१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

मेयर सा’पका विलाशी मोटर

दुई दशकपछि जनप्रतिनिधि पाएका उपत्यकावासीले लामो समयदेखि भोग्दै आएका समस्याको हल खोजेका थिए । उनीहरूले आफ्नो ब्रह्मले भ्याएसम्म समस्या समाधान गर्न सक्ने उम्मेदवारलाई नै मत दिएर जिताए पनि । 
पदबहाली गरेकै दिन उपत्यकाका अधिकांश मेयरले लोकप्रिय बन्ने लोभमा कार्यान्वयन हुनै नसक्ने निर्णयहरू गरे । अढाई महिनाको अन्तरालमा उनीहरूका धेरै प्रतिबद्धता ‘हावा गफ’मा सीमित भएका छन् । 

प्रतिबद्धता पूरा गर्न नसकिरहेका मेयर सा’पले उपत्यकाका सदावहार समस्यालाई उपेक्षा गर्दै कहिले लाख–लाखको मोबाइल बाँड्ने त कहिले करोडका गाडी चढ्ने निर्णय भने गरिरहेका छन् । पहिलो बैठकबाटै लोकप्रियताको शिखर चुम्ने सपना सजाएर ‘पपुलिस्ट’ निर्णय गर्ने मेयरहरू अहिले भने एकसे एक सुविधा थप्दै जान थालेका छन् । सुविधाभोगी बन्दै गएका उपत्यकाका मेयर कस्ता गाडी चढ्छन् त ? खिलक बुढाथोकीको रिपोर्ट : 

काठमाडौं : सवा करोडको गाडीमा शाक्य 
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य यसै साताबाट एक करोड २० लाख रुपैयाँ मूल्यको गाडी चढ्दै छन् । शाक्यका लागि महँगो गाडी खरिद गरिएपछि अन्य नगरपालिकाका मेयरले चढ्ने गाडीबारे पनि चासो बढेको छ । निर्वाचित भएदेखि नै मेयर शाक्यले महानगरमै रहेको करिब ८५ लाख रुपैयाँ पर्ने निसान कम्पनीको गाडी चढ्दै आएका थिए । अब उनी टोयोटा कम्पनीको फर्चुनर गाडी चढ्नेछन् । 

महानगरकी उपमेयर हरिप्रभा खड्गी सुजुकी कम्पनीको करिब ३० लाख रुपैयाँ पर्ने गाडी चढ्दै आएकामा उनका लागि पनि ८६ लाख रुपैयाँ मूल्य बराबरको नयाँ गाडी खरिद गरिएको छ । खड्गी पनि केही दिनपछि ८६ लाख रुपैयाँको विलासी गाडीमा चढ्नेछिन् ।

ललितपुर : १७ वर्ष पुरानो गाडीमा महर्जन
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन महानगरपालिकाकै गाडी चढ्दै आएका छन् । अघिल्ला मेयर अर्थात् ०५४ सालमा निर्वाचित मेयरले चढेको करिब १७ वर्ष पुरानो गाडी अहिले महर्जनले प्रयोग गरेका छन् । महर्जन चढ्ने टोयोटा कम्पनीको गाडी त्यसबेला करिब ३५ लाखमा किनिएको थियो। 

उपमेयर गीता सत्याल चढ्ने गाडी पनि पुरानै छ । टोयोटा कम्पनीको करिब १४ वर्ष पुरानो गाडीमा सत्याल चढ्दै आएकी छिन् । महानगरपालिकाले मेयर, उपमेयरका लागि नयाँ गाडी खरिद लक्ष्य भने राखेको छ । ‘गाडी खरिद योजनाचाहिँ बनाएका छौँ,’ ललितपुर महानगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद दाहालले भने, ‘मेयर, उपमेयर सा’पले नै अहिलेलाई काम चलिरहेको छ, हतार नगरौँ भनेकाले खरिद गरिएको छैन ।’ दुइटा गाडी खरिदका लागि चालू आर्थिक वर्षको बजेटमा करिब ८० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दाहालले दिए।

भक्तपुर : पुरानैले काम चलाउँदै प्रजापति
भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले कार्यालयकै पुरानो गाडी प्रयोग गरेका छन् । उनी चढ्ने जिप करिब १२ वर्षअघि किनिएको हो । 

उपमेयर रजनी जोशीले पनि कार्यालयमै रहेको १२ वर्ष पुरानो गाडी प्रयोग गर्दै आएकी छन् । नगरपालिकाले मेयर तथा उपमेयरका लागि गाडी खरिद योजना बनाएको छैन । कार्यकारी अधिकृत रोहित पोखरेलका अनुसार मेयर तथा उपमेयरका लागि कार्यालयकै पुरानो गाडीबाट काम चलाउन भनिएको छ ।

