१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

काठमाडौं मेयरका १०१ काम, 'चुनाव जित्ने प्रपञ्च मात्रै'

काठमाडौं महानगरपालिका मेयरको उम्मेदवार बनेलगत्तै विद्यासुन्दर शाक्यको चर्चा चुलियो। चर्चाको विषय थियो, मेयर चुनिए सय दिनमा एक सय एक काम गर्ने भन्दै उनले सार्वजनिक गरेको कार्यसूची। 

शाक्यले चुनावी अजेन्डा बनाएका एक सय एक कामको सूचीलाई मेयर बनेपछि पनि निरन्तरता दिने घोषणा गरे। सय दिनभित्र सूचीमा भएका सबै काम गरिसक्ने प्रतिबद्धता दोहोर्‍याए। शपथग्रहणका दिनदेखि एक सय एक कामको दिनगन्ती सुरु भएको घोषणा समेत गरे।

महानरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की भने मेयरले एक सय एक अजेन्डाअनुसार काम नगरेको स्विकार्न तयार छैनन्। ‘सबै काम रातरात कहाँ हुन्छ त?’ कार्कीले भने, ‘गर्दै जाँदा चुनावमा उठाएका सबै काम हुनेछन्।’

उनी काठमाडौं महानगरपालिकाको मेयर बनेको मंगलबार ५६ दिन पुग्यो। तर, शाक्यले आफ्नै प्रतिबद्धताअनुसार आफ्नै सूचीका अधिकांश काम गर्न सकेका छैनन्। सय दिनमा सबै काम सक्न ५६ दिनमा उनले कम्तीमा ५६ वटै काम गरिसकेको हुनुपर्थ्यो। शाक्यले भने घोषणा गरिएकामध्ये आधा काम पनि गर्न सकेका छैनन्। 

हालसम्म महानगर कार्यपालिका बैठकले गरेका निर्णय–पुस्तिका हेर्दा आफ्नै घोषणाका धेरै योजनालाई शाक्यले बैठकको अजेन्डा समेत बनाउन सकेको देखिँदैन। महानरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलका अनुसार दैनिक कार्यालय सञ्चालन बाहेकका सबैखाले निर्णय यही बैठकमार्फत हुने गर्छ।

‘कार्यालय सञ्चालनका लागि दैनिकजसो निर्णय भए पनि ती महŒवपूर्ण होइनन्,’ कार्यकारी अधिकृत पौडेलले भने, ‘महŒवपूर्ण निर्णय त नगर कार्यपालिका बैठकमार्फत नै हुने हो।’

महानगरपालिकाको रेकर्डअनुसार शाक्य आएपछि ६ वटा नगर कार्यपालिका बैठक बसेको देखिन्छ। बैठकले २७ वटा निर्णय गरेका छन्।

नगर कार्यपालिकाको पहिलो बैठक शाक्यलगायत जनप्रतिनिधिले पद सम्हालेकै दिन असार १७ गते बसेको थियो। बैठकले ११ निर्णय गर्‍यो।

असार ६ गते बसेको दोस्रो बैठकले आठ र ९ गतेको तेस्रो बैठकले दुई, २७ गतेको बैठकले एक, २९ गतेको बैठकले चार र साउन ९ गतेको बैठकले एउटा निर्णय गरेको छ। २७ वटा निर्णयमा पनि शाक्यले घोषणा गरेका एक सय एकमध्ये कुनै काम परेका छैनन्।

कार्यपालिका बैठकले जनप्रतिनिधिलाई बधाई, तलबको व्यवस्थादेखि विवादमा तानिने जनप्रतिनिधिलाई मोबाइल किनिदिनेसम्मका निर्णय गरेको छ।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की भने मेयरले एक सय एक अजेन्डाअनुसार काम नगरेको स्विकार्न तयार छैनन्। ‘सबै काम रातारात कहाँ हुन्छ त?’ कार्कीले भने, ‘गर्दै जाँदा चुनावमा उठाएका सबै काम हुनेछन्।’ असार ३० गते पारित भएको नीति तथा कार्यक्रममा एक सय एक अजेन्डाका धेरै कुरा समेटिएको उनको दाबी छ। ‘नीति तथा कार्यक्रममा एक सय एक अजेन्डाका धेरै कार्य सम्बोधन भएका छन्,’ उनले भने।

