१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

देशान्तरबारे आयोगको पत्रको आलोचना

काठमाडौं- निर्वाचन आयोगले देशान्तर साप्ताहिकका प्रधानसम्पादकलाई उपस्थित गराइदिन प्रेस काउन्सिलमा पठाएको पत्रका बारेमा आलोचना भएको छ। काउन्सिलका पूर्वअध्यक्ष राजेन्द्र दाहालले आयोगजस्तै काउन्सिल पनि स्वायत्त संस्था भएकाले पत्रिकाका प्रधानसम्पादक उपस्थित गराइदिन भनेर पत्र लेख्न नमिल्ने बताए। 'निर्वाचन आयोगले सम्पादकलाई उपस्थित गराइदिनु भनेर प्रेस काउन्सिललाई पत्र लेख्न मिल्दैन। काउन्सिल प्रहरी चौकी होइन, आयोगजस्तै स्वायत्त संस्था हो,' दाहालले टि्वट गर्दै भनेका छन्।

आयोगको सोमबार बसेको बैठकले काउन्सिललाई समाचारमा लेखिएको विषयको प्रमाणसहित तीन दिनभित्र देशान्तर साप्ताहिकका प्रधानसम्पादकलाई उपस्थित गराउने विषयमा पत्र लेख्ने निर्णय गरेको थियो।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जारी गरेको विज्ञप्तिमा '२०७४ साल साउन ८ र ऐ. १५ गते निर्वाचन आयोगलाई लक्षित गरी देशान्तर साप्ताहिक पत्रिकामा प्रकाशित दुराशययुक्त एवम् मिथ्या समाचारका विषयमा देशान्तर साप्ताहिक पत्रिकाका प्रधानसम्पादकलाई तथ्य प्रमाणसहित ३ (तीन) दिनभित्र निर्वाचन आयोगमा उपस्थित गराउन र आवश्यक कारबाही हुने प्रेस काउन्सिल नेपालमा लेखिपठाउने र सोको जानकारी सूचना तथा सञ्चार मन्त्रालयलाई समेत दिने' निर्णय गरेको उल्लेख छ। आयोगका प्रवक्ता शर्माले काउन्सिलमा पत्र पठाइसकेको बताए।

 देशान्तर साप्ताहिकका प्रधानसम्पादक कबिर राणाले निर्वाचन आयोगले गरेको निर्णय असवैधानिक र गैरकानुनी भएको प्रतिक्रिया दिएका छन्। 'आचारसंहिता उल्लंघन भएको भए उजुरी गरे काउन्सिलले हेर्छ र मानहानि भयो भने अदालतको विषय हो। समाचारको विषयमा दुवैबाट आउने चुनौतीको सामना गर्न तयार छु,' राणाले नागरिकसँग भने, 'आयोगका पदाधिकारीको नभई निर्वाचन आयोगले गरेको निर्णयका आधारमा समाचार लेखेको हो।'

प्रकाशित: १९ श्रावण २०७४ ०२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App