१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

साउदीमा २३ नेपाली समस्यामा, न तलब पाए न स्वदेश फर्कन

महेश श्रेष्ठ

साउदी अरब- रोजगारीका लागि साउदी अरब पुगेका २३ नेपाली कार्यरत कम्पनीले तलब नदिएपछि समस्यामा परेका छन्। उनीहरू तलब दिलाई स्वदेश फर्कने वातावरण तयार पारिदिन माग गर्दै न्यायिक निकाय धाइरहेका छन्।

सुरुदेखि नै तीन–चार महिनाको बीचमा एक महिनाको तलब दिएर अलमल्याउने गरेको कम्पनीले पाँच–छ महिनासम्मको तलब दिन बाँकी रहेको उनीहरूको भनाइ छ। सिद्धार्थबुद्ध ओभरसिजबाट आएका उनीहरू दम्माममा मुख्य कार्यालय रहेको अब्दुल मोहसिन अल मोउसा कम्पनीमा कार्यरत छन्। कम्पनीबाट बक्यौता तलब भुक्तानी दिलाई स्वदेश फिर्ता गराई पाऊँ भन्ने माग राखी जुबैल लेबर कोर्ट, नेपाली दूतावास र एनआरएनएमा निवेदन हालेको पीडितमध्येका दिपेन क्षत्रीले जानकारी दिए ।

पीडितमध्ये १२ जनाले २० जुन र ११ जनाले २१ जुनमा जुबैल लेबर कोर्टमा कम्पनीविरुद्ध उजुरी हालेका छन्। कोर्टले पहिलो तारिकमै १५ दिनभित्र कामदारको बक्यौता भुक्तानी गरेर नेपाल पठाउन, सम्पूर्ण हिसाबकिताब पेस गर्न आदेश दिएकोमा कम्पनी सञ्चालक अदालत उपस्थित नै नभएको शम्भु यादवले बताए। कम्पनी सञ्चालक अदालत उपस्थित नभएपछि उक्त मुद्दा दम्मामस्थित क्षेत्रीय लेबर कोर्ट पठाइएको छ।

यसैबीच पीडित नेपालीले एनआरएनए साउदी अरब गुहारेपछि वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समिति एवम् नेपाली दूतावासका अवैतनिक प्रतिनिधि धरम केसीले कामदार र कम्पनीबीच मध्यस्थता गराई समाधान प्रयास गरिरहेका छन्। उनले नेपालीलाई सेप्टेम्बरसम्म काम गर्न अनुरोध गर्दै कम्पनीको सर्तअनुसार काममा फर्केको एक हप्तापछि एक महिनाको तलब र सेप्टेम्बरसम्म सबै रकम चुक्ता गरिदिने प्रस्ताव कम्पनीका तर्फबाट राखेका छन्। यसअघि १८ जुनमा केसीले तिनै कामदारलाई तत्काल उद्धार गरिदिन श्रममन्त्री दीपक बोहरालाई इमेलमार्फत आग्रह गरेका थिए।

कामदारले भने कम्पनीप्रति विश्वास नभएकाले आग्रह स्विकार्न नसकिने जनाउँदै जसरी पनि तलब दिलाएर छिटोभन्दा छिटो नेपाल फर्काइदिन जोड गरेका छन्। कम्पनीले विगत ६ वर्षदेखि तलब रोकेर दुःख दिँदै आएको, करार अवधि पुगिसकेकालाई समेत घर जान नदिएको, छुट्टी जानेहरूको समेत ५–६ हजार रियाल भुक्तानी नगरेको उनीहरूको आरोप छ।

कम्पनीले ८ महिनासम्म लेबर कोर्ट नजाने, कम्पनीको नोक्सानी कामदारबाट क्षतिपूर्ति भराउन मुद्दा लगाउने धम्की दिएकाले कामदारले कम्पनीको प्रस्ताव स्विकार्नु नै उपयुक्त हुने सुझाव केसीले दिएका छन्। यस विषयमा श्रमसहचारी अम्बिकाप्रसाद अधिकारीले कामदारको बक्यौता तलब भुक्तानी गराउन र करार अवधि पुगेकालाई हवाई टिकटसहित नेपाल फर्काउन पहलका लागि स्थानीय कर्मचारी हरि घिमिरेलाई खटाइएको बताए। उनले करार अवधि नपुगेका तर फर्कन चाहने कामदारका लागि मेनपावर कम्पनीलाई टिकटसहित फर्काउने व्यवस्था गर्न निर्देशन दिइसकेको पनि जानकारी दिए।