महानगर कार्यपालिका र नगरपरिषद्बाट शाक्यका धेरै अजेन्डाबारे निर्णय समेत नभएकाले शाक्यका एक सय एक कामको कार्यान्वयन तत्कालै पूरा हुने देखिएको छैन। शाक्यले चुनावका बेला घोषणा गरेका एक सय एक काम चुनाव जित्ने रणनीतिका रूपमा मात्र रहेको उनका आलोचकले बताउँछन्।

स्थानीय शासन विज्ञ कृष्णप्रसाद सापकोटा जनप्रतिनिधिले पूरा गर्न सक्ने खालका मात्र प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउँछन्। 'कसैले पनि चुनाव जित्नका लागि मात्र प्रतिबद्धता गर्नुभएन,' उनले भने, 'पूरा गर्न नसक्ने वाचा गरेर जनतालाई झुक्याउनुभएन।'  जति काम गर्न सकिन्छ, त्यति मात्र प्रतिबद्धता गर्नुपर्ने सापकोटाले बताए। काठमाडौं महानगरपालिका प्रमुखले गरेका प्रतिबद्धता पूरा गरे वा नगरेकोबारे भने आफूलाई जानकारी नभएको सापकोटाले बताए।

महानगर प्रमुख शाक्यले भने चुनावी प्रतिबद्धताअनुसार काम अघि बढिरहेको बताए। 'मैले प्रतिबद्धता अनुसार नै काम अघि बढाइरहेको छु,' उनले भने, 'काम भएको छैन भन्ने गलत कुरा हो, त्यसको विस्तृत विवरण म सोमबार उपलब्ध गराउँछु।' उनले केही दिनदेखि अस्वस्थ भएकाले सोमबार मात्र विवरण दिन सक्ने बताए।

 

हालसम्मका निर्णय

पहिलो नगर कार्यपालिका बैठक

२०७४ जेठ १७

निर्णयहरू

१. वैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचनमा सहभागी मतदाताको विवेकलाई सम्मान गर्दै निर्वाचित सबैलाई हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछौ। निर्वाचनमा खट्ने राष्ट्रसेवक कर्मचारीको उच्च प्रशंसा साथै स्वशासन र लोकतन्त्रका लागि विगतमा पटकपटक भएका जनआन्दोलनको क्रममा सहादत प्राप्त गर्नुभएका ज्ञात/अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।

२. महानगरपालिकाका ८० वर्ष उमेर पूरा भएका पुरुष र  ७५ वर्ष उमेर पूरा भएका महिला ज्येष्ठ नागरिकलाई महानगरपालिकाको तर्फबाट वार्षिक १२ हजार रुपैयाँ महानगरभत्ता उपलब्ध गराउनुको साथै घरदैलोमै दक्ष चिकित्सकसहितको टोली पठाइ स्वास्थ्य परीक्षण गर्ने।

३. काठमाडौंमा बढ्दै गएको धुलोधुँवाको प्रदूषण न्यूनीकरण गर्न प्रभावकारी कार्ययोजना र निश्चित जिम्मेवारीसहित साधनस्रोतको अधिकतम परिचालन गरी 'क्लिन काठमाडौं' अभियान थालनी गर्ने।

४. महानगरपालिकाको फोहोरलाई सूर्योदयअगावै विसर्जन र  व्यवस्थापन गर्ने।

५. महानगरपालिकाका सबै वडा कार्यालय र सम्पूर्ण विभागबाट प्रवाह हुने सेवा छिटो–छरितो, प्रभावकारी र पारदर्शी बनाउँदै जवाफदेही र असल शासनको अभ्यास आरम्भको साथै सूचना प्रविधिको प्रयोग र भ्रष्टाचारमा शून्य सहनशीलताका नीति अंगीकार गर्ने।

६. ०७२ वैशाख १२ गतेको भूकम्पबाट पीडित महानरवासीका निजी आवासीय प्रयोजनका घर निर्माण गर्दा उहाँहरूलाई निःशुल्क परामर्श सेवा र भवन निर्माण इजाजत दस्तुरमा शतप्रतिशत छुट सुविधा उपलब्ध गराउने।

