१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

खेलाडी छान्न टाउको दुखाइ

गेल- शनिबार पहिलो टेस्टमा श्रीलंकामाथि सानदार जितका साथ शंृखलामा सुखद सुरुआत गरे पनि दोस्रो खेलका लागि गरिने टोली छनोट भारतीय कप्तान विराट कोेहलीलाई अहिले टाउको दुखाइको विषय बनेको छ।

गत बुधबारबाट सुरु टेस्टको पहिलो दिनबाटै खेलमा बलियो पकड बनाएको भारतले चौथो दिनमै ३ सय ४ रनको सानदार जितका साथ ३ टेस्टको शंृखलामा १–० को अग्रता लिएको थियो।

भारतका शीर्ष ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरे। ओपनर शेखर धवनले पहिलो इनिङमा १ सय ९० रन जोड्दा अर्का ओपनर अभिनव मुकुन्दले दोस्रो इनिङमा ८१ रन जोडे। त्यस्तै चेतेश्वर पूजाराले पहिलो इनिङमा १ सय ५३ रन जोड्दा कोहलीले दोस्रो इनिङमा अविजित १ सय ३ रन जोडे।

तर शीर्ष ब्याट्सम्यानको लयले बिहीबारबाट कोलम्बोमा सुरु हुने दोस्रो टेस्टमा टोली छनोटका लागि कप्तान कोहली र प्रशिक्षकलाई दुबिधामा पारेको छ।

नियमित ओपनर लोकेश राहुलले ज्वरोका कारण गेलमा सम्पन्न पहिलो टेस्ट गुमाए पनि उनी शंृखलाका बाँकी दुई खेलमा उपलब्ध हुने बताइएको थियो। राहुल टोलीमा पर्नुको अर्थ कुनै एक ब्याट्सम्यानले टोलीमा स्थान गुमाउनेछन्।

‘पक्कै पनि यो कठिन स्थिति हो,' कोहलीले भने, ‘अहिले हाम्रा चारै जना ओपनर लयमा छन्। शेखर मेलबर्न जाने अनुमान गरिएको थियो तर उनले गेलमा १ सय ९० रन जोडे। त्यसैले यहाँ जे पनि हुन सक्छ। यो कठिन विषय हो तर सबैभन्दा उत्कृष्ट खेलाडीले टोलीमा स्थान बनाउनेछन्। टोलीमा दुई वा तीन ओपनर भए पनि मैदानमा दुई जना मात्र ओपनर प्रवेश गर्छन् भन्ने सबै खेलाडीलाई राम्रोसँग थाहा छ।’

कोहलीले अर्को खेलका लागि गरिने टोली छनोटले कुनै पनि खेलाडी निराश नहुने आशा व्यक्त गरे।

‘अन्ततः हामीले अर्को खेलमा कसलाई खेलाउने भन्ने निणय लिनैपर्छ र आशा छ टोलीले गरेको छनोटमा कोही निराश बन्ने छैन,’ कोहलीले भने।

ओपनर मुरली विजय घाइते भएपछि धवनलाई अन्तिम चरणमा टोलीमा समावेश गरिएको थियो।

स्पिनर रविचन्द्रन आश्विन र रवीन्द्र जडेजाको प्रदर्शनबाट सन्तुष्ट देखिएका कोहलीले समग्र बलिङ प्रदर्शनबाट पनि खुसी देखिए।

ब्याटिङका लागि फाइदाजनक मानिएको गेलको पिचमा पहिलो इनिङमा ६ सय रन जोडको भारतले २४०–३ मा दोस्रो इनिङ समाप्तिको घोषणा गर्दै श्रीलंकालाई ५ सय ५० रनको कठिन लक्ष्य दिएको थियो। भारतले दुवै इनिङमा श्रीलंकालाई ३ सयभन्दा कम रनमा समेटेको थियो। पहिलो इनिङमा २ सय ९१ रन जोडेको श्रीलंकाले दोस्रो इनिङमा पनि २ सय ४५ रन मात्र जोड्न सक्यो।

‘हामीले पाएका अवसरलाई सदुपयोग गर्दै विपक्षीमाथि दबाब दियौं,’ कोहलीले भने, ‘हामीले योजनाअनुसारको प्रदर्शन गर्‍यौं र विपक्षीलाई निरन्तर गल्ती गर्न बाध्य बनायांै।’

श्रीलंकाका कार्यवाहक कप्तान रंगना हेराथले पहिलो टेस्टमा भारी अन्तरले पराजित भए पनि आफ्नो टोली शंृखलामा पुनरागमन गर्न सक्षम भएको बताए।

अलराउन्डर एसेला गुणरत्नेले बूढी औँलाको चोटका कारण दुवै इनिङमा ब्याटिङ गर्न सकेनन्। उनले शंृखलाका बाँकी दुई खेल गुमाउनेछन्। त्यस्तै हेराथले पनि चोटका कारण दोस्रो इनिङमा ब्याटिङ गर्न सकेनन्। उनी दोस्रो टेस्टमा टोलीमा फर्कने आशा गरिएको छ।

‘हामीले पहिलो इनिङमा बलिङ, ब्याटिङ र फिल्डिङ तीनै पक्षमा खराब प्रदर्शन गर्‍यौं,’ हेराथले भने, ‘हामी राम्रो टोली हौं। यस हारबाट पाठ सिक्दै शंृखलामा पुनरागमन गर्नेमा हामी विश्वस्त छौं।’

प्रकाशित: १६ श्रावण २०७४ ०३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App