१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

व्यापार नगद, सेयर उधार

काठमाडौं- तीन वर्ष अघि फिल्म 'नाइ नभन्नू ल' को दोस्रो सिक्वेल बनाएका निर्माता तथा निर्देशक विकास आचार्यले फिल्मको समीक्षा छिटो पाए पनि फिल्म चलेवापतको सेयर पाउन भने झण्डै वर्ष दिन कुर्नुपर्‍यो। उनै आचार्यले पछिल्लो फिल्म 'नाइ नभन्नू ल ४'को हलबाट पाउनु पर्ने सेयर फिल्म चलेको दुई वर्ष भइसक्दा पनि पाएका छैनन्। 'वितरकले हलबाट यति रकम तपाईको सेयर आउँछ भनेर दिएको डाटा अनुसार नै हातमा रकम त आउँछ। तर, कहिलेसम्म आउँछ भन्ने चाहिँ टुंगो छैन ,'आचार्यले नागरिकसँग भने,'दर्शकले लाइन लागेर फिल्मको टिकट काटेर फिल्म हेर्छन्। त्यहाँ जम्मा भएको पैसा हलले वितरकलाई दिन्छन्। तर, वितरकले हामीलाई चाँडो पैसा दिँदैनन्।'

विकासको बुझाईमा निर्माताको हातमा पैसा पर्न ढिलो हुनुको कारण वितरक नै हुन्। 'वितरकहरु हलमा हिसाब लिन ढिला गरेका हुन् या उनीहरु हलमा नै नपुगेका हुन्। त्यो उहाँहरुलाई नै थाहा होला,'आचार्य भन्छन्,'तर उहाँहरुले निर्मातालाई पैसा दिँदा न्युनतम तीन महिनादेखि एक वर्षसम्म लाग्छ।' केही समय अघि छायांकन सकिएको फिल्म 'छक्का पञ्जा २'का कार्यकारी निर्मातासमेत रहेका आचार्यले फिल्म वितरण कम्पनी एफडीले 'छक्कापञ्जा २' बापतको शेयर तीन महिना भित्रै तिरिसक्ने सम्झौता भएको खुलाए। 

वितरकले झुलाउने आचार्य प्रतिनिधी निर्माता हुन्। फिल्मको सेयर पाउन  उनी जस्ता धेरै निर्माताले सकस भोग्दै आएका छन्। दर्शकले हाताहातै पैसा तिरेर हेरेको फिल्म निर्माताको हातमा पर्न किन समय लाग्छ? कसैलाई थाहा छैन। 

फिल्म 'छ एकान छ' बाट निर्माणमा हात हालेका निर्माता तथा कलाकार दीपकराज गिरीले निर्माताले बेलैमा सेयर नपाउने समस्या २० प्रतिशत हलमा मात्र रहेको बताए।  '८० प्रतिशत हलमा समस्या छैन। २० प्रतिशत मध्ये पनि १० प्रतिशतले धेरै झुलाउने हुन् ,'गिरीले भने ,'अनेक बहाना बनाएर किस्ता किस्तामा पैसा दिन्छन्। एउटा फिल्मको पैसा बल्ल अर्को फिल्म रिलिजको समयमा उठ्छ।'

गिरीका अनुसार हलले एक वर्षसम्म पैसा दिन झुलाए पछि अर्को फिल्म रिलिज गर्ने बेलामा हलले आफै फोन गर्दछन्। 'हामी नियमित रुपमा फिल्म बनाइरहन्छौं। अर्को फिल्म रिलिज गर्ने बेलामा हलले फिल्म चाहियो भनेर फोन गर्छन्,'उनले भने,'त्यो बेला चाहिँ पहिला पुरानो पैसा तिर्नु अनि फिल्म दिउँला भन्छु। अनि बल्ल पुरानो बक्यौता तिर्छन्।' फिल्मको सेयर पाउन न्यूनतम तीन महिनादेखि अधिकतम एक वर्षसम्म कुर्नु पर्ने भएकाले निर्मातालाई भने समस्या पर्ने गरेको उनले खुलाए।

पाँच वर्ष अघि फिल्म 'लुट' निर्देशन गरेर फिल्म क्षेत्रमा उदाएका निर्माता तथा निर्देशक निश्चल बस्नेतले यो फिल्मबाट आफूले पाउनु पर्ने सेयर छिट्टै पाए। 'मलाई त्यो बेला अर्जेन्ट पैसा चाहिएको थियो। त्यो पैसा निर्माता माधव वाग्लेले व्यवस्थापन गरिदिनुभयो। तर, उहाँले चाहिँ पूरा पैसा हलबाट कहिले पाउनुभयो, त्यो कुराको मलाई जानकारी भएन,'आमाको स्वास्थोपचारका लागि भारतमा रहेका निश्चलले भने,'मैले बनाएको अर्को फिल्म 'कबड्डी'को सेयर पाउनकै लागि झण्डै ६ महिना लाग्यो। मैले थाहा पाए अनुसार 'लुट'को सेयर पाउन पनि एक वर्ष बढी पर्खिनुपर्‍यो।'

