१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पैसाको 'धाक' दिँदा छोराको अपहरण

काठमाडौं- विजय चौधरी, राजु विश्वकर्मा र राजु मगर बाल्यकालदेखिका साथी थिए। हार्डवेयर पसल चलाउँदा चौधरीको आर्थिक अवस्था राम्रो भयो। अर्का साथी मगर उनकै हार्डवेयरमा काम गर्थेे। विश्वकर्मा मार्बलसम्बन्धी काम गर्थे।

बाल्यकालदेखिका साथी भएकाले चौधरीले यी दुवैसँग आर्थिक अवस्थाबारे कुराकानी गरिरहन्थे। यस बीचमा उनले काठमाडौंमा घडेरी पनि जोडेका थिए। साथीहरूसँगको कुराकानीमा ‘बैंकमा १५ लाख रुपैयाँ छ, चाहियो भने एक करोड सजिलै निकाल्छु’ भन्थे उनले।

साथीको छोरा अपहरण गरेर पैसा कमाउने योजनाले प्रहरी खोरमा पुर्‍यायो राजु विश्वकर्मालाई।

मगर इमानदार थिए तर विश्वकर्मा धूर्त। सँगै हुर्किएको साथी आर्थिक रुपमा बलियो भए पनि आफ्नो अवस्था कमजोर भएकोमा उनी भित्रभित्रै आरिस गर्थे। २ श्रीमती भएकाले परिवारको दैनिकी चलाउन हम्मे नै थियो उनलाई।

पैसा अभाव हुँदा विश्वकर्मा चौधरीले भनेको ‘चाहियो भने एक करोड सजिलै निकाल्न सक्छु’ कुरा सम्भि्कहाल्थे। त्यही भनाइ सम्झेर विश्वकर्माले आफ्नो आर्थिक अभाव हटाउन चौधरीलाई नै हतियार बनाउने योजना बनाए। जुन योजनाले उनलाई शनिबार महानगरीय प्रहरी अपराध महाशाखाको हिरासतमा पुर्‍यायो।

विश्वकर्मा उनै हुन् जसले चौधरीसँग ५० लाख रुपैयाँ असुल्ने योजना बनाएर उनका पाँच वर्षीय छोरा विशालको अपहरणको योजना बनाए। यही आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। विश्वकर्मासँगै प्रहरीले सहयोगीको आरोपमा विष्णु पाण्डेलाई समेत पक्राउ गरेको छ। ‘चौधरी र पाण्डे मिलेर बालक विशालको अपहरण गरेको खुलेपछि उनीहरूलाई गाईघाटमा पक्राउ गरेर ल्याएका हौं,’ महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले भने, ‘चौधरीसँग पैसा असुल्न उनीहरूले अपहरण गरेको खुलेको छ।’

अघिल्लो साताको बिहीबार पकनाजोलस्थित शान्ति शिक्षा माध्यमिक विद्यालयबाट घर फर्कने क्रममा विशाल हराएका थिए। विद्यालयमा पढाइ सकिएपछि घर फर्कने क्रममा उनी कसैले चलाएको मोटरसाइकलमा चढेका थिए तर घर पुगेनन्। विद्यालयको क्लोज सर्किट टेलिभिजन दृश्यमा विशाल खुसीसाथ मोटरसाइकल चढेकाले परिचितसँगै गएको भन्दै प्रहरीले शुक्रबारसम्म  हराएको हुनसक्ने भन्दै अनुसन्धान त्यतै केन्द्रित गरेको थियो।

तेस्रो दिन अघिल्लो शनिबार जब चौधरीलाई छोराको मुक्तिका लागि ५० लाख रुपैयाँ फिरौती माग्दै फोन आयो तब बालक अपहरणमा परेको पुष्टि भएपछि अनुसन्धानमा महाशाखाको टोली जोडिएको थियो। महाशाखा अनुसन्धानमै रहँदा गत सोमबार बिहान काँडाघारीको सडकमा विशाल फेला परेका थिए।

विशाल अपहरणमा परेको दिनदेखि शनिबारसम्म विश्वकर्मा चौधरीसँगै थिए। उनी अघिल्लो शनिबार बेलुकादेखि चौधरीको डेरामा आउन छाडेका थिए। अमात्यका अनुसार घटना प्रकृतिले अपहरणमा चौधरी निकट नै संलग्न रहेको देखिएपछि प्रहरीले उनका निकटलाई नै शंकाको दायरामा राखेको थियो। त्यसमा मगर र विश्वकर्मा पनि थिए। यसअघि प्रहरीले मगरलाई नियन्त्रणमा लिएको थियो तर विश्वकर्मा बाहिरै थिए।

