प्रभावित बनेका छन्। त्यसमध्ये १ हजार ८ सय ७२ परिवार भने विस्थापित छन्। नजिकै रहेका स्कुल, मन्दिर, पार्टी प्यालेस तथा अन्य सार्वजनिक भवनमा पीडितलाई अस्थायी रूपमा राखिएको छ। रेडक्रस, जिल्लास्थित विभिन्न सरकारी कार्यालय, स्थानीय संघसंस्था र स्थानीय तहको पहलमा पीडितलाई खाना तथा आवासको प्रबन्ध गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले जनाए।

'यस्तै मौसम कायम रहे अबको तीन चार दिनभित्र आधाभन्दा बढी विस्थापित आफ्नै घर फर्किन सक्नेछन्', रेडक्रस झापाले भनेको छ 'तर, धेरैको घरमा अहिले पनि खोलाको पानी कुदिरहेका कारण भन्न सकिने अवस्था छैन।' झापाका ११ परिवारको घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ भने १८ सयभन्दा परिवारको घरमा पनि क्षति पुगेको छ।

प्रधानमन्त्रीको हवाई दौडाहा

भारी वर्षाले डुबानमा परेको पूर्व क्षेत्रको निरिक्षणमा प्रधानमन्त्री शेरवहादुर देउवासहित उनको मन्त्रिपरिषद्का आधा दर्जन मन्त्री सोमबार आएका छन्। विशेष हेलिकोप्टरले अकाशबाटै उनीहरुले पूर्व क्षेत्रको सप्तरी, सुनसरी, मोरङ र झापाको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरिरहेका छन्।

 पूर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी रमेशकुमार भट्टराईले प्रधानमन्त्री देउवा, रक्षामन्त्री भीमसेन दास प्रधान, गृहमन्त्री जनार्दन शर्मा र सुरक्षानिकायका प्रमुखहरु चढेको हेलिकोप्टरले बाढी प्रभावित क्षेत्रको एक फन्को घुमेर इटहरीस्थित नेपाली सेनाको पृतना कार्यालयमा वस्तुस्थितिबारे जानकारी लिएको बताए। ‘बाढी प्रभावित क्षेत्रको अवस्था, उद्धार र राहतमा भइरहेको प्रगतिबारे बिफि्रङ गरेका छौं,’ भट्टराईले भने, ‘उद्धार र राहतमा कुनै कसर बाँकी नराख्न निर्देशन आएको छ।’

 नेपाली सेनाको पूर्वी पृतनामा बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझेपछि प्रधानमन्त्रीसहितको सो उच्चस्तरीय हवाई टोली मोरङ र झापाको बाढी प्रभावित क्षेत्रको आकाशे निरीक्षण गरेर काठमाडौं फर्किनेछ। यस्तै, उपप्रधानमन्त्री विजयकुमार गच्छदारको नेतृत्वमा अर्थमन्त्री ज्ञानेन्द्र कार्की, वाणिज्य मन्त्री मीनकुमार विश्वकर्मासहितको सरकारी टोलीले अर्को हेलिकोप्टरबाट पूर्व क्षेत्रको बाढी प्रभावित इलाकाको हवाई भ्रमण गरेको छ।

प्रधानमन्त्री देउवाले शेरा र बूढीखोलामा दीर्घकालीन तटबन्ध बाँध्न सरकारले विशेष योजना ल्याउने बताएका छन्। उनले शेरा र बूढीखोलामा तटबन्ध बाँधेर इटहरीलाई डुबानबाट बचाउने वचन दिए।

 'इटहरीलाई बचाउन तटबन्ध बाँधिनेछ, बाढीले मृत्यु भएका मृतकका परिवारलाई प्रतिपरिवार दुई लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ,' प्रधानमन्त्री देउवा हेलिकप्टरबाट इटहरीको पूर्वी पृतना मुख्यालय इटहरीमा उत्रिएर पीडित बसेको स्थान कृष्ण प्रणामी मन्दिरमा पुगेर संक्षिप्त सम्बोधन गर्दै भने।

उनले विस्थापित परिवारमध्ये घर नभएकालाई पुनर्स्थापनाका लागि सरकारले दीर्घकालीन कार्यक्रम ल्याउने घोषणा गरे। 'विशेषगरी बाढीबाट गरिब र सीमान्तकृत बासिन्दा पीडित छन्,' उनले भने, 'गरिब र सीमान्तकृत परिवारका लागि सरकारले सहयोग गर्न कुनै कसर बाँकी राख्दैन।'

गर्दै गृहमन्त्री जर्नादन शर्माले पत्रकारसँग कुरा गर्दै बाढीबाट विस्थापित भएर पीडित भएका परिवारलाई एकद्वारबाट राहत वितरण गर्न सरकार गम्भीर भएर लाग्ने बताए। 'राहत कसैले दुरुपयोग हुन नदिने गरी व्यवस्थित ढंगले बाँडिनेछ,' उनले भने, 'राहत वितरण गर्न तल्लो वडास्तरसम्मै व्यवस्थित समिति बन्नेछ।'

प्रकाशित: ३१ श्रावण २०७४ ०३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App