१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

खाल्डोमा डुबेर चार बालिकाको मृत्यु, सडक डिभिजन र ठेकेदार 'दोषी'

रौतहट- छिमेकी रामएकबाल साहको घरमा भैंसी ब्याएपछि गरुडा नगरपालिका–४, गरुडा टोलका योगेन्द्र साहकी छोरी सुनैनाकुमारी (९) दौडेर त्यता गइन्। उनका साथीहरू सुनिताकुमारी (९) र संगीता (१२) भैंसीलाई घाँस काट्न जाने तयारीमा थिए। सुनिताकुमारी र संगीता रामएकबालका छोरीहरू हुन्।

 भैंसी ब्याएपछि दूध खान पाइने भयो भन्ने खुसीले उनीहरू घाँस काट्न गए। सुनैना पनि उनीहरूसँगै गइन्। पछि सुनैनाका काका प्रेमनारायणकी छोरी सुस्मिताकुमारी (९) पनि 'साथी' बनिन्।

शनिबारको दिन भएकाले विद्यालय छुट्टी थियो। सधैं असाध्य मिलेर खेल्ने चारैजना बालिका घाँस लिन भन्दै हिँडेपछि कसैले पनि रोकटोक गरेन।  मध्याह्न १२ बजे घरबाट निस्केका उनीहरू घरभन्दा करिब ३ सय मिटर उत्तरतर्फ रहेको उखुबारीमा घाँस काट्न गए।

केही बेरमा अत्यधिक गर्मी भयो। उनीहरूले गरुडा इलाका प्रहरी कार्यालयदेखि खानेपानीसम्म जोड्ने सडकको छेउमा पानी जमेको खाल्डोमा नुहाएपछि फर्केर घाँस काट्ने विचार गरे। सडक बनाउँदा खनेर छाडिएको त्यही खाल्डो उनीहरूका लागि 'ज्यानमारा' बन्यो। तीन दिनको अविरल वर्षापछि भरिएको खाल्डोमा कति पानी छ भन्ने अन्दाज उनीहरूलाई भएन।

सडकको डिलबाट खाल्डोको पानीमा छ्वाम्म छ्वाम्म एक–एक गरी हाम फाल्दै गए, करिब १० फिट पानी भरिएको खाल्डोबाट उनीहरू निस्कन सकेनन्। उनीहरू आत्तिए, गुहार मागे। अलि पर रहेका स्थानीय बालकुमार साहका आठ वर्षीय छोरा सनोज साहले खाल्डोको पानीमा छट्पटाउँदै चिच्याएको आवाज सुनेपछि दौडेर घर गई खबर सुनाए।

 केही बेरमा स्थानीय र प्रहरीले उनीहरूलाई खाल्डोबाट बाहिर त निकाले, तर, सुनैनाकुमारी, सुनिताकुमारी, संगीता र सुस्मिताकुमारी गरी चारैजना बालिकाको प्राण गइसकेको थियो।  घटनास्थल इलाका प्रहरी कार्यालय, गरुडाबाट करिब सय मिटर पूर्वमा पर्छ। मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको छ।

सडक डिभिजन र ठेकेदार 'दोषी'

सडक डिभिजन कार्यालय र ठेकेदारको लापरवाहीले चार बालिको ज्यान गएपछि स्थानीय आक्रोशित छन्। विभागले सडक बनाउन ठेकेदारलाई ठेक्का दिने तर कसरी काम भएको छ भनी 'फ्लोअप' नगरेकाले दुःखद घटना भएको उनीहरूको आरोप छ।  ठेकेदारले सडक बनाउँदा दायाँ–बायाँ गहिरो खाल्डो खनेर छाड्ने र विभागले पुर्न ताकेता नगर्दा जिल्लामा यस्ता घटना हुने गरेका छन्।

गत जेठ अन्तिम साता ठेक्का पाएको दुर्गा निर्माण सेवा गौरले सडक बनाउने क्रममा दायाँ–बायाँछेउका खेतबाट माटो निकाल्दा १० फिटभन्दा गहिरा खाल्डा बनेका थिए। दुर्घटना हुनसक्ने भएकाले खाल्डा पुर्न आग्रह गरे पनि ठेकेदारले वास्ता नगरेको स्थानीय बताउँछन्। ती खाल्डामा पानी जमेपछि पोखरीजस्तो भएको थियो। 

घटनापछि सडक निर्माणको जिम्मा पाएको दुर्गा निर्माण सेवाका प्रोपाइटर प्रह्लाद साहलाई इलाका प्रहरी कार्यालय, गरुडाले बोलाएर सोधपुछ गरेको छ। सम्झौताअनुसारै सडकको दुवैछेउका खेतबाट माटो खनेर सडक निर्माण गरेको साहले बताए। 'खाल्डा पुर्ने काम मेरो होइन, मलाई त सडक बनाउन मात्र ठेक्का दिइएको हो,' उनले भने।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहापुरका प्रमुख सुमन योगेशले भने खनिएको खाल्डा पुर्ने जिम्मेवारी ठेकेदार वा जग्गाधनीको हुनुपर्ने जिकिर गरे। 'डिभिजन कार्यालयले सडक निर्माणको ठेक्का लगाउने बेलामा यहाँको माटोले सडक बनाउनुपर्छ भनेको हुँदैन, माटो झिकेको खाल्डा पुर्ने काम हाम्रो होइन। ठेकेदार पन्छिन मिल्दैन,' उनले भने।  स्थानीय राजेश्वर पाण्डे सरकारी लापरबाहीले यस्तो घटना भएकाले छानबिन गरी दोषीमाथि कारबाही गरी मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने बताउँछन्। 'एउटा पक्षले अर्को पक्षलाई दोष लगाएर पन्छिन् मिल्दैन, कसको लापरबाहीले खाल्डो पुरिएन भन्नेबारे निष्पक्ष अनुसन्धान हुनुपर्छ,' उनी भन्छन्।

चार बालिका खाल्डोमा डुबेर मृत्यु भएको घटनाप्रति सहरी विकासमन्त्री प्रभु साहले दुःख व्यक्त गरे। सडक विभागको लापरवाहीले भएको यस घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गरिने उनले बताए।

शोकमग्न गरुडाटोल

चार बालिकाको मृत्यु भएपछि गरुडाटोल शोकमा डुबेको छ। धेरैको घरमा रुवाबासी छाएको छ। मृतक सुनैनाकुमारीकी आमा मन्जुदेवी  बेहोस छिन्। रामएकबाल र प्रेमनारायणको परिवार पनि शोकमा डुबेको छ।  

इलाका प्रहरी कार्यालय गरुडाले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। जिल्ला प्रशासन कार्यालय, रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले घटनाको गहन छानबिन गर्न निर्देशन दिएका छन्।

प्रजिअ थापा, जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरी, रौतहटका प्रमुख भगवान मल्ल र राष्ट्रिय अनुसन्धान, रौतहटका प्रमुख नवीन अधिकारीले घटनास्थल निरीक्षण गरे। साउनयता डुबेर एघार बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृत्यु हुनेमा पाँच बालक र छ बालिका छन्।

प्रकाशित: २२ श्रावण २०७४ ०२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App