लापरबाही गरेको भन्दै विद्यालयका अधिकारीसँग छलफल गर्न जाँदा होस् या प्रहरी कार्यालयमा अनुसन्धानको प्रगतिबारे बुझ्न जाँदा होस् विश्वकर्मा  चौधरीसँगै हुन्थे। चौधरीले विश्वकर्मा अति विश्वासिलो साथी भएको र श्रीमतीलाई भन्दा बढी विश्वास गर्ने बताएकाले शंकाको दायरामा रहे पनि प्रहरी उनीप्रति नरमै थियो।

शनिबार फिरौती माग्न प्रयोग भएको मोबाइल नम्बर, विश्वकर्माको गतिविधिले उनीप्रतिको शंका भने कसिलो बन्दै गएको थियो। जब बालक सोमबार अपहरणमुक्त भए त्यसपछि प्रहरीको अनुसन्धान पूरै विश्वकर्मा केन्द्रित भयो। तर त्यो बेलासम्म उनी फरार भइसकेका थिए।

कामको लोभमा अपहरणको मतियार

रामेछापका पाण्डे विश्वकर्माका मिल्ने साथी थिए। उनी गाउँमै बस्थे। काठमाडौंमा रहेका विश्वकर्मासँग फोनमा कुरा हुँदा उनले आफूलाई पनि काम खोजिदिन आग्रह गर्थे। साउन पहिलो साता विश्वकर्माले उनलाई काठमाडौं बोलाए।

पाण्डे काठमाडौं आउँदा विश्वकर्माले पैसा कमाउने योजना बनाइसकेका थिए आफ्नै साथीको छोराको अपहरण गरेर। उनले पाण्डेलाई योजना सुनाए। १५ लाख रुपैयाँसम्म सजिलै आउँछ भन्दै उनले पैसा आधाआधा बाड्ने लोभ देखाउँदै पाण्डेलाई अपहरणमा संलग्न हुन राजी गराए।

सहयोगी पाएसँगै उनले अपहरणको योजना अघि बढाउन सुरु गरे। प्रायः दिन बिराएर विश्वकर्मा चौधरीको कोठामा गइरहन्थे। बालकलाई कोठाबाट अपहरण गर्न सम्भव नदेखेपछि उनले विद्यालयबाट फर्कंदा योजना फत्ते गर्ने चाल चले।

आफ्नो कोठामा लैजाँदा परिवारले चिन्ने भएकाले अपहरणपछि बालकलाई राख्न गोठाटारमा रहेको पाण्डेकी बहिनीको डेरामा लैजाने योजना बनाए उनले। फिरौती माग्न मोबाइलको सिम कार्ड जम्मा पारे। बालकलाई उठाउन चाहिने मोटरसाइकल हाम्रोबजारडटकमबाट भाडामा लिए।

बहिनीको कोठामा बन्धक

विशाललाई विद्यालयमा लिन कहिले चौधरी कहिले उनकी श्रीमती त कहिले पसलका सहयोगी मगर जान्थे। तीन बजे विद्यालय छुट्थ्यो। अपहरणको दिन बिहीबार विश्वकर्मा र पाण्डे तीन नबज्दै विद्यालयको गेट नजिक गएर बसे। जब विशाल गेटबाट बाहिर निस्किए विश्वकर्माले बोलाए।

मोटरसाइकल देखेर विशाल पनि दंग परे र चढे। मोटरसाइकल विश्वकर्माले हाँके। विशाल बीचमा  र  उनको पछाडि पाण्डे बसे। नयाँबजारतिर जानुपर्ने मोटरसाइकल अन्तै मोडियो। सोह्रखुट्टे, दरबारमार्ग, कमलपोखरी हुँदै मोटरसाइकल  मित्रपार्क पुग्यो। मित्रपार्कको ओरालोबाट गौरीघाट झरेर बागमती खोला किनारको बाटो हुँदै मोटरसाइकल गोठाटार पुग्यो।

‘पाण्डेका ज्वाइँ बाहिर गएका थिए। डेरामा बहिनी र सानी भान्जी मात्रै थिए। उनले विशालाई 'साथीको छोरा हो, बाबुआमा दुवै घर बाहिर भएकाले केही दिन यहाँ राख्न ल्याएको' भनेर बहिनीसँग भनेको अनुसन्धानमा संलग्न महाशाखाका डिएसपी अजय केसीले बताए।

यता छोरा लिन विद्यालय पुगेका चौधरी रित्तै घर फर्किए। यो बीचमा विश्वकर्मा विशाललाई राख्ने बन्दोबस्त मिलाएर गोठाटारबाट पकनाजोल फर्किसकेका थिए।

