१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

यौन दुर्व्यवहार रोक्न सेफ्टीपिन अभियान

काठमाडौं- सार्वजनिक यातायातका साधनमा हुने यौन दुर्व्यवहार रोक्न प्रहरीले बुधबार नयाँ अभियान सुरु गरेको छ। अभियानको नाम 'सेफ्टीपिन' दिइएको छ। प्रहरीको अनुगमनमा सार्वजनिक यातायातका साधनमा यौन दुर्व्यवहार हुँदा महिलाले सुरक्षाका लागि सेफ्टीपिनले घोचेर पुरुषलाई भगाउने गरेको देखियो। यही आधारमा अभियानको नाम 'सेफ्टीपिन' राखिएको हो।

सार्वजनिक यातायातका साधनमा यौन दुर्व्यवहार हुँदा महिलाले सुरक्षाका लागि सेफ्टीपिनले घोचेर पुरुषलाई भगाउने गरेको देखियो। यही आधारमा अभियानको नाम 'सेफ्टीपिन' राखिएको हो।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी बमबहादुर भण्डारीका अनुसार सार्वजनिक यातायातका साधनमा हुने यौन दुर्व्यवहार रोक्ने अभियानको योजना बनाउँदा महिला तथा बालबालिका सेवा केन्द्रका प्रहरीले सेफ्टीपिन नाम दिएका थिए।

'अभियानको नाम सेफ्टीपिन राखेकोमा पहिला अनौठो लाग्यो,' भण्डारीले भने, 'केन्द्रका प्रहरीले महिलाले दुर्व्यवहारबाट जोगिन सेफ्टीपिनलाई हतियारका रुपमा प्रयोग गर्ने गरेको सु्नेपछि यही नाम राख्यौं।'

यातायात व्यवसायीसँगको सहकार्यमा बुधबारबाट सुरु भएको अभियान तीन महिनासम्म चल्नेछ। उनका अनुसार यौन दुर्व्यवहारमा संलग्नलाई पक्राउका लागि सार्वजनिक यातायातका साधनमा सादा पोसाकका प्रहरी खटिनेछन्। महिला तथा बालबालिका सेल र अन्य प्रहरी कार्यालयमा कार्यरत प्रहरीले दुर्व्यवहारमा संलग्नलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउने उनले जानकारी दिए।

'सादा पोसाकमा रहने प्रहरीले यस्ता घटनाबारे प्रमाण संकलन गरेर पक्राउ गरी कारबाहीको दायरामा ल्याउनेछन्,' भण्डारीले भने, 'यसका लागि विशेष टोली परिचालन भइसकेको छ।'

प्रहरीको तथ्यांकअनुसार हरेक वर्ष महिला तथा बालबालिकामाथि हुने अपराधको संख्या बढ्दो छ। २०७३–०७४ मा दुराचारसम्बन्धी आठ घटना प्रहरी कार्यालयमा आइपुगेका थिए। यौन दुर्व्यवहारका अधिकांश घटना प्रहरी कार्यालयसम्म आउँदैनन्।

प्रकाशित: १९ श्रावण २०७४ ०३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App