१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पुनःसर्भेक्षणमा जाने इन्जिनियरका तालिम

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अतिप्रभावित १४ जिल्लामा पुनः सर्भेक्षणमा खटिने इन्जिनियरका लागि तालिम सुरु गरेको छ। आइतबार सुरु भएको पहिलो चरणको तालिममा एक सय ६८ जना इन्जिनियर सहभागी रहेको प्राधिकरणले जनाएको छ। थापाथलीस्थित ट्रेड टावरमा जारी तालिम तीन दिन चल्नेछ।

प्राधिकरणका सचिव सर्वजीतप्रसाद महतोले गुनासो फर्स्याेटमार्फत् छुट सर्भेक्षण तथा पुनः जाँच वर्गमा परेका गुनासोकर्ताका घरदैलोमा पुगी स्थलगत तथ्यांक संकलन गर्न तीन सय ३२ इन्जिनियर खटाउन लागेको जानकारी दिए। साउन २६ बाट सञ्चालन गरिने दोस्रो चरणको तालिममा थप एक सय ६४ इन्जिनियरलाई सहभागी गराइने उनले बताए। यसअघि १५ जना इन्जिनियरलाई सर्भेक्षणको कार्यविधिबारे 'मास्टर्स ट्रेनिङ' दिइएको थियो।

'लाभग्राही सूचीमा छुट भएका पीडितको सर्भेक्षण तथा पुनःजाँच सर्भेक्षणका लागि इन्जिनियर खटाउन लागिएको हो,' आइतबार तालिम उद्घाटन सत्रमा सचिव महतोले भने। पुनर्निर्माणको कामलाई छिटो छरितो रुपमा सन्पन्न गर्ने दायित्व इन्जिनियरहरुको पनि भएकोले जिम्मेवार भएर काम गर्न उनले निर्देशन दिए।

प्राधिकरणका कार्यकारी समिति सदस्य हरिराम पराजुलीले सर्भेक्षणका क्रममा त्रुटि हुन नदिन आग्राह गरे। केन्›ीय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले वास्तविक पीडित कोही पनि नछुटून्  भन्नेमा सचेत हुन तालिममा सहभागी इन्जिनियरलाई आग्रह गरे।

प्राधिकरणले केन्द्रीय तथ्यांक विभागसँगको सहकार्यमा गुनासोको पुनः सर्भेक्षण गर्न लागेको हो। स्थलगत तथ्यांक संकलन कार्य यही साउन २६ गतेबाट सुरु हुने प्राधिकरणले जनाएको छ। 'पहिलो चरणमा ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपलान्चोक, काभ्रेपलान्चोक, नुवाकोट, रसुवा र गोरखामा स्थलगत सर्भेक्षण सुरु हुनेछ,' सचिव महतोले भने, 'यसका लागि पहिलो चरणमा तालिम लिएका एक सय ६८ इन्जिनियर खटिनेछन्।'

दोस्रो चरणमा तालिम लिने एक सय ६४ इन्जिनियर बाँकी ६ जिल्लामा खटिने उनले बताए। काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुली, मकवानपुर र धादिङमा साउन ३० गतेबाट यो कार्य सुरु हुनेछ।

यस कार्यक्रमअन्तर्गत १४ जिल्लामा ८१ हजार ८२ परिवारको पुनः जाँच र ५२ हजार दुई सय ७८ परिवारको छुट सर्भेक्षण गरी कुल एक लाख ३३ हजार तीन ६० परिवारको सर्भेक्षण गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणले भदौ ३१ भित्र सबै जिल्लामा तथ्यांक संकलन कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ। त्यस्तै, सर्भेक्षण भएका परिवारको असोज मसान्तभित्र फर्स्योट सम्पन्न गरी लाभग्राही सूचीमा पर्ने नपर्ने निर्णय गरिसक्ने बताइएको छ।

प्राधिकरणका अनुसार सिन्धुली, मकवानपुर, काभ्रेपलान्चोक, दोलखामा सर्भेक्षण गर्नुपर्ने संख्या बढी रहेको छ भने रसुवा, ललितपुर, भक्तपुरमा कम रहेको छ।

स्थलगत तथ्यांक संकलन कार्यमा स्थानीय तहका जनप्रतिनिधिसँग सहकार्य गरिने प्राधिकरणका सचिव महतोले बताए। इन्जिनियरहरुले ट्याबलेट प्रविधिको प्रयोग गरी संकलन गरिने विवरण इन्टरनेटमार्फत् सोझै केन्›ीय सर्भरमा भण्डारण हुने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।

अति प्रभावित १४ जिल्लाबाट प्राधिकरणमा दुई लाख सात हजार पाँच सय गुनासो दर्ता भएका थिए। तीमध्ये गुनासो फर्स्योटबाट ३९ हजार ९७ परिवार लाभग्राही सूचीमा परिसकेका छन्। त्यस्तै, १३ हजार पाँच सय ६५ परिवार प्रवलीकरण लाभग्राहीमा परेका छन्। प्राधिकरणले गुनासो फर्स्योटको काम ढिला गरी गत असार २५ गते मात्र सम्पन्न गरेको थियो।

प्रकाशित: २३ श्रावण २०७४ ०६:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App