१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

चीन पुगेर समर्थकसँग नेइमारले गरे अन्तरक्रिया

सांघाई(एएफपी)– विश्व कीर्तिमानी २२ करोड २० लाख युरोमा बार्सिलोना छोडेर पेरिस सेन्ट जर्मन जाने चर्चा चलिरहँदा ब्राजिली फरवार्ड नेइमारले भने चीन पुगेर समर्थकसँग सामाजिक सञ्जालमा अन्तरक्रिया सुरु गरेका छन् ।

फुटबल इतिहासकै सबभन्दा महँगो सरुवाको चर्चाबीच २५ वर्षे नेइमार युरोपेली फुटबलका दुई ठूला क्लबको मौखिक युद्धको माध्यम बनिरहेका छन् । बार्सिलोनाले हालै अनुबन्धित गरेका नयाँ खेलाडी नेल्सन सेमेडोसँग मायमी भ्रमणदौरान अभ्यासमा झगडा भएपछि नेइमार बार्सिलोनाबाट फ्रान्सको राजधानी सरुवा हुने चर्चा सुरु भएको थियो ।

प्रवद्र्धनकारी भ्रमणका लागि चीन पुग्नेबित्तिकै नेइमारले वेइबोमा चिनियाँ समर्थकलाई सम्बोधन गर्दै लेखे, ‘निहाओ (नमस्कारजस्तै अभिवादन) चीन ! म नेइमार जुनियर, भर्खरै चीन आइपुगेको छु ।’

चीनमा ट्विटरजस्तै लोकप्रिय सामाजिक सञ्जाल वेइबोमा नेइमारले सरुवा हल्लाबारे मुख नखोले पनि चिनियाँ समर्थकलाई भने उच्च सम्मान दिएका छन् । ‘तत्कालका लागि म सांघाईमा छु । म आफ्ना सबै चिनियाँ समर्थकलाई विशेष मायाको सन्देश दिन चाहन्छु । मलाई करियरको हरेक क्षणमा माया गरेकोमा म मेरा सबै चिनियाँ समर्थकलाई धन्यवाद दिन चाहन्छु,’ सोमबार उनले लेखेका छन् ।

एउटा फेसन ब्रान्डको प्रवद्र्धनका लागि सांघाई पुगेका नेइमारले वेइबोमा अङ्ग्रेजी र चिनियाँ भाषामा सांघाइमा रहँदा कहाँ कहाँ जाने र के गर्ने भन्ने विषयमा पनि समर्थकसँग राय मागेका छन् ।

यसैबीच नेइमार र उनका सल्लाहकारहरु सम्भावित सरुवाको विषयमा व्यस्त रहेकाले सोमबारकै लागि तय गरिएको एक कार्यक्रम रद्द गरेको चीनको सबभन्दा ठूलो अनलाइन ट्राभल कम्पनी सिट्रिपले जनाएको छ ।

अमेरिका भ्रमणमा रहँदा सेमेडोसँग झगडा भएलगत्तै अभ्यास मैदानमा बार्सिलोना टिम सहयात्रीहरूले नेइमार क्याम्प नोउमै रहेको हेर्ने चाहना व्यक्त गरेका थिए । ‘नेइमार र म निकै निकट मित्र हौं । मलाई अहिलेको सबै अवस्थाबारे जानकारी छ । उनी यहीँ रहून् भन्ने म चाहन्छु,’ बार्सिलोनाका स्पेनिस रक्षक जेरार्ड पिकेलाई उद्धृत गर्दै इएसपिएन एफसीले जनाएको छ, ‘अहिले उनले पनि के गर्ने भनेर निर्णय लिन सकेका छैनन् । त्यसैले हामीले उनलाई सघाइरहेका छौं । उनले सही निर्णय लिन सकून् भनेर हामीले सल्लाह दिइरहेका छौं ।’

‘मलाई करियरको हरेक क्षणमा माया गरेकोमा म मेरा सबै चिनियाँ समर्थकलाई धन्यवाद दिन चाहन्छु ।’

प्रकाशित: १८ श्रावण २०७४ ०२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App