पीडित कामदार भने पटकपटक जानकारी गराउँदा बेवास्ता गरेकाले मेनपावर कम्पनीलाई पनि कारबाही हुनुपर्ने, आफहरूले दिएको रकम फिर्ता गर्नुपर्ने बताउँछन्।

जुन १४ तारिखबाट काम छाडेर बसेका उनीहरुलाई कम्पनीले १५ जुनबाट खानासमेत बन्द गरिदिएको थियो। केसीको मध्यस्थतापछि ३४औं दिनबाट कम्पनीले खाना दिन सुरु गरेको थियो। यसअघि उनीहरूलाई न्यू अन्नपूर्ण नेपाली रेस्टुरेन्ट र ईश्वरी कपरीले एकएक छाक खाना खुवाएका थिए। दयनीय अवस्थामा पुगेका कामदारलाई नेपाली साझा मञ्च, एनआरएन एलसिसी जुबैल र विवेकशील नेपाली दल साउदी अरबले गत असार १५ मा सामूहिक दहीचिउरा खुवाउनुका साथै एक महिना पुग्ने खाद्यान्न सामग्री उपलब्ध गराएका थिए।

किन मान्दैनन् काममा फर्कन?

पीडितले दिएको जानकारीअनुसार ६ वर्षअघि स्थापित उक्त कम्पनीमा कानुनी रूपमा साउदी नागरिक मालिक रहे पनि भारतीय केरलाद्वारा सञ्चालित छ। पहिले नेपाली, पाकिस्तानी, भारतीय र फिलिपिनोसहित ३ सय कामदार रहेकामा तलब नदिएकै कारण अहिले लगभग ८० जनामा सीमित छ।

कम्पनीले प्रत्येकको तलब ५–६ महिना रोकी कामदार काममै नआई दबाब दिएपछि एक महिनाको दिएर झुलाउँछ। करार अवधि पुगेका कामदारलाई स्वदेश फर्कन नदिई आफ्नै खर्चमा टिकट काटेर जाने अवस्था सिर्जना गरेर मात्रै पठाउने गरेको छ। त्यसै गरी नियमित छुट्टीमा जाने कामदारको २–३ महिनाको तलब रोकेर मात्रै पठाउने र फर्कन बाध्य पार्ने गरेको छ।

तलब मागेर काममा नजाने कामदारलाई कम्पनीले नोक्सानी क्षतिपूर्ति भराउन मुद्दा लगाउने र कुटपिटको धम्की दिने गरेको छ। गत डिसेम्बरमा तलब मागेर काममा नगएका कामदारलाई एक्लाएक्लै बोलाउँदै माफीनामापत्रमा जबर्जस्ती सहीछाप गराएको थियो। उक्त पत्रमा 'अबउप्रान्त काम छाडेर बस्दिनँ, बसे हडताल गरेको ठहर गरी साउदी कानुनअनुसार कारबाही भोग्न तयार छु' लेखिएको थियो।

साउदी कानुनबारे अनभिज्ञ नेपाली त्यही  पत्रका कारण मानसिक पीडा भोग्नुपरेको, तलबसमेत पाएको अवस्थामा फेरि उही स्थिति भोग्नुपर्ने भयले कम्पनी फर्कन चाहँदैनन्।  उनीहरू भन्छन्, 'यो कम्पनीले मानसिक तनाब दिएकै कारण हाम्रो एक नेपाली साथीको मृत्यु भयो।' सोही कम्पनीमा ३ वर्षदेखि कार्यरत दम्माम क्याम्पमा रहेका सिन्धुलीका ४१ वर्षीय कदमलाल धामी चौधरीको गत २९ जुनको बिहान हृदयघात भएर मृत्यु भएको थियोे। ५ महिनादेखि तलब रोकिएका चौधरी बिहान–बेलुकी खानाका लागि समेत हरेक दिन अफिस धाउनुपर्ने बाध्यतामा थिए।

प्रकाशित: ११ श्रावण २०७३ ०३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App