१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संशोधन विधेयक स्वीकारेर चुनावमा जान दबाब

काठमाडौं- राजपा पदाधिकारीहरूले संविधान सशोधन विधेयकलाई स्वीकार गरेर स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा भाग लिन पार्टी नेतृत्वलाई दबाब दिएका छन्।

पार्टी पदाधिकारीको बिहीबार बसेको  बैठकमा सहभागी अधिकांश नेताहरूले संशोधन विधेयक पास भएमात्र चुनावमा जाने पार्टीको आधिकारिक लाइन सच्याउन नेतृत्वलाई सुझाव दिएका छन्। संशोधन विधेयक फेल भए पनि त्यसलाई स्वीकार गर्नुपर्ने उनीहरूको भनाइ थियो।

पार्टीको केन्द्रीय नीति भने संविधान संशोधन नभए पार्टी चुनावमा नजाने भन्ने नै छ।

बैठकमा राजपा उपाध्यक्ष मृगेन्द्रकुमार सिंहले राजपा स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा जानुपर्ने धारणा राखे। 'हामी चुनावमा गएनौं भने पनि चुनाव बिथोल्न सक्दैनांै । चुनाव बिथोल्न नसक्ने भएपछि चुनावमा जानु उपयुक्त हुन्छ,' बैठकमा सिंहको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। उनले संशोधन विधेयकलाई स्वीकार गरेर पार्टी चुनावमा जानुपर्ने सुझाव दिएका थिए। बैठकमा अर्का उपाध्यक्ष अजय गुप्ताले पनि तेस्रो चरणको स्थानीय तह निर्वाचनमा पार्टी सहभागी हुनुपर्ने सुुझाव राखे। 'यसपटक हामी चुनावा गएनौं भने आगामी पाँच वर्षसम्म हामीबाट स्थानीय तह गुम्छ। त्यो स्थिति  आउन नदिन पार्टी चुनावमा जान उपयुक्त हुन्छ', उनले बैठकमा भनेका थिए।

नेतृ नीलम बर्माले पनि राजपा चुनावमा जानुपर्ने धारणा राखिन्। चुनावमा नगए पार्टी  संगठन कमजोर हुने उनको भनाइ थियो। बैठकमा ३१ जना पदाधिकारीले बोलेका थिए। केही नेताहरूले संविधान संशोधन विधेयक  तत्काल अगाडि बढाउन पार्टीले सरकारलाई दबाब दिनुपर्ने सुझाव दिएका थिए। बैठक शुक्रबार पनि बस्नेछ।

आगामी साउन २२ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनबारे छलफल गर्न राजपा पदाधिकारीको बैठक बसेको हो।

असन्तुष्ट पक्षसँगको वार्ता विफल

पदाधिकारी बैठकमा सहभागी गराउन अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले राजपाका असन्तुष्ट नेतासँग बिहीबार बिहान गरेको वार्ता विफल भएको छ। ठाकुरले नेता हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ल, बृज्रेशकुमार गुप्ता, कमलेश्वर गोस्वामीलगायतका नेताहरूसँग वार्ता गरेका थिए। तर असन्तुष्ट नेताहरूसँगको वार्ता सफल हुन नसकेको स्रोतको भनाइ छ।

असन्तष्ट नेताहरूले पार्टीको आन्तरिक संगठन व्यवस्थापन गर्न माग राखेका छन्। वार्ता विफल भएपछि बिहीबार पनि असन्तुष्ट नेताहरू नयाँ पार्टी कार्यालय गएका छैनन। नेता बृ्रजेशकुमार गुप्ताले पार्टीमा पदाधिकारी  नै नभएको दाबी गरे। 'पार्टीमा अध्यक्ष मण्डल मात्र छ। पदाधिकारी नभएपछि पदाधिकरी बैठकमा हामी कसरी जाने?' गुप्ताले नागरिकसँग भने। केन्द्रीय समिति बैठकमा भने आफूहरू जाने उनले बताए।

प्रकाशित: २० श्रावण २०७४ ०३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App