१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जग्गाको नक्कली नक्सा बनाएर बैंक ठगी

काठमाडौं- कम्पनी नै खोलेर नक्कली कागजपत्रका आधारमा बैंकलाई ठगी गरेको आरोपमा एकजना कर्मचारीसहित ६ जनालाई प्रहरीले पक्रेको छ। प्रहरीले हाल सिभिल बैंकमा गाभिएको पशुपति विकास बैंक केन्द्रीय कार्यालय बनेपा शाखाका तत्कालीन प्रमुख विनोद कार्कीसहित अन्य ६ जनालाई पक्रेको हो। पक्राउ पर्नेमा रामप्रसाद उप्रेती, रामकृष्ण राई, राजेन्द्र पाखि्रन, मधुसुजन खत्री, सुरेश सिलवाल र प्रतीक भडेल छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अनुसार समूहले ठगी प्रयोजनका लागि खोलेको ओमशान्ति इन्टरनेसनल बिजनेस प्रालिका नाममा भक्तपुर सिपाडोलमा खरिद गरेको जग्गाको नक्कली कागजपत्र बनाएर २०६५ पुस २९ गते पशुपति विकास बैंकबाट २० लाख पचास हजार रुपैयाँ ऋण लिएका थिए। सिआइबीका अनुसार ठगीमा संलग्न कार्कीबाहेक तत्कालीन कर्जा अधिकृत, राजेन्द्र पाखि्रन मूल्यांकनकर्ता र सुरेश सिलवाल लेखा परीक्षक हुन्। पक्राउ परेका मुख्य अभियुक्त कार्की हाल सिद्धार्थ विकास बैंकका प्रमुख बजार व्यवस्थापक हुन्।

यसरी भयो ठगी

समूहले बैंक ठगी गर्ने पूर्वयोजना अनुसार  ओमशान्ति इन्टरनेसनल बिजनेस प्रालि खोलेका थिए। सोही कम्पनीका नाममा २०६४ माघमा सञ्चालक रामप्रसाद उप्रेतीले अरनिको राजमार्गबाट १० किलोमिटरभित्र पचास हजारमा एक रोपनी जग्गा किनेर केही दिनपछि सो जग्गा अर्का सञ्चालक रामकृष्ण राईलाई चालीस हजारमा बेचिएको थियो। बैंकमा कर्जा लिनका लागि पर्याप्त थैली कायम भएको रजिस्ट्रेसन लिखत देखाउन ४० हजारमा कारोबार भएको जग्गालाई ३५  लाखमा खरिदबिक्री गरेको किर्ते रजिस्ट्रेसन लिखत तयार गरिएको थियो।

समूहले डाँडामा रहेको जग्गालाई असल र महँगो देखाउन अरनिकोबाट १० किलोमिटर टाढा रहेको जग्गालाई जगातीमा रहेको देखिने गरी किर्ते ब्लुप्रिन्ट सोको आधारमा ट्रेस नक्सा र गाविसको चार किल्ला सिफारिसपत्र समेत किर्ते बनाएका थिए।

यसपछि ठगीमा सुरुआतदेखि संलग्न मूल्यांकनकर्ता इन्जिनियर रानेन्द्र पाखि्रनले कागजातका आधारमा मूल्यांकन प्रमाणित गरेका थिए। यसपछि समूहका अर्का सदस्य सुरेश सिलवालले ओमशान्ति इन्टरनेसनल बिजनेस प्रालि नामको कम्पनीको अस्वाभाविक कारोबार देखिने गरी वास्तविक लेखापरीक्षक खेमप्रसाद श्रेष्ठ आइक्यान नम्बर ४३४ को नाम, नम्बर र छापमा किर्ते लेखापरीक्षण प्रतिवेदन तयार पारेको थियो। मिलेमतोमा बैंकका प्रवन्धक रहेका कार्की र भडेलले केही चेकजाँच नै नगरी कर्जा प्रवाह गरेका थिए।

'कर्जाको सावाँब्याज नतिरेपछि सिभिल बैंकले निकालेको लिलाममा सम्पूर्ण कागजपत्र नक्कली भएको पत्ता लागेको थियो, पक्राउ परेका दुईजना व्यावसायिक रुपमै ठगीमा संलग्न रहेको फेला परेको छ,' ब्युरोका एसपी दिवेश लोहनीले भने। उनका अनुसार पाखि्रन गोरखा विकास बैंक ठगी प्रकरणमा चार वर्ष ६ महिना कैद र ८० हजार जरिवानापछि फरार अभियुक्त हुन्। यस्तै, अर्का मधुसुजन खत्री महानगरीय प्रहरी परिसर काठमाडौंमा दर्ता रहेको अर्को ठगी मुद्दाका फरार प्रतिवादी हुन्।

काभ्रेमा किर्ते बारम्बार

सिआइबीले यस्तै प्रकृतिको अर्को एक घटनामा संलग्न दुई जनालाई गत भदौमा पक्रेको थियो। ग्लोबल आइएमई बैंक लिमिटेडले दिएको जाहेरीमा भोजबहादुर बुढाथोकी र रविभक्त सैंजुलाई कारबाही गरेको हो। दुवैले आपसी मिलेमतोमा बैंकबाट ६७ लाख ५० हजार रुपैयाँ ऋण लिएर ठगी गरेका थिए।

घटना विवरण अनुसार पञ्चशील फुड प्रालिका नाममा अध्यक्ष रहेका बुढाथोकी र सञ्चालक संैजुले अर्कै जग्गाको नापी कार्यालय काभ्रेको सरकारी छाप र दस्तखत किर्ते गरी नक्कली ब्लुप्रिन्ट तथा ट्रेस नक्सा तयार पारी बैंकलाई ठगी गरेका थिए। घटनामा बैंकले समेत सोही आधारमा ऋण दिएको थियो।

नापी विभागले हाल पुरानै नाम ब्लुप्रिन्ट भनिए पनि नयाँ नक्सा प्रविधिअनुसार सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको जनाएको छ। विभागका महानिर्देशक कृष्णराज बिसीले सम्बन्धित कर्मचारीबाट नभई किर्ते गर्ने गिरोहले यस्ता नक्कली नक्सा बनाउने गरेको दाबी गरे। 'कर्मचारीबाट किर्ते हुने सम्भावना अति न्यून छ, केही गिरोह यस्तै नक्सा बनाउने र मौका मिले असलीलाई विस्थापित गर्ने दाउमा रहेको पाएका छौं,' बिसीले भने। 

प्रकाशित: १० श्रावण २०७३ ०३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App