छोरा हराएर आत्तिएको साथी चौधरीलाई ढाडस दिँदै विश्वकर्माले विद्यालय गएर आगो लगाइदिन्छु भन्दै कर्मचारीलाई धम्क्याए। छोरा हराएको पीडाले चौधरी ढलेपछि उनैले क्षेत्रपाटी अस्पताल पुर्‍याएर उपचार गराएर डेरामा ल्याएका थिए।

विश्वकर्मा विशाललाई राखेको कोठामा बेलाबेलामा जान्थे। नयाँ कपडा पनि किनेर लगिदिए। चाउचाउ र बिस्कुट दिन्थे।  विशाललाई राखेको कोठामा सानी नानी थिइन्, बुनु। विशाल बुनुसँग खेलेर दिन बिताउँथे। यता प्रहरी बालक हराएको हो कि अपहरणमा परेको हो अन्योलमै थियो।

फिरौती रकमका लागि फोन गर्न विश्वकर्माले आफन्तको सिम कार्ड प्रयोग गरेका। त्यही सिम प्रयोग गरेर अघिल्लो शनिबार पाण्डेले चौधरीलाई फोन गरेर 'छोरा ज्युँदै चाहिने हो भने ५० लाख रुपैयाँ दिनु' भनेपछि विशाल हराएको नभई अपहरणमा परेको खुलेपछि प्रहरी बढी सक्रिय भयो। महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेले गरिरहेको अनुसन्धान अपराध महाशाखाले लियो।

'बालक अपहरणमा आफन्त संलग्न रहेकोमा शंका थिएन। तर बालक मुक्त नगरी शंका लागेकालाई पक्राउ गर्दा जोखिम बढ्ने भएकाले मुक्त गर्नेतर्फ केन्द्रित भयौं,' महाशाखा प्रमुख अमात्यले भने, 'बालक अपहरणमुक्त भएपछि अपहरणकारीको खोजीलाई तीव्र बनाउँदा सहयोगीसहित विश्वकर्मा फेला परे।'

आफन्त समातिएपछि आत्तिए

विश्वकर्मा चौधरीलाई भेट्न आउन छाडेपछि प्रहरीले उनका आफन्तको खोजी गर्दै दिदी र भान्जालाई नियन्त्रणमा लियो। त्यसपछि विश्वकर्मा अलि डराए।  विशालले पनि घर लगिदिन कर गरिरहेका थिए।

प्रहरी अधिकारीका अनुसार विश्वकर्मा जसरी पनि फिरौती लिने योजनामा थिए। आफू त फसिसकेका थिए। बहिनीको डेरामा विशाललाई राखेकाले बहिनी पनि फस्लिन् भनेर उनले बालकलाई छाड्ने योजना बनाए।

प्रहरीका अनुसार उनले चौधरीलाई फोन गरेर झुक्किएर विशालको अपहरण भएको भनेर छाड्दा प्रहरीले नखोज्ने र आफू पनि जोगिने बताएपछि पाण्डे पनि  सहमत भए। सहमतिअनुसार सोमबार बिहान उनले बालकलाई काँडाघारीको सडकमा ल्याएर छाडिदिए।

एकाबिहानै सडकमा अलमल्ल परेर बसेको बालक देखेर नजिकैको पसलका व्यक्तिले विशालसँग परिवारबारे सोधखोज गरे। उनलाई बुबाको नम्बर कन्ठ थियो। पसलेले चौधरीलाई फोन गरेर छोराबारे जानकारी दिए। चौधरीले प्रहरीलाई बताए। महाशाखाको टोलीले विशालको उद्धार गर्‍यो।

बालक अपहरणमुक्त भएपछि विश्वकर्माको खोजीलाई प्रहरीले थप तीव्रता दियो। पाण्डे र विश्वकर्मा दुवैजना भाग्दै वीरगञ्ज पुगिसकेका थिए। तर सीमा काटेनन्। प्रहरीले जालो बिछ्याउँदै उनीहरूको अनुगमन गरिरहेको थियो। शुक्रबार दुबै जना गाइघाट पुगेका थिए। स्थानीय प्रहरीले उनीहरूलाई पक्राउ गर्‍यो। अनुसन्धानमा पाण्डेकी बहिनीलाई अपहरणबारे जानकारी नभएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेन।

विश्वकर्मा र पाण्डेलाई अपहरण तथा शरीर बन्धक आरोपमा हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको एसएसपी अमात्यले जानकारी दिए।

प्रकाशित: २२ श्रावण २०७४ ०२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App