बूढानीलकण्ठ : पुरानैले काम चलाउँदै खरेल
बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले नगरपालिकामै रहेको टाटा कम्पनीको गाडी चढ्दै आएका छन् । करिब ५४ लाख रुपैयाँ मूल्य पर्ने उक्त गाडी यसअघि कार्यकारी अधिकृत विश्वराज मरासिनीले चढ्दै आएका थिए । 
उपमेयर रमादेवी राईका लागि भने स्कोडा गाडी भाडामा लिइएको छ । मासिक ६० हजार रुपैयाँ भाडा तिर्ने गरी नगरपालिकाले सो गाडी भाडामा लिएको कार्यकारी अधिकृत मरासिनीले जानकारी दिए । उनका अनुसार नयाँ गाडी खरिदको निर्णय भएको छैन । गाडी खरिदको कुरा चलेको नगरपालिकाले जनायो।

तरकेश्वर : आफ्नै गाडीमा बोहोरा
तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले अहिलेसम्म नगरपालिकाको गाडी चढेका छैनन् । बोहोराको आफ्नै कार छ । उनी त्यसैमा आवतजावत गरिरहेको नगरपालिकाले जनायो । नगरपालिकाले मेयरका लागि गाडी खरिद प्रक्रिया भने अघि बढाएको छ । ‘मेयरलाई महेन्द्र स्कार्पियो गाडी खरिद प्रक्रिया अघि बढाएका छौँ,’ कार्यकारी अधिकृत अग्नि खरेलले भने, ‘त्यसका लागि करिब ५० लाख रुपैयाँ खर्च हुनेछ ।’

उपमेयर भवानी डोटेल धितालका लागि भने अहिले भाडाको गाडी व्यवस्था गरिएको छ । मासिक ९० हजार रुपैयाँ तिर्ने गरी महेन्द्र स्कार्पियो गाडी भाडामा लिएर उपमेयरलाई प्रयोग गर्न दिइएको छ । मेयरलाई गाडी खरिद गरेपछि मात्रै उपमेयरका लागि खरिद प्रक्रिया अघि बढाउने कार्यकारी अधिकृत खरेलले जानकारी दिए ।

शंखरापुर : नयाँं किन्ने योजना छैन श्रेष्ठको
शंखरापुर नगरपालिकाका मेयर सुर्वण श्रेष्ठले भाडाको गाडी चढ्दै आएका छन् । नगरपालिकाले मासिक ८० हजार तिर्ने गरी स्कर्पियो गाडी मेयर श्रेष्ठका लागि भाडामा लिएको छ । उपमेयर शुक्रलक्ष्मी श्रेष्ठका लागि भने छुट्टै गाडी छैन । आवश्यक पर्दा मेयरले चढ्दै आएको गाडी नै उनले प्रयोग गरेको जानकारी कार्यकारी अधिकृत दुर्गानाथ गौतमले दिए । तत्काल मेयर, उपमेयरका लागि गाडी खरिद योजना समेत नभएको गौतमले बताए।

दक्षिणकाली : दुई वर्ष पुरानो गाडीमा बस्नेत 
दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले दुई वर्षअघि करिब ३५ लाख खर्च गरेर खरिद गरिएको स्कर्पियो गाडी प्रयोग गर्दै आएका छन् । गाडी नगरपालिकाकै हो । नगरपालिकाले नयाँ गाडी खरिदका लागि ५५ लाख रुपैयाँ विनियोजन गरेको छ । खरिद प्रक्रिया भने तत्काल अघि बढाउने योजना नरहेको कार्यकारी अधिकृत सुशीला पौडेलले जानकारी दिइन् ।

कागेश्वरी–मनोहरा : भाडाको गाडीमा थापा
कागेश्वरी–मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा भाडाको स्कर्पियो गाडी चढ्छन् । नगरपालिकाले मासिक एक लाख रुपैयाँ भाडा तिर्छ । 
उममेयर बिन्दु सिंखडाले भने कार्यालय आउन–जान ट्याक्सी प्रयोग गर्छिन् । ट्याक्सीलाई मासिक ५० हजार रुपैयाँ भाडा नगरपालिकाले बुझाउँदै आएको कार्यकारी अधिकृत मनिता श्रेष्ठले जानकारी दिइन् । मेयर, उपमेयरका लागि गाडी खरिद गर्न डेढ करोड बजेट व्यवस्था भए पनि प्रक्रिया भने अघि बढेको छैन । 

