१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

निजी आवास अनुदान : ५३ अर्बको अख्तियारी

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदान वितरणका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई ५३ अर्ब रुपैयाँको अख्तियारी पठाएको छ।

भूकम्प प्रभावित जिल्लामा पहिलो, दोस्रो र तेस्रो किस्ताको रकम वितरणका लागि प्राधिकरणले बुधबार सो अख्तियारी पठाएको प्रवक्ता यमलाल भुसालले जानकारी दिए। 'लाभग्राहीलाई वितरण गर्ने रकम अभाव हुन नदिन स्थानीय विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (सिएलपिआइयू) लाई रकम पठाएका छौं,' प्रवक्ता भुसालले भने। लाभग्राहीलाई अनुदान वितरण सिएलपिआइयूले गर्दै आएको छ।

यो आव सुरु भएको १८ दिनपछि प्राधिकरणले पहिलोपटक निजी आवास अनुदान वितरणका लागि रकम पठाएको हो। नयाँ आव सुरु भएपछि प्राधिकरणले रकमको अख्तियारी दिन ढिलाइ गर्दा जिल्लामा अनुदान वितरणको काम रोकिएको थियो।

निजी आवास अनुदान वितरणलाई तीव्रता दिन सरोकारवाला निकायलाई निर्देशन दिइसकेको प्रवक्ता भुसालले बताए। 'प्राधिकरणले चालु आर्थिक वर्षको अन्त्यसम्ममा अनुदानको सबै रकम वितरण गर्ने कार्ययोजना बनाएको छ,' उनले भने। चालु आर्थिक वर्षभित्रमा निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने उद्देश्यले अनुदान वितरणका लागि समय सीमा निर्धारण गरिएको उनले बताए।

हालसम्म भूकम्प प्रभावित ३१ जिल्लामा अनुदान सम्झौता भएका कुल लाभग्राहीमध्ये ६ लाख तीन हजार ५३ ले अनुदानको पहिलो किस्ता बुझेका छन्। त्यस्तै, ५५ हजार सात सय ५४ ले दोस्रो र दुई हजार सात सय ९७ ले तेस्रो किस्ता बुझेका छन्। सर्वेक्षणबाट पहिचान भएका सात लाख २४ हजार आठ सय ९५ मध्ये ६ लाख ३१ हजार ८२ लाभग्राहीसँग अनुदान सम्झौता भएको थियो।

'पहिलो चरणमा भूकम्प अतिप्रभावित १४ जिल्लालाई प्राथमिकता दिएर अनुदान वितरण गरेका थियौं,' प्रवक्ता भुसालले भने, 'अहिले कम प्रभावित १७ जिल्लामा पनि अनुदान वितरणको काम तिव्ररुपमा भइरहेको छ।' प्राधिकरणको तथ्यांकअनुसार भूकम्प अति प्रभावित १४ जिल्लामा एक लाख १५ हजार ४९ लाभग्राहीले घर पुनर्निर्माण सुरु गरेका छन्। ४६ हजार पाँच सय ५५ घरको पुनर्निर्माण सम्पन्न भएको प्राधिकरणको तथ्यांक छ।

प्रकाशित: १९ श्रावण २०७४ ०४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App