१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजपा पदाधिकारीको सुझाव : 'चुनावमा नगए पार्टी सिद्धिन्छ'

काठमाडौं- राजपाका अधिकांश पदाधिकारीले आगामी असोज २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी हुन पार्टी नेतृत्वलाई दबाब दिएका छन्।

साउन २२ गते बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन तयार गर्न सुझाव संकलन गर्ने उद्देश्यले बुधबार बसेको पदाधिकारी बैठकमा बोल्ने नेतामध्ये धेरैले  संविधान संशोधन प्रस्ताव पारित नभए पनि  चुनावमा जानुपर्ने बताएका हुन्।

पार्टी चुनावमा नगए कार्यकर्ताले धमाधम पार्टी छाड्ने र अन्त्यमा पार्टीमा नेतामात्रै रहने धारणा उनीहरूले राखे।

पार्टीको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको मस्यौदामा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन भए पार्टी चुनावमा जाने उल्लेख छ।

बैठकमा राजपा महासचिव श्रीमन्नारायण मिश्रले चुनावमा बलियो भएर जानका लागि पार्टी  एकीकरण भएको भन्दै चुनावमा जानु नै थिएन भने पार्टी एकीकरण किन भएको हो भन्ने प्रश्न गरे। उनले भने, 'चुनावमा नजाने हो भने पार्टी एकीकरणको अर्थ छैन।'

पार्टीका अर्का महासचिव जंगीलाल रायले तेस्रो चरणको चुनावमा सहभागी भए पार्टीले सर्लाहीमा मात्रै १० देखि १२ तहसम्म  सजिलै जित्ने बताए। 'हामीले यस्तो अवसर गुमाउनु हुँदैन,' उनले भने।

महासचिव केशव झाले चुनाव नजाँदा पार्टी कमजोर हुने र कमजोर पार्टीले सशक्त ढंगले मुद्दा उठान गर्न नसक्ने बताए।

यसैगरी राजपाका अर्का नेता सुरेन्द्र कटेलले पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टी सहभागी नभएर गम्भीर गल्ती गरेको बताए।  पार्टी चुनावमा नगए पार्टी संगठन थप कमजोर हुने उनले औंल्याए।

बैठकमा केही पदाधिकारीले भने संविधान संशोधन नभई चुनावमा जान नहुने सुझाव राखेका थिए। महासचिव कौशलेन्द्र मिश्रले संविधान संशोधन नभई चुनावमा नजाने पार्टीको अडान तेस्रो चराणको चुनावमा पनि कायम रहनुपर्ने बताए। पार्टीको  प्रतिष्ठा जोगाउन पनि पार्टी चुनावमा जान नहुने उनको भनाइ थियो।

असन्तुष्ट नेताद्वारा बैठक बहिष्कार

राजपाका असन्तुष्ट नेताहरू पदाधिकारी बैठकमा सहभागी भएनन्। हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ल, बृजेशकुमार गुप्ता, कमलेश्वर गोस्वामीलगायतका नेता बुधबार पार्टी बैठकमा सहभागी भएनन्। राजपा स्रोतका अनुसार उनीहरूले बैठकमा सहभागी नहुने विषयमा अध्यक्ष मण्डलका कुनै पनि सदस्यलाई जानकारी गराएका थिएनन्।

 पार्टी कार्यलयको बुधबारै भएको उद्घाटनमा पनि ती नेताहरू सहभागी भएनन्। स्रोतका अनुुसार बबरमहलमा रहेको पार्टी कार्यालयमा असन्तुष्ट नेताहरू टेकेका छैनन्। गत साउन १ गतेबाट बबरमहलमा राजपाको केन्द्रीय कार्यालय सञ्चालन भएको थियो।

असन्तुष्ट नेताहरूमध्ये शुक्ल, गुप्ता र पुरीले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा  पार्टीको सहभागी नभएकाले असन्तुष्ट छन् भने त्रिपाठीले पार्टीको निर्णय प्रक्रिया केही नेतामा सीमित भएको गुनासो व्यक्त गर्दै आएका छन्।

बुधबार बबरमहलमा अध्यक्ष मण्डलका सदस्यहरूले नयाँ पार्टी कार्यालयको उद्घाटन गरे। निजामती मधेसी कर्मचारी मञ्चको भवनमाा राजपाको केन्द्रीय कार्यालय सञ्चालन भएको हो। पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अस्थायी रूपमा पार्टी कार्यालय स्थापना भएको बताए।   

प्रकाशित: १९ श्रावण २०७४ ०३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App