१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

वायुसेवा निगमले पुरानो बोइङ बेच्न सकेन

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले तीन दशक पुरानो एकथान ठूलो जहाज लिलाम बढाबढमा बिक्री गर्न खोजेको चार महिना बिते पनि सफल हुन सकेको छैन। 

निगमले बेच्न खोजेको ‘बि७५७–२००’ सिरिजको एकथान जहाज एक वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ छ । ‘९एन–एसिए’ कलसाइन भएको १ सय ९० सिट क्षमतायुक्त यो जहाज निगमले सन् १९८७ मा अमेरिकी जहाज निर्माता कम्पनी बोइङसँग खरिद गरेको थियो । यसको नाम ‘कर्णाली’ हो । यो जहाज बेच्न निगमले दुईपल्ट ‘ग्लोबल टेन्डर’ आह्वान गरेको थियो। 

पहिलो पटक टेन्डर आह्वान गर्दा एउटा पनि आवेदन परेको थिएन । दोस्रो पटक भने दुई विदेशी र पाँच नेपाली कम्पनीले आवेदन बुझाएका थिए । तर, नेपाली र एक विदेशी कम्पनीले जहाज नकिन्ने जानकारी गराइसकेका छन् भने एक विदेशी कम्पनीको प्रस्तावमाथि निगम व्यवस्थापन र सञ्चालक समितिमा व्यापक छलफल भइरहेको छ। 

‘बोइङ एसिए जहाज बेच्न हामीले तोकेको न्यूनतम मूल्य १७ लाख १० हजार अमेरिकी डलर (१७ करोड १० लाख रुपैयाँ) भए पनि एउटा विदेशी कम्पनीले त्यसभन्दा कम दर प्रस्ताव गरेको छ,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले बुधबार नागरिकसँग भने, ‘उसले सुरुमा प्रस्ताव गर्दा १० लाख डलर तोकेको थियो र हामीले पुनः ताकेता गरेपछि १४ लाख डलरसम्म तिर्ने प्रस्ताव पठाएको छ।’

उनका अनुसार विदेशी कम्पनीतर्फ अमेरिकाको एभियन सिस्टम्स इन्कर्पोरेटेड र इजरायलको एपिएस एयरपार्ट्स, सर्भिसेस एन्ड सप्लाइज लिमिटेड तथा नेपालका हिमालया एभिएसन कन्सल्ट्यान्ट तीलगंगा, टिबिआई ग्रुप नेपाल गैरीधारा, जनार्दनमान डंगोल सानेपा, बिबी एयरवेज नागपोखरी र अनु मानन्धर नयाँबानेश्वरले बि७५७ जहाज खरिद गर्न आवेदन हालेका थिए। 

तीमध्ये अमेरिकाको एभियनले १० लाख डलर (१० करोड रुपैयाँ), टिबिआई ग्रुपले १२ लाख ५० हजार डलर (१२ करोड ५० लाख रुपैयाँ) र हिमालया एभिएसनले १३ लाख डलर (१३ करोड रुपैयाँ) मूल्य प्रस्ताव गरेका थिए । बाँकी चाजनाले भने मूल्य प्रस्ताव गरेका थिएनन्। 

सबैको प्रस्तावपछि पुनः उनीहरूलाई पत्राचार गर्दा एभियनबाहेक कसैले पनि जहाज नकिन्ने जानकारी दिएका थिए । एभियनलाई मूल्य कम भयो भनेपछि उसले बढेर १४ लाख डलरसम्म तिर्ने प्रस्ताव पठाएको छ । यही विषयलाई निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले निष्कर्षमा पुर्‍याउन सकेन। 

‘अब कति समस्या प¥यो भने बढी भाउ आउँछ भनेर जहाज राखिरहँदा झन् कवाडीमा परिणत हुँदै जाने भयो र कम मूल्यमा बिक्री गरिहाल्न पनि नसकिने भयो,’ सञ्चालक समितिका एक सदस्यले भने, ‘त्यसमाथि एभियन पनि फुत्केला भन्ने डर छ । हामीलाई ‘थाल खाउँ न भात खाउँ’ जस्तो भएको छ।’

उनका अनुसार एभियनको पछिल्लो प्रस्तावको संक्षिप्त प्राविधिक मूल्यांकन गरी सबै प्रक्रिया समेटेर पुनः सञ्चालक समितिमा सिफारिस गर्न व्यवस्थापनलाई निर्देशन दिइएको छ । ‘अब बस्ने बैठकमा सकेसम्म यो विषयलाई टुंगो लगाउँछौं,’ उनले भने। 

