१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजपामा चुनाव चिह्न विवाद

काठमाडौं- तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी हुने सम्भावना बढेपछि चुनाव चिह्नका बारेमा राष्ट्रिय जनता पार्टी(राजपा) नेपालभित्र कचिङल सुरु भएको छ। निर्वाचन आयोगले छाता  चिह्न दिन नसकिने बताएपछि त्यसको विकल्पमा कुनचाहिँ चिह्न प्रयोग गर्ने विषयमा राजपा नेताहरूकाबीच विवाद देखिएको हो। आयोगले राजपा गठन हुनुअघिका ६ दलमध्ये कुनै एकका चिह्न दिन सकिने जनाएको छ।

राजपा पदाधिकारी आइतबार निर्वाचन आयोगमा गई छाता चिह्नको माग गरेका थिए। आयोगले मतपत्र पहिल्यै नै छापिसकेकाले त्यो चिह्न दिन नमिल्ने बताएपछि उनीहरूले आइतबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग सम्पर्क गरेर मागअनुसारका चुनाव चिह्न पाउने वातावरण बनाइदिन आग्रह गरेका थिए। देउवाले राजपालाई छाता चिह्न दिनका लागि आयोग पदाधिकारीसँग कुराकानी गरे। तर, मतपत्रसम्बन्धी प्राविधिक कठिनाइका कारण छाता चिह्न दिन नसकिने आयोग पदाधिकारीले दोहोर्‍याए।

छाता चुनाव चिह्न दिन आयोगले असमर्थता जनाएपछि राजपा गठन हुनुअघिका ६ वटा पार्टीमध्ये कुनै एक पार्टीको चुनाव चिह्न लिएमा  मतपत्रबाट अन्य पाँच पार्टीका चिह्न मेटाइदिन राजपाका पदाधिकारी  आयोगलाई आग्रह गरेका थिए। आयोग पदाधिकारीले भने राजपामा एकीकृत हुनुपूर्वका ५ पार्टीका चुनाव चिह्न मेटाउन नमिल्ने जनाए। मतपत्र छापिसकेकाले मतपत्रमा परिवर्तन गर्न नसकिने आयोगको भनाइ थियो।

राजपामा एकीकृत दलमध्येकै एकका चुनाव चिह्न लिनुपर्ने बाध्यताबीच कुन पार्टीको चिह्न प्रयोग गर्ने भन्नेमा मतान्तर देखिएको हो। तत्कालीन सद्भावना पार्टीका नेताले आफ्नो पुरानो चिह्न तीर प्रयोग गर्नुपर्ने अडान राखेका छन् भने तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टीका नेता आफ्नो पुरानो चुनाव चिह्न साइकलका पक्षमा देखिएका छन्। यसैगरी तमलोपाका नेताले जोर हलगोरू नै चुनाव चिह्नका रूपमा प्रयोग हुनुपर्नेमा अड्डी लिएका छन्। तत्कालीन नेपाल सद्भावना पार्टीको चुनाव चिह्न पञ्जाको आधिकारिकताबारे सर्वोच्च अदालतमा परेको  मुद्दा अझै विचाराधीन छ। पञ्जा चुनाव चिह्नको मागदाबी लिएकी सरिता गिरी संघीय समाजवादी फोरममा प्रवेश गरे पनि पञ्जा छापको दाबी छाडेकी छैनन्। पञ्जा छाप पाउन सकिने भएमा लिने नभए  आआफ्नै तत्कालीन पार्टीका चिह्न हुनपर्ने दाबी तत्कालीन ६ वटै पार्टीका नेताहरूको छ।

गत आइतबार साँझ राजापका अध्यक्षमण्डलका सदस्यहरूले चुनाव चिह्नका बारेमा छलफल गरेका थिए। तर, यसको टुंगो लागेन। 

भातृ संगठन समायोजनमा पनि विवाद

राजपामा अहिले भातृ संगठनको समायोजनमा सबैभन्दा ठूलो समस्या छ। राजपा गठन भएको चार महिना पूरा हुन लागेको छ। तर, भ्रातृ संगठनको समायोजन गर्नेबारेमा टुंगो लागेको छैन। माउ पार्टीमा झैं भ्रातृ संगठन पनि अध्यक्षमण्डलमार्फत सञ्चालन गर्ने कि एक अध्यक्ष राख्ने भन्नेबारेमा उत्पन्न विवादको छिनाफानो भएको  छैन। अध्यक्षमण्डल बनाए त्यसको संयोजक कसलाई बनाउने या एक अध्यक्ष बनाए कसलाई अध्यक्ष बनाउने भन्ने विवाद छ।

भ्रातृ संगठन समायोजन गर्न अध्यक्षमण्डलले पार्टीका ६ महासचिव सहभागी रहेको कार्यदल बनाएको छ। राजपा नेता सुरेश मण्डलले भ्रातृ संगठन समायोजन गर्दा कुन मोडलमा जाने भन्नेमा अझै टुंगो नलागेको बताए। 'कुन संगठनका अध्यक्ष कसलाई बनाउने भन्ने छिनोफानो भएको छैन,' उनले भने।

प्रकाशित: ३१ श्रावण २०७४ ०२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App