टोखा : नयाँ गाडी खरिद प्रक्रियामा अधिकारी 
टोखा नगरपालिकासँग तीन वर्षअघि किनिएको एउटा स्कार्पियो गाडी छ । नगरपालिकाले एउटा कोरियन कम्पनीको जिप पनि भाडामा ल्याएको छ । मेयर प्रकाश अधिकारी र उपमेयर ज्ञानमाया डंगोल आलोपालो र आवश्यकता अनुसार यी दुई गाडी चढ्छन् । स्कार्पियो गाडी धेरैजसो मेयर अधिकारीले प्रयोग गर्छन् भने भाडाको गाडी उपमेयर डंगोलले । भाडाको गाडीलाई मासिक एक लाख रुपैयाँ बुझाउनुपर्छ । नगरपालिकाले मेयर तथा उपमेयरका लागि गाडी खरिद प्रक्रिया अगाडि बढाएको कार्यकारी अधिकृत नवराज ढुंगानाले जानकारी दिए । गाडी खरिदका लागि नगरपालिकाले ५० लाख रुपैयाँ व्यवस्था गरेको छ।

नागार्जुन : बस्नेतले नयाँ किन्ने 
नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतले नगरपालिकाकै जिप प्रयोग गर्छन् । उपमेयर सुशीला अधिकारीका लागि नगरपालिकाले भाडामा स्कर्पियो गाडी व्यवस्था गरिदिएको छ । नगरपालिकाले मासिक एक लाख रुपैयाँ भाडा तिर्ने गर्छ । नगरपालिकाले मेयर, उपमेयरका लागि गाडी खरिद प्रक्रिया अगाडि बढाइसकेको छ । गाडी किन्न करिब एक करोड बजेटको व्यवस्था गरिएको कार्यकारी अधिकृत लक्ष्मी पाण्डेले जानकारी दिइन् ।

कीर्तिपुर : ५८ लाखको गाडीमा महर्जन
कीर्तिपुर नगरपालिकाका मेयर रमेशमान महर्जन नगरपालिकाकै गाडीमा आवतजावत गर्छन् । टाटा कम्पनीको उक्त गाडी नगरपालिकाले डेढ वर्षअघि ५८ लाख रुपैयाँमा खरिद गरेको हो । 
उपमेयर सरस्वती खड्काका लागि भने नगरपालिकाले भाडाको गाडी व्यवस्था गरिदिएको छ । मासिक ९० हजार रुपैयाँ बुझाउने गरी सुमो जिप भाडामा लिइएको जानकारी कार्यकारी अधिकृत सुमन कार्कीले दिए । नगरपालिकाले चालू आर्थिक वर्षमा गाडी किन्न ६० लाख रुपैयाँ व्यवस्था गरेको छ ।

गोकर्णेश्वर : टाटा सफारीमा चालिसे
गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे टाटा सफारी गाडी चढ्छन् । गत साल नगरपालिकाले उक्त गाडी खरिद गरेको थियो । उपमेयर शान्ति नेपाललाई भने गाडी छैन । गाडी खरिद योजना भए पनि निर्णय भइनसकेको नगरपालिकाले जनायो । 

गोदावरी : टाटा सुमो गोल्डमा महर्जन 
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले टाटा सुमो गोल्ड गाडी प्रयोग गर्छन् । उक्त गाडी नगरपालिकाले दुई वर्षअघि किनेको हो । उपमेयर मुना अधिकारी कुँवरका लागि भने नगरपालिकाले भाडाको गाडी व्यवस्था गरिदिएको छ । दैनिक हजार रुपैयाँ तिर्ने गरी भाडाको गाडी व्यवस्था गरिएको जानकारी कार्यकारी अधिकृत टेकराज पन्थीले दिए । नयाँ गाडी खरिद योजना बनाइएको छ । यसका लागि करिब ६० लाख रुपैयाँ व्यवस्था गरिएको नगरपालिकाले जनायो । महर्जनले कार्यभार सम्हालेसँगै ल्यान्डक्रुजर गाडी खरिद गर्ने मनसाय राखेका थिए । बजेट नभएको भन्दै उच्च कर्मचारीले नमानेपछि सामान्य गाडी खरिद प्रक्रिया अघि बढेको स्रोतले बतायो।

चाँगुनारायण : नयाँ किन्ने योजनामा मिश्र
चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले कार्यालयकै स्कार्पियो गाडी चढ्दै आएका छन् । उपमेयर दीना बास्तोलाले भने आफ्नै निजी गाडी चढ्दै आएकी छन् । उनका लागि नगरपालिकाले तेल र चालक उपलब्ध गराउँदै आएको छ । गाडी खरिद योजना रहे पनि बजेटको व्यवस्था पुसमा मात्रै हुने कार्यकारी अधिकृत लोकनाथ भुसालले जानकारी दिए ।

प्रकाशित: २७ श्रावण २०७४ ०९:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App