१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

विराटनगर महानगरका मेयर मतदातासँग ‘पारिवारिक सम्बन्ध’

दबाब, प्रभाव र लोभमा राजनीतिकर्मीले कहीँकतै ‘चुक’ गरेकै हुन्छन् । चुनावका बेला राजनीतिकर्मीका तिनै ‘कमजोरी’लाई प्रतिद्वन्द्विले हतियार बनाउँछन् । उसविरुद्ध प्रचारबाजी गर्छन्, आफूतिर मतदाता आकर्षित गर्छन् । यसपालाको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका भीम पराजुलीलाई पराजित गर्न यस्तै हत्कण्डाको निकै खोजी भयो ।
मतदाता र पार्टीभित्र सादगी स्वभावका पराजुलीविरुद्ध विपक्षीले एउटा खराबी पत्ता लगाइछाडे । प्रसङ्ग थियो, दुई वर्ष अगाडिको । जिल्ला प्रशासन कार्यालय, मोरङमा कामविशेषले गएका एक जना सेवाग्राहीको काममा अनावश्यक ढिलाइ हुँदा त्यसको गुनासो पराजुलीसम्म आइपुग्यो । पराजुलीले सँगै रहेका पार्टीकै केही युवासहित जिल्ला प्रशासन कार्यालय पुगे । ती सेवाग्राहीको काम गर्न कर्मचारीलाई दबाब दिए । कर्मचारीले नटरेपछि पराजुलीले जिल्ला प्रशासन कार्यालयकै परिसरमा नाराबाजी गरे । अनि, उनलाई प्रहरी लगाएर गेटबाहिर निकालियो ।
‘चुनावका बेला हरेक हत्कण्डा अपनाउनुपर्छ,’ पराजुलीको कमजोरी खोज्न खटिएका विपक्षका एक नेताले भने, ‘धेरै प्रयास गर्यौं, जिल्ला प्रशासनको यो एउटा काण्डबाहेक अरु केही फेला पार्न सकिएन ।’ हँसिलो अनुहार र नागरिकको कामप्रति जहिल्यै दत्तचित भएर लाग्ने उनै पराजुली नेपालकै कान्छो महानगर विराटनगरको मेयरमा विजयी भएका छन् । राजनीति र आर्थिक विरासत थामेको विराटनगरमा कांग्रेसको कोइराला परिवारको लिगेसी पनि जोडिएको छ ।
स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकालाई सबै राजनीति दलले आफ्नो प्रतिष्ठासँग जोडेर हेरेका थिए । त्यही भएर होला, चुनावका बेला सबै दलका शीर्ष नेताले यहाँ विशेष समय दिएका थिए । ‘मर्दापर्दा’ भीम पराजुली पुगेकै हुन्छन् । विवाह, ब्रतबन्ध, भजनकीर्तन, महायज्ञ लगायतका कुनै पनि सामाजिक कार्यक्रममा उनको उपस्थिति अनिवार्य रुपमा हुन्छ ।
‘समाजमा पराजुलीको छवि सेवकजस्तै छ,’ कांग्रेसका पुराना नेता पीताम्बर दाहालले भने, ‘उनले विराटनगरमा एउटा परिवारजस्तै सम्बन्ध स्थापित गरेका छन्, त्यसैको फाइदा हो, उनी लोकप्रिय मत ल्याएर मेयरमा जिते ।’ महेन्द्र मोरङ क्याम्पसमा अध्ययन गरेदेखि नै राजनीतिमा चासो राखेका पराजुली ‘विद्रोही’ स्वभावका पनि हुन् । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उनलाई नेपाल विद्यार्थी संघले सभापतिको टिकट नदिँदा बागी बनेर पनि चुनाव जितेका थिए ।
विराटनगर महानगरपालिका भएपछि कांग्रेसबाट मेयरको आकांक्षा राख्ने ‘हेभिवेट’ नेताको ताँती नै थियो । कांग्रेसका पूर्व मोरङ सभापति एवं सांसद अमृत अर्याल, केन्द्रीय सदस्य डिला संग्रौला, विश्वनाथ रिजाल, अरुण गुप्ता, नागेश कोइराला, फूलकुमार लालवानी लगायतका हेभिवेटका अगाडि पराजुलीको कद सानो नै थियो । ‘टिकट नपाए पराजुली बागी उम्मेदवार हुन्छन्’ भन्ने चर्चा पनि नचलेको होइन् तर उनी बागी उम्मेदवार नहुने, बरु टिकटका लागि आफ्नो दाबी प्रस्तुत गरिरहे । ‘कोइराला निवास’का विश्वास पात्र पराजुलीको पक्षमा भने यहाँका युवाको ठूलो सहयोग र साथ देखिन्थ्यो ।