निश्चलले फिल्म हलबाट उत्रिएको तीन महिना पछि मात्र निर्माताले पैसा पाउने गरेको जनाए। 'आजकल मल्टिप्लेक्स हलहरु बढेको कारण सेयर अलिक छिटो पाउन थालिएको छ,'उनी भन्छन्,'तर, अझै पनि यस्ता केही हल छन् जसको पछाडि सेयर देउ भनेर लागिरहनु पर्छ।' वितरकको कमजोरी र हलको मनोमानीले निर्मातालाई हप्ते म्याद थप्दै झुलाइ रहने गरेको निश्चलको अनुभव छ। 'एउटा सबल व्यवस्था नहुँदा निर्माताले पीडा भोगिरहनु परेको छ ' निश्चल भन्छन्।

के भन्छन् हलवाला–वितरक

फिल्मको व्यापार र दर्शक कति आए भन्ने प्रत्यक्ष देख्ने र बुझ्ने ठाउँ फिल्म हल नै हो। वितरकले हलमा दर्शकको फ्लोबारे निर्मातालाई जानकारी दिए पनि वास्तविकता बुझ्न निर्माताहरु आफै हल–हल पुग्छन्।

क्युएफएक्सका वितरण मेनेजर बसन्त मानन्धर आफूहरु कहाँ वितरकले भ्याट बिल बुझाएको अधिकतम १५ दिन भित्रमा सेयर दिने गरेको बताउँछन्। 'फिल्मले बम्पर व्यापार गरे पनि नगरे पनि वितरकले आफ्नो सेयर पाउन कम्पनीको भ्याट बिल दिनुपर्छ। अनिमात्र छिटोमा १२ दिन ढिलोमा १५ दिनमा सेयर दिन्छौं,'मानन्धरले भने,'केही प्राविधिक कारणले समस्या आएमा मात्र १५ दिन नाघ्छ।' उनले आफूहरुले जति सक्दो छिटो सेयर दिइरहेकाले पनि आफुहरुबाट त्यस्तो झन्झट केही नभएको बताए।

अधिकांश निर्माता तथा वितरक चाबहिलस्थित गोपीकृष्ण मुभिजबाट ढिलो पैसा पाउने गुनासो गर्छन्। तर, मुभिजका जनरल म्यानेजर तीर्थप्रसाद पौडेलले आरोपको खण्डन गरे।  'हलमा फिल्मले कस्तो व्यापार गरेको छ। त्यो व्यापारले मात्र निर्माताले छिटो वा ढिलो पैसा पाउने निर्भर हुन्छ। कुनै फिल्मले बम्पर व्यापार गरेको छ भने पनि वितरकलाई हामीले अधिकतम तीन महिनासम्ममा सेयर पूरा दिइसक्छौं। बम्पर व्यापार गरेको फिल्मको कलेक्सन पनि धेरै हुन्छ। त्यसकारण उहाँहरूलाई एकैचोटी पैसा दिन सक्दैनौं,'तीर्थ भन्छन्,'थोरै व्यापार गरेको फिल्म छ भने १५ दिन भित्रमा सेयर दिइसकेका हुन्छौं। तर, धेरै व्यापार गरेको छ भने किस्ता–किस्ता गरेर अधिकतम तीन महिनामा दिइसक्छौं। यो कुरा नबुझेर नै उहाँहरुले हामीलाई पैसा ढिलो दिन्छ भन्नुभएको होला।' थोरै व्यापार गरेका फिल्मको सेयर नगन्य हुने भएकाले पनि उनीहरुले छिटो पाउने गरेको पौडेलको बुझाइ छ।

मोफसलमा फिल्म वितरण गरिरहेको एफडी कम्पनीका प्रमुख नरेन्द्र महर्जन कम्पनीले न्युनतम १५ दिन र अधिकतम तीन महिनासम्ममा निर्माताले पाउने सेयर दिइसक्ने बताए। 'हामी प्रायः एडभान्समा काम गरिरहेका हुन्छौं। एडभान्स नभएकेा हकमा १५ दिनबाट नै निर्माताको सेयर पाउन थालिसकेका हुन्छन्। अधिकतम समय तीन महिनामा सेयर पूर्ण रुपमा पाइसकेका हुन्छन्,'महर्जनले भने,'करोड बढी कारोबार गर्ने फिल्मको पैसा संकलनमा समय लाग्छ। लाखको कारोबार गर्ने फिल्ममा त्यति समय लाग्दैन। करोड बढी कारोबार गर्ने फिल्मको चाहिँ किस्तामै भए पनि तीन महिनामा निर्माताले पाउने सेयर दिँदै आएका छौं। ' महर्जनले फिल्मले सुरुवाती समयदेखि नै बम्पर व्यापार गरिरहेको अवस्थामा चाहिँ हप्तै पिच्छे पनि सेयर दिइने गरेको खुलाए।

प्रकाशित: १६ श्रावण २०७४ ०४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App