निगमले बि७५७ एसिए बेच्न पहिलो पटक २०७३ चैत अन्तिम साता ग्लोबल टेन्डर आह्वान गरेको थियो । त्यसको अन्तिम म्याद २०७४ जेठ १० सम्म भए पनि कसैको आवेदन परेको थिएन । त्यसपछि जेठ दोस्रो साता मागेको टेन्डरको जेठ २९ सम्म थियो र सात कम्पनीको आवेदन परेको थियो। 

निगमका अनुसार उक्त जहाज जे जस्तो अवस्थामा छ त्यहीअनुसार बिक्री गरिने छ । जहाजमा ‘आरबी२११–५३५इ४’ मोडेलका दुईथान इन्जिन छन् । तीमध्ये एउटा इन्जिनको आयु शून्य छ भने अर्कोको आयु जम्मा १ सय घन्टामात्र छ । जहाज खरिद गर्ने कम्पनीले उडाएर लैजान त्यति अवधि राखिएको हो। 

निगमले यसरी जहाज बिक्री गर्न लागेको यो पहिलो पटक भने होइन । यसअघि साढे दुई दशकअघि उसले १ सय २३ सिट क्षमतायुक्त दुईथान ‘बि७२७’ सिरिजका जहाज बेचेको थियो । ती जहाज पनि बोइङमै उत्पादन भएका थिए । 

निगमले बोइङ एसिए जहाज पुरानो भएको र मर्मत खर्च अत्यधिक लाग्ने भएपछि बिक्री गर्ने निर्णय गरेको थियो । यसको दुईथान इन्जिन मर्मत गर्नमात्र करिब २ अर्ब रुपैयाँ लाग्ने भएपछि ‘बनाउनभन्दा बेच्न फाइदा’ भन्दै निगम जहाज बिक्री गर्ने निर्णयमा पुगेको थियो। 

त्यसपछि निगम व्यवस्थापनले अमेरिकाको फिनटेक नामको कम्पनीलाई यो जहाजको मूल्यांकन गरी प्रतिवेदन पेस गर्न सशुल्क काम लगाएको थियो । फिनटेकले एसिए जहाजको अधिकतम मूल्य १७ लाख १० हजार अमेरिकी डलर हुने प्रतिवेदन पेस गरेको थियो । त्यही प्रतिवेदन निगम सञ्चालक समितिमा पेस गरिएको थियो । समितिले २०७३ पुसमा प्रतिवेदन अध्ययन गरी जहाज बिक्री गर्न व्यवस्थापनलाई अनुमति दिएको थियो। 

निगमसँग रहेको यस्तै अर्को एउटा जहाज भने उडानमा प्रयोग भइरहेको छ । निगमका दुईथान बोइङले उडान गरिरहँदा वार्षिक २ अर्ब रुपैयाँ आम्दानी गर्थे । तर, ती जहाजले जति आम्दानी गर्थे, त्यसको अधिकांश हिस्सा मर्मतमै खर्च हुने गरेको थियो। 

त्यसबाहेक बि७५७ जहाज उडाउँदा प्रतिउडान जति आम्दानी हुने गर्छ, त्यसको करिब ४५ प्रतिशत हिस्सा इन्धनमा खर्च हुने गरेको थियो । अहिले निगमसँग रहेका एयरबस कम्पनीमा निर्मित नयाँ जहाजले भने यसको आधामात्र इन्धन खपत गर्ने गर्छन् । पुरानो हुँदै जानु र मर्मत खर्च उच्च हुँदै गएपछि निगमसँग बिक्रीको विकल्प थिएन।  

निगमले दुईथान बि७५७ जहाजबाट निगमले छोटो दुरी (सर्ट हल) देखि लामो दुरी (लङ हल) गन्तव्यमा उडान गरेको थियो । सर्ट हलमा भारतको नयाँदिल्ली, कोलकाता, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, हङकङ, कतारको दोहा, युएईको दुबईलगायत गन्तव्यमा उड्थे भने लङ हलतर्फ बेलायतको लन्डन, फ्रान्सको पेरिस, जर्मनीको फ््रयांकफर्ट, जापानको ओसाका, चीनको सांघाईसम्म जाने गरेका थिए। 

बोइङले सन् १९८१ बाट बि७५७ सिरिजको जहाज उत्पादन सुरु गरेको थियो । त्यसको ६ वर्षपछि निगमले पहिलो र आठ वर्षपछि १९८९ मा दोस्रो जहाज खरिद गरेको थियो । यस्ता जहाज बोइङले २००४ बाट उत्पादन गर्न बन्द गरेको थियो । 

प्रकाशित: २५ श्रावण २०७४ ०५:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App