१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आठ मतदाता, नौ जना निर्वाचित

भक्तपुर- आठ जना मतदाताबाट नौ जना निर्वाचित भए भन्ने सुन्दा आश्चर्य लाग्न सक्छ। तर, भक्तपुर जिल्ला समन्वय समितिमा आइतबार यस्तै भएको छ। नौ सदस्यीय जिल्ला समन्वय समितिमा प्रमुखसहित सबै पदमा एमालेका उम्मेदवार विजयी भएका छन्। चुनावबाट नवराज गेलाल नेतृत्वको एमाले प्यानल विजयी भएको हो। उपप्रमुखमा सरिता कुँवर विजयी भइन्। सदस्यमा शकुन्तला श्रेष्ठ, गीता देउजा, कमला पोखरेल, श्रीराम व्याञ्जू, उमेश श्रेष्ठ, बाबुकाजी श्रेष्ठ र दलित तथा अल्पसंख्यक सदस्यमा गीता बिसुन्खे विजयी भएका छन्।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले आठ मतदाताबाट नौजना निर्वाचित भएको बताए। जिल्लामा चारवटा नगरपालिका छन्। हालको व्यवस्थाअनुसार जिल्ला समन्वयन समिति निर्वाचनमा नगरपालिकामा निर्वाचित प्रमुख र उपप्रमुख मतदाता हुने व्यवस्था छ। यस हिसाबले चार  नगरपालिकाका प्रमुख र उपप्रमुख गरी आठ जना मतदाता भएका हुन्।

चार नगरपालिकामध्ये एमालेले दुई नगरपालिकामा प्रमुख र उपप्रमुख, एउटा नगरपालिकामा प्रमुख जितेको थियो। यस्तै नेपाल मजदुर किसान पार्टीले एउटा नगरपालिकामा प्रमुख र उपप्रमुख जितेको थियो। नेपाली कांग्रेसले एउटा नगरपालिकामा उपप्रमुख जितेको थियो। यस हिसाबले एमालेका पाँच, नेपाल मजदुर किसान पार्टीका  दुई र नेपाली कांग्रेसका एक मतदाता भए।

उम्मेदवारी दर्ताका लागि समर्थक र प्रस्तावक एक/एकजना चाहिने तर कांग्रेससँग त्यो संख्या नभएकाले उसले उम्मेदवार उठाउन पाएन। यसकारण एमाले र नेपाल मजदुर किसान पार्टीबीच मात्रै प्रतिस्पर्धा भयो। नेपाल मजदुर किसान पार्टीबाट प्रमुखमा कमला भारती गिरी र उपप्रमुखमा हरिरत्न गोर्खाली उम्मेदवार  थिए। नेपाल मजदुर किसान पार्टी पनि एमालेजस्तै पूरै पदमा प्यानलसहित निर्वाचनमा उत्रेको थियो।  

प्रकाशित: २३ श्रावण २०७४ ०२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App