१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पेरिस र लस एन्जल्सबीच सहमति

लस एन्जल्स(एपी)– लस एन्जल्सले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) नेतृत्वसँग २०२४ को संस्करण आयोजनाको दाबीमा पेरिसलाई सघाउँदै आफूले २०२८ को ओलम्पिक आयोजना गर्ने सहमति गरेको अधिकारीहरूले बताएका छन्।

यसअघि १९३२ र १९८४ मा विश्व खेलकुदको सबभन्दा ठूलो मेला आयोजना गरिसकेको लस एन्जल्सलाई यो सम्झौताले तीन पटक ओलम्पिक आयोजना गर्ने सहर बनाउनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जल्स २०२८ को ओलम्पिक आयोजक भएको खबर सुन्दा अमेरिकीहरू गौरवान्वित भएको बताएका छन् । लस एन्जल्स, पेरिस र आइओसीबीच सहमति भएको खवर सार्वजनिक भएलगत्तै विज्ञप्ति जारी गर्दै राष्ट्रपति ट्रम्पले २०२८ को ओलम्पिकले अमेरिकी भावना र ओलम्पिक अभियानमा बेग्लै उदाहरण निर्धारण गर्ने विश्वास व्यक्त गरे ।

‘अमेरिका निरन्तर चम्किँदो छ । लस एन्जल्स २०२८ पनि त्योभन्दा फरक हुने छैन,’ ट्रम्पले विज्ञप्तिमा भनेका छन् । ट्रम्पले अमेरिका ओलम्पिक कमिटी र लस एन्जल्सको दाबीमा काम गरिरहेको निजी कम्पनीलाई बधाई दिँदै भनेका छन्, ‘ओलम्पिक आयोजनाको दाबी दौरान गरिएका अमेरिकी रचनात्मकता र आतिथ्यको प्रस्तावका कारण हामीले यो गौरवमय अवसर पाएका छौं ।’

ट्रम्पले आफूलाई लस एन्जल्स ओलम्पिक २०२८ को गौरवशाली समर्थकका रूपमा वयान गरे।

‘यो सम्झौता ओलम्पिक खेलकुद हाम्रो सहरमा फर्काउनका लागि ठूलो कदम हो । यो ओलम्पिक वर्तमान पुस्ताले आफ्नो सहरमा पहिलो पटक अनुभव गर्नेछन्,’ लस एन्जल्सका मेयर इरिक गार्सेटीले सोमबार (नेपाली समयअनुसार मंगलबार) भने, ‘आजको दिन लस एन्जल्स, अमेरिका र ओलम्पिक अभियानका लागि ऐतिहासिक दिन हो ।’

लस एन्जल्सको यो निर्णयपछि २०२४ को संस्करण आयोजनाको दाबी गर्ने पेरिस एक्लो सहर बाँकी रहेको छ । आइओसीले यसै महिनाको सुरुमा २०२४ र २०२८ का दुवै संस्करणको आयोजक छान्न मतदान गराउने निर्णय गरेको थियो । आइओसीले सेप्टेम्बरमा पेरुको लिमामा ओलम्पिक आयोजक छान्न मतदान गराउने निर्णय गरेको थियो । तर लस एन्जल्स सिटी काउन्सिल र अमेरिकी ओलम्पिक कमिटीका पदाधिकारीहरूको समेत सहमतिमा भएको यो सम्झौतालाई तीन पक्ष आइओसी, लस एन्जल्स र पेरिसले औपचारिकता दिए २०२४ को पेरिस तथा चार वर्षपछिको संस्करण लस एन्जल्समा गर्ने निर्णय गर्न आइओसीलाई बाटो खुल्नेछ ।

पेरिसको दाबी कमिटीले लस एन्जल्सबाट आएको खबरको स्वागत गरेको छ । ‘आइओसी र लस एन्जल्सका साथीहरूले दुवै सहरका लागि सकारात्मक निकास निकालेकोमा पेरिस २०२४ गर्व गर्छ । २०२४ र २०२८ को ओलम्पिक आयोजनाका लागि भएको यो सहमतिले समग्रमा खेलकुद र ओलम्पिक अभियानलाई ठूलो योगदान गर्नेछ,’ पेरिस दाबी कमिटीका सह अध्यक्ष टोनी इस्टान्गुइटले भने ।

पेरिसले २०२४ को संस्करणका लागि मात्र आयोजना दाबी गरेको थियो भने लस एन्जल्सले २०२४ र २०२८ दुवै संस्करणको दाबी गरेको थियो ।

पछिल्लो समय ओलम्पिक खेलकुद आयोजकका लागि निकै महंगो हुँदै आएका कारण आयोजक आइओसी आयोजक पाउनै समस्यामा थियो । थुप्रै सहरले ओलम्पिक आयोजनामा अनिच्छा देखाइरहेका बेला पेरिस र लस एन्जल्स भने विश्व खेलकुदको सबभन्दा ठूलो मेला गर्न आतुर थिए । त्यसैले आइओसी नेतृत्व दुवै सहरलाई निराश पार्न चाहँदैनथ्यो ।

आइओसीका अध्यक्ष थोमस बाचकै देश जर्मनीले सबभन्दा पहिला २०१४ को सोची हिउँदे ओलम्पिकको ठूलो खर्च देखेर आयोजना दाबीबाट पछि हट्ने निर्णय लिएको थियो । ह्यामबर्गको त्यो निर्णयलाई रोम र बुडापेस्टले पनि पछ्याएपछि आइओसी ओलम्पिक गर्न कुनै दिन आयोजक नहुने चिन्तामा फसेको थियो। त्यही कारण बाचले २०२० मा हुने टोकियो ओलम्पिकदेखि आयोजकको खर्च कटौतीका थुप्रै प्रस्तावहरू ल्याएका छन् । 

थुप्रै सहरले ओलम्पिक आयोजनामा अनिच्छा देखाइरहेका बेला पेरिस र लस एन्जल्स भने विश्व खेलकुदको सबभन्दा ठूलो मेला गर्न आतुर थिए । त्यसैले आइओसी नेतृत्व दुवै सहरलाई निराश पार्न चाहँदैनथ्यो ।

 

प्रकाशित: १८ श्रावण २०७४ ०२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App