१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजपाको अडान यथावत्

काठमाडौं – केन्द्रीय सदस्यहरूको दबाबका कारण राजपाका अध्यक्ष मण्डलका सदस्यहरू केन्द्रीय समितिको बैठकबाट नयाँ निर्णय लिन असफल भएका छन् । बैठकमा करिब ८ सय सदस्यको दबाबका कारण उनीहरूले पहिलेको  निर्णयमा फेरबदल गर्न नसकेका हुन् । 

संविधान  संशोधन र सरकारसँग यसअघि गरेको तीनबुँदे सम्झौता कार्यान्वयन नभएसम्म चुनावमा नजाने पार्टीको लाइनमा केन्द्रीय समितिको बैठकपछि पनि कुनै परिर्वतन नआएको हो। 

केन्द्रीय समिति बैठकमा ठाकुरले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पनि सरकारसँग गरेको तीनबुँदे सम्झौता कार्यान्वयन नभएमा चुनावमा नजाने प्रस्ट उल्लेख छ ।

नेताहरूको दबाबपछि निर्णय सुनाइएन 
केन्द्रीय समितिको बैठकले गरेको निर्णयबारे जानकारी गराउन बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय गरिएको थियो । पत्रकार सम्मेलनमा सुनाउने निर्णयबारे अध्यक्ष मण्डलका सदस्यहरूको एकमत नभएपछि पत्रकार सम्मेलन स्थगित भएको थियो । चुनावका बारेमा अध्यक्ष मण्डलका सबै सदस्य एक ठाउँमा आएपछि शुक्रबार निर्णय सार्वजनिक हुने सम्भावना रहेको बताइएको छ ।

स्रोतका अनुसार महेन्द्र यादव र शरतसिंह भण्डारीले संविधान संशोधन पारित नभई  चुनावमा जान नसिकने अडानमा लचिलो हुन अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई दबाब दिएका छन् । 

संशोधन प्रस्ताव मतदानमा लैजाने, मतदानमा प्रस्ताव पास वा फेल भए जे भए पनि स्वीकार गरेर चुनावमा जानुपर्ने अडान यादव र भण्डारीको छ । 

दोस्रो तहका केही नेताहरूले तेस्रो चरणको चुनावमा राजपा सहभागी नभए आफूहरूले पार्टी छाडेर अर्को पार्टीमा जान सक्ने चेतावनी दिएपछि अध्यक्ष मण्डलका सदस्यहरूले पत्रकार सम्मेलन गरेर निर्णय सुनाउन हच्किएको स्रोतको भनाइ छ ।  दुई नम्बर प्रदेशमा स्थानीय तहको संख्या बढाउन मिल्ने  सर्वोच्चको फैसलाले चुनाव पक्षधर नेताहरूलाई झन् सजिलो बनाइदिएको छ ।

राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले सर्वोच्चको फैसला सकारात्मक भएको बताए । 
अध्यक्ष मण्डलका सदस्यहरूमध्ये राजेन्द्र महतो र अनिल झा भने संविधान संशोधन पास नभई कुनै पनि अवस्थामा चुनावमा जान नहुने पक्षमा छन् । संयोजक ठाकुर संशोधन प्रस्ताव पास गर्न सरकारलाई सात दिन समय सीमा राखेर दबाब दिनुपर्ने अडानमा छन् ।

२१ लाख खर्च, उपलब्धि शून्य
केन्द्रीय समितिको तीन दिनसम्म चलेको बैठकमा पार्टीको झन्डै २१ लाख खर्च भएको छ । बैठकमा सहभागी नेताहरूको खाना र खाजाका लागि बबरमहलस्थित कार्की पार्टी प्यालेसले प्रतिदिन प्रतिव्यक्ति ९ सय रुपैयाँ लिएको थियो । अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले पार्टीका लागि यस्तो खर्च खासै ठूलो नभएको बताए । ‘केन्द्रीय सदस्यहरूले आफ्नो सुझाव राख्नुभयो । त्यो ठूलो कुरा हो,’ यादवले भने, ‘केही रुपैयाँ खर्च हुनु ठूलो कुरा होइन ।’
बैठकमा सहभागी हुन जिल्लाजिल्लाबाट आएका नेताहरूमध्ये अधिकांश फर्किसकेका छन् । 

प्रकाशित: २७ श्रावण २०७४ ०२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App