१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कोशीमा कुनै खतरा छैन, हल्लाको पछि नलागौं : प्रजिअ पराजुली

इनरुवा- सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले सप्तकोशी नदीका कारण सुनसरीमा कुनै खतरा नरहेको बताएका छन्। उनले पूर्वी पहाडी जिल्लामा वर्षा भएपछि सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुनु स्वाभाविक भएको बताए।

पानीको बहावमा वृद्धि भए पनि कोशी नदीमा यही अवस्थाले पानीको बहाव रहिरह्यो भने पनि सुनसरीमा कुनै खतरा नरहेको उनको भनाई थियो। उनले सप्तकोशीका स्पर तथा बाँधहरु पहिले कमजोर भएपनि अहिले पहिलेको तुलनामा निकै मजबुत भएकाले तीनलाख क्युसेक प्रतिसेकेन्डसम्म पानी कोशी ब्यारेज भएर बग्दासम्म कुनै खतरा सुनसरीमा नहुने बताए। 

केही सञ्चारमाध्यमले कोशीमा खतरा रहेको समाचार प्रसारण तथा प्रकाशन गरेपछि आफूहरुको ध्यान केन्द्रीत भएको बताउँदै प्रजिअ पराजुलीले हल्लाको पछि नलाग्न आम जिल्लावासीलाई आग्रह गरे।

वर्षाको समयमा सप्तकोशी नदीमा पानीको बहाव घटबढ हुने क्रम चलिरहने भएकाले तीन लाखसम्म कुनै खतरा नरहेको बताउँदै त्योभन्दा माथि पानीको बहाव भएपछि मात्र सोच्नुपर्ने अवस्था आउने समेत बताए। 

प्रजिअ पराजुलीले नदीमा पानीको सतह बढ्दै गएपनि स्परहरु सुरक्षित रहेको र नियमित अनुगमन जारी रहेकाले कोशी नदीको पानीले सुनसरीमा खतरा नरहेको र ढुक्क भएर नियमित काम गर्न आग्रह गरे। 

उनले कोशी ब्यारेज निर्माण भएपश्चात् एकपटक सातलाख क्युसेक प्रतिसेकेण्डसम्म पानीको बहाव भएको तर अहिले दुई लाख ४० हजार क्युसेक पानीको बहाव भएकाले यसमा आत्तिनुपर्ने अवस्था नरहेको बताए। 

कोशी ब्यारेजमा एक लाख ५० हजार क्युसेक पानीको बहाव हुनेबित्तिकै रातो बत्ती बाल्ने प्रचलन भएकाले रातो बत्ती बाल्दैमा तथा रातो झण्डा फहराउँदैमा कुनै पनि खतरा भने नरहेको प्रजिअ पराजुलीले बताए। रासस

प्रकाशित: २७ श्रावण २०७४ ०५:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App