७. महानगरपालिकाको सरकारी कामकाजको भाषाको रूपमा नेपाली र नेपाल भाषाको प्रयोग गरिनेछ। नेपाल भाषाका विज्ञ दोभासेको समेत व्यवस्था मिलाई सेवाग्राहीलाई सहज सेवा  पुर्‍याउने प्रबन्ध गरिनेछ। साथै, संयुक्त राष्ट्रसंघमा नेपालको पहिचानका रूपमा सूचीकृत भएको रञ्जना लिपिलाई समेत महानगरपालिकाको सबै कार्यालयको बोर्ड र लेटरप्याडमा प्रयोग गर्ने।

८. काठमाडौं महानगरपालिका क्षेत्रभित्र अवस्थित ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय क्षेत्र, महŒवपूर्ण सार्वजनिक स्थल र पार्कहरूमा 'फ्री वाइफाई जोन'को व्यवस्था गर्ने।

९. महानगरपालिकाको साविकको कार्यालय भवन निर्माणको कार्य तत्काल सुरु गर्ने। वडा कार्यालय भवन निर्माण कार्य प्राथमिकताका साथ अगाडि बढाउने।

१०. काठमाडौं महानगर क्षेत्रमा सम्भावित स्थान पहिचान गरी आवश्यक संख्यामा सार्वजनिक शौचालयहरू निर्माण गर्ने कार्य तत्काल थालनी गर्ने।

११. काठमाडौं महानगरलाई २४सै घन्टा खुला जीवन्त सहरको रूपमा विकास गर्न आवश्यक पूर्वाधारको विकास एवं निर्माण कार्य थालनी गर्ने।

 

दोस्रो नगर कार्यपालिका बैठक

०७४ असार ६

निर्णयहरू

१. ०७४ जेठ २६ गते सम्पन्न महानगरपालिकाको नगर कार्यपालिका निर्वाचनबाट निर्वाचित नगर कार्यपालिकाका सदस्यहरूलाई हार्दिक स्वागत गर्दै बधाई एवं सफल कार्यकालको कामना गर्ने।

२. महानगरपालिकाको विकास, निर्माण र सहरी सेवा द्रूत गतिमा अगाडि बढाउन चालू आर्थिक वर्ष ०७३/७४ भित्रै कार्यक्रम सञ्चालन गर्ने गरी प्रत्येक वडाको सडक तथा फुटपाथ व्यवस्थापनका लागि १० लाख, ढुंगा इँटा छाप्नका लागि सात लाख, ढल मर्मत सम्भारका लागि तीन लाख, सडक सरसफाइका लागि दुई लाख र अतिथि सत्कार (जलपान)का लागि २५ हजार गरी जम्मा २२ लाख २५ हजार निकासा गर्ने।

३. आर्थिक वर्ष ०७३/७४ को बजेटमा जनप्रतिनिधिको सुविधा शीर्षकमा बजेट व्यवस्था, सुविधा, बैठकभत्ता र खाजा खर्चको व्यवस्था गर्ने। जनप्रतिनिधिलाई मोबाइल फोन किन्न प्रतिव्यक्ति ३० हजार रुपैयाँ व्यवस्था गर्ने।

४. विभाग, महाशाखा तथा वडाका कर्मचारी जनप्रतिनिधिलाई कार्यको अख्तियारी तोकिएको।

५. कार्यक्षमता मूल्यांकनबाट अधिकृतस्तर सातौँ उपनिर्देशक (प्राविधिक) पदमा चारजनाको बढुवा गरिएको।

६. महानगरपालिकाको हालको प्रशासनिक सांगठानिक संरचनाको पुनर्संरचनाका लागि अध्ययन गर्न निर्देशन दिने।

७. भाडाका ट्याक्सीको यातायात व्यवस्था विभाग र उपत्यका ट्राफिक प्रहरी महाशाखालाई कडा नियमन गर्न अनुरोध गरेर व्यवस्थित गर्ने। १४ जिल्लाका भूकम्पपीडितका लागि काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्न नदिन सम्बद्ध निकायसँग छलफल गर्ने।