वि.सं. २०३१ साल चैत २० गते विराटनगरको कञ्चनबारीमा जन्मिएका पराजुली आफ्नो राजनीति यात्रामा विराटनगरभन्दा पर सोचेनन् र पदीय लोभ पनि गरेनन् । दुई पटक कांग्रेसको नगर सभापति भएका पराजुली आफ्नो भएभरको शक्ति र समय विराटनगरमै खर्च गरे । ‘मैले चाहेको भए पार्टीको अन्य पद र क्षेत्रमा पनि काम गर्न सक्थेँ,’ पराजुलीले भने, ‘तर मलाई विराटनगरका जनता र यहाँको विकासप्रेमले नै बाँधिरह्यो ।’ धार्मिक स्वभावका पराजुलीको व्यक्तिगत जीवन पनि ‘सादा जीवन, उच्च विचार’ जस्तै छ । उनी शाकाहारी हुन् । धर्मकर्म भनेपछि हुरुक्कै हुन्छन् ।
मेयरको टिकट पाएयता उनले गरेका हरेक काममा ‘ज्योतिषी’ले भनेको समयलाई नै पालना गरे । अरु दलका उम्मेदवार तामझामसहित मनोनयन दर्ता गराए तर पराजुली ज्योतिषीले दिएको समयमा मनोनयन दर्ता गराउन सुटुक्क एक्लै पुगे । मत पनि ज्योतिषीले भनेकै समयमा हाले ।
मध्यम वर्गीय परिवारमा जन्मिएका पराजुलीका ५ दाजुभाइ र ४ दिदीबहिनी छन् । ५ जना दाजुभाइमध्ये पराजुली कान्छा हुन् । पोखरिया माविबाट प्राथमिक तहको शिक्षा पूरा गरेका पराजुलीले विराटनगरको जनता माविबाट माध्यामिक तह र महेन्द्रमोरङ क्याम्पस विराटनगरबाट व्यवस्थापन संकायमा स्नातक तह उत्तीर्ण गरे । वि.सं. २०५० सालमा नेवि संघ क्याम्पस इकाई सदस्य बनेका पराजुली इकाई सचिव हु“दै उपसभापतिसम्म भए । वि.सं. २०५५ सालमा महेन्द्र मोरङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव जितेका पराजुली २०५६ मा कोषाध्यक्ष र २०५९ सालमा सचिव बने । वि.सं. २०६१ को स्ववियु निर्वाचनमा महेन्द्र मोरङ क्याम्पसको सभापति पदमा पार्टीले टिकट नदिएपछि पराजुलीले बागी उम्मेदवारी दिएर विजयी भए ।
महेन्द्र मोरङ क्याम्पसमा ५ वर्ष  स्वातन्त्र विद्यार्थी युनियनको नेतृत्व गरेका पराजुली विद्यार्थीमाझ निक्कै लोकप्रिय बने । वि.सं. २०६७ सालमा नेपाली कांग्रेस विराटनगर उपमहानगरपालिका नगर सभापतिमा विजयी भए । २०७३ को नगर अधिवेशनबाट पराजुली पुनः दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भए । नगर समितिको दुई पटक सभापति हु“दा पराजुलीले नगरबासीको मन छुने काम गरेर नगरमा राम्रो युवा नेताका रुपमा स्थापित भए । पराजुली आदर्श स्कुल व्यवस्थापन समितिका अध्यक्ष, पोखरिया सहकारी संस्था, त्रिवेणी वाचनालय, पूर्वाञ्चल अन्तरधार्मिक परिषद्, क्रिकेट संघ क्षेत्र नम्बर १ लगायत २४ वटा संस्थाका अध्यक्ष छन् । नेपाल विद्यालय फुटबल संघका केन्द्रीय उपाध्यक्ष पनि हुन् ।
विकासका अजेन्डा
विराटनगर महानगरपालिकाको मेयरमा निर्वाचित भएस“गै पराजुलीले विराटनगरमा धेरै वर्षदेखि नगरबासीले पाउ“दै आएको हिलो र धुलोको सास्ती तत्कालै हटाउने घोषणा गरेका छन् । उनले एक सय दिनभित्रै नगरबासीले महसुस गर्ने गरी विकासका काम अघि बढाउने बताए । विराटनगरका सडक खाल्डारहित बनाउने, फोहोरमैला व्यवस्थापन, पानी जम्ने समस्याको अन्त्य गर्ने उनको पहिलो अजेन्डा हो ।
भ्रष्टाचारमुक्त विराटनगर, सुशासन र पारदर्शी उनको मूल ध्येय हो । पराजुलीले विराटनगरमा विद्युत र खानेपानीमा देखिएको समस्या पनि पहिलो चरणमै समाधान गर्ने प्रस्ट पारे । पराजुलीले यस वर्षको दसैँसम्ममा नगरबासीले विकासको महसुस गर्न पाउने बताए ।

 

प्रकाशित: २१ श्रावण २०७४ ०७:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App