१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नारायणग मुग्लिन सडकमा पहिरो, आज दिनभर यातायात प्रभावित हुने

चितवन- मुग्लिन नारायणगढ सडकमा हिजोदेखि नै आएको पहिरोका कारण आज दिनभर यातायात आवागमन ठप्प हुने सम्भावना छ। नारायणगढ मुग्लिन सडक आयोजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार साना ठुला पहिरो लगभग एक दर्जन जति आएका छन्। पानी परेका कारण सफा गर्न पनि गाह्रो भएको उनले बताए।

'पहिरोले हिजो राति एउटा बस र जीप पुर्‍यो। धन्न यात्रुहरुले भागेर ज्यान जोगाए। हिजोदेखि थप पहिरोहरु गएको छ। मुग्लिनको मुख्खैमा पहिरो छ। टोपेखोला नजिक पनि पहिरो छ। यता पाँच सात ठाउँमा पहिरो छ। उता घुमाउने गाइघाट क्षेत्रमा पनि त्यति नै पहिरो छ' खनालले भने। आजालाई यो सडक भएर यात्रा नगर्न उनले सुझाव दिएका छन्।

नारायणगढ मुग्लिन सडकमा बुधबार साँझ मात्रै पहिरो जाँदा एउटा यात्रु बस र एउटा जीप पुरिएको थियो। बस र जीपमा रहेका यात्रुहरु भने संयोगबश सकुशल रहेका छन्। चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार मुग्लिनदेखि तीन किलो मिटर पर साँझ सात बजेर ३५ मिनेट जाँदा ना ६ ख ७१२१ नम्बरको बस पहिरोमा परेको हो।

'अलि अलि ढुंगा आउँदै गर्दा बस रोकेर यात्रुहरु ह्वात हुत्तै बाहिर निस्केर भागे छन्। बसमा १८ जना यात्रु रहेछन्। बसबाट सवै झरेको चालकले मलाई जानकारी दिएका छन्' चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिपक थापाले जानकारी दिए। यात्रुहरु झरेपछि बसलाई पहिरोले पुरेको उनले बताए। बसको पछाडी रहेको एउटा स्कारसपयो जीप पनि पुरिएको छ।

जीपको नम्बर खुल्न सकेको छैन। त्यसमा रहेकाहरुलाई पनि केही चोट पटक नलागेको प्रहरीले जानकारी दिएको छ। विस्तारको काम हुँदै गरेको नारायणगढ मुग्लिन सडकमा पहिरोको उच्च जोखिम रहेको छ। पहिरोको जोखिम बढेपछि रातिमा गाडी चलाउन रोक लागेको छ। मुग्निबाट साँझ सात बजेभित्रै गाडीहरु पार हुनु पर्ने नियम छ।

समय सिमाभित्र पार भएको बस आउँदै गर्दा पहिरोमा परेको प्रहरीको भनाइ छ। बस काठमाडौंबाट काँकडभिट्टा जाँदै थियो। सन् २०१५ को अप्रिलमा सम्झौता गरेर दुई वर्षभित्र निर्माण सक्ने सर्तका साथ नारायणगढ मुग्लिन सडकको विस्तारको काम सुरु भएको थियो। तर समय सकिए पनि आधा काम मात्रै पुरा भएको छ।

सो सडक फराकिलो बनाउन ठाउँ ठाउँमा पहाड काटिएको छ। पहाड काटेको ठाउँमा पहिरो खसेर बेला बेलामा सताउने गरेको छ। नारायणगढ मुग्लिन सडक आयोजनाका अनुसार सडक विस्तारको काम सुरु भएयता १४१ वटा पहिरो गएको छ। जसमा पाँचजना यात्रुको निधन भएको छ। एकजना वेपत्ता र चारजना घाइते भएका छन्। २१ वटा गाडीमा क्षति पुगेको छ।

प्रकाशित: १९ श्रावण २०७४ ०४:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App