१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

साझा प्रकाशनमा अनियमितता : शर्मा लेखा समितिमा डाकिए

००

 

 

 

००

नागरिक संवाददाता

काठमाडौं, साउन १९

संसद्को सार्वजनिक लेखा समितिले साझा प्रकाशनमा भएको अनियमितताबारे छानबिन सुरु गरेको छ। साझामा भएको अनियमितताबारे छलफल गर्न शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र साझाका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई समितिले शुक्रबार बोलाएको छ।

साझा प्रकाशनमा भइरहेको अनियमितताबारे छानबिन गर्न शिक्षा मन्त्रालयले गठन गरेको समितिका सदस्य भोलानाथ पौडेललाई हटाएको छ। छानबिन समितिको सदस्य भएपछि पत्नीलाई साझामा जागिर लगाइदिएको समाचार सार्वजनिक भएपछि उनलाई हटाइएको हो।

'साझा प्रकाशनमा भइरहेको अनियमितताबारे छलफल गर्न हामीले शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र साझा प्रकाशनका महाप्रबन्धक शर्मालाई बोलाएका छौं,' लेखा समितिका सदस्य सांसद रामहरि खतिवडाले भने। 'भ्रष्ट मानिसलाई कारबाही नगरेर मन्त्रालयले के गरिरहेको होला?' खतिवडाले आश्चर्य व्यक्त गरे।

यसैबीच शिक्षा मन्त्रालयले साझाको अनियमितता छानबिन गर्न गठन गरेको तीन सदस्यीय समितिका लेखा अधिकृत भोलानाथ पौडेललाई समितिबाट हटाइएको छ। पौडेलले छानबिन समितिमा छनोट भएपछि पत्नी नवीना कोइरालालाई साझामा जागिर लगाएको समाचार नागरिकमा प्रकाशित भएपछि मन्त्रालयले उनलाई समिति सदस्यबाट हटाएको हो। कोइरालाले साउन १६ देखि साझामा नियुक्ति पाएकी थिइन्।

पौडेलको ठाउँमा मन्त्रालयकी लेखा अधिकृत सुनिता खनाललाई नियुक्त गरिएको शिक्षा सचिव श्रेष्ठले जानकारी दिए। छानबिन समितिमा मन्त्रालयका अनुगमन उपसचिव गणेश ढकाल, कानुन उपसचिव रेशम सिग्देल र खनाल छन्।

महाप्रबन्धक शर्माले गरेका अनियमिततासम्बन्धी अन्य प्रमाण पनि नागरिकले  फेला पारेको छ। शर्माले साझाका स्थायी अधिकारीलाई विभिन्न जिल्लामा सरुवा गरेर आफूले करारमा नियुक्त गरेका कर्मचारीलाई आर्थिकलगायतका सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गर्न पत्राचार गरेको पाइएको छ।

शर्माले गत असार २१ गते विभिन्न कर्मचारीका नाममा पत्र लेखी साउन १ देखि लागू हुने गरी कार्यालयको जिम्मेवारी आफूले नियुक्त गरेका करार कर्मचारीलाई सुम्पिन निर्देशन दिएका छन्। साझाको बुटवल शाखाका सुबोधकुमार झालाई ६ महिनापहिले करारमा नियुक्त गणेश बोहोरालाई सम्पूर्ण जिम्मेवारी दिएर दाङ शाखामा जान शर्माले निर्देशन दिएका छन्। बोहोराको करार सम्झौता एक महिना बाँकी छ। त्यस्तै शर्माले पोखरामा कार्यरत साझाका स्थायी कर्मचारी जितेन्द्र लावतीलाई नेपालगन्ज सरुवा गरेका छन्। उनलाई दिइएको पत्रमा कार्यालयको सम्पूर्ण जिम्मेवारी सहायक प्रथम नारायण बराललाई हस्तान्तरण गर्न निर्देशन गरिएको छ। बराललाई पनि शर्माले करारमा नियुक्त गरेका हुन्।

शर्माले नेपालगन्जमा कार्यरत चन्द्रकुमार लावतीलाई सम्पूर्ण जिम्मेवारी किरणप्रसाद गजुरेललाई हस्तान्तरण गर्न निर्देशन दिएर लावतीलाई बिर्तामोडमा सरुवा गरेका छन्। गजुरेल पनि केही समय पहिले शर्माले करारमा नियुक्त गरेका कर्मचारी हुन्। त्यस्तै  शर्माले स्वेच्छिक अवकाश पाएका नरेश श्रेष्ठलाई करारमा नियुक्त गरी धरान शाखामा खटाएका छन्।  शर्माले ६ महिनाका लागि सहायक प्रथम तहमा नियुक्त गरेका टेकबहादुर चन्दलाई धरानको सम्पूर्ण जिम्मेवारी दिएका छन्। नेपालगन्जमा सहायक दोस्रो तहकी मुन्नी बस्नेत हुँदाहुँदै करारका किरणप्रसाद गजुरेललाई शाखाको सम्पूर्ण जिम्मेवारी दिइएको छ।

शर्माले गत वर्ष स्वेच्छिक अवकाश पाएका मनोज माझीलाई पुनः करारमा नियुक्त गरी राजविराज शाखाको जिम्मेवारी दिएका छन्। यस विषयमा विस्तृत जानकारी लिन खोज्दा अध्यक्ष एवं महाप्रबन्धक शर्माले फोन उठाएनन्।

प्रकाशित: २० श्रावण २०७४ ०२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App