८. ८८ वर्ष उमेर पुगेका वरिष्ठ ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप वार्षिक १० हजार रुपैयाँ महानगरभत्ता एकमुष्ठ प्रदान गर्दै आएकामा चालू आर्थिक वर्ष ०७३/७४ का लागि उक्त भत्ता रकममा वृद्धि गरी १२ हजार पुर्‍याउने र सो भत्ता रकम तत्काल वितरण गर्ने।

तेस्रो नगर कार्यपालिका बैठक

२०७४ असार ९

निर्णयहरू

१. ८८ वर्ष उमेर पूरा गरी महानगरभत्ता प्राप्त गरेका वरिष्ठ जेष्ठ नागरिकका लागि दक्ष चिकित्सक सहितको टोली घरघरमा पठाई स्वास्थ्य परीक्षण गर्ने कार्य  ०७४ असार १५ गतेबाट शुभारम्भ गर्ने।

२. ०७४ असार ६ गते बसेको दोस्रो बैठकको निर्णय नम्बर ३ मा जनप्रतिनिधिलाई मोबाइल खरिदका लागि दिने  ३० हजार रुपैयाँ खर्च निकासा दिने निर्णय भएकामा सो निर्णय हालसम्म कार्यान्वय नभई नसकेकै अवस्थामा उक्त निर्णय हाललाई कार्यान्वयन नगर्ने।

चौथो नगर कार्यपालिका बैठक

०७४ असार २७

निर्णयहरू

१. नीति तथा कार्यक्रम घोषणा गर्ने।

 

पाँचौँ नगर कार्यपालिका बैठक

०७४ असार २९

निर्णयहरू

१. आर्थिक वर्ष  ०७४/७५ को नीति तथा कार्यक्रमउपर छलफल गरी बैठकमा पेस हुन आएको नीति तथा कार्यक्रम असार ३० को प्रथम नगरसभामा पेस गर्ने।

२. संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा नमुना कानुनका रूपमा तयार गरिएको नगरसभा सञ्चालनसम्बन्धी कार्यविधिमा आवश्यक परिमार्जन समेत गरी पेस हुन आएको काठमाडौं महानगरपालिका नगरसभा सञ्चालन कार्यविधि ०७४ स्वीकृत गर्ने।

३. बैठकमा प्रस्तुत हुन आएको आव ०७४/७५ को राजस्वको अनुमान (आर्थिक विधेयक– ०७४) र व्ययको अनुमान (विनियोजन विधेयक– ०७४) उपर छलफल गरी आर्थिक विधेयक– ०७४ र विनियोजन विधेयक– ०७४ नगरसभामा पेस गर्ने।

४. न्यायिक समितिमा रहने दुई सदस्यको नगरसभाबाट निर्वाचन गर्न महानगरपालिकाका निर्देशक सनतकुमार थापालाई निर्वाचन अधिकृतमा नियुक्त गरी निर्वाचन कार्यक्रम तय गर्न तथा निर्वाचन गराउन निजलाई अख्तियारी दिने।

छैटौँ नगर कार्यपालिका बैठक

०७४ साउन ८

निर्णयहरू

आव ०७४/७५ को स्वीकृत नीति तथा कार्यक्रमको अधिनमा रही तयार भएको प्रस्तावित बजेट तथा कार्यक्रमको विस्तृत विवरण बैठकमा प्रस्तुत गर्ने।

आव ०७२/७३, ०७३/७४ को आय र व्ययको तुलनात्मक विश्लेषणसहित आव ०७४/७५ का लागि प्रस्ताव गरिएको आय तथा व्ययको शीर्षकगत विवरण, क्षेत्रगत लगानी तथा वडा कार्यालयका लागि समेत प्रस्तावित वार्षिक चालूखर्च तथा पुँजीगततर्फको विनियोजन प्रस्तावउपर विस्तृत छलफल गरी केही संशोधनसहित नगरसभाको मिति ०७४ साउन ८ गते दिनको ३ः०० बजे बस्ने नगरसभाको बैठकमा पेस गर्ने।

प्रकाशित: १६ श्रावण २०७४ ०८:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App