१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस मुख्यालय अगाडि नै पुरिएन खाल्डा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पदमा आसीन छन्। उनको पार्टीको केन्द्रीय कार्यालय ललितपुर सानेपामा छ। बल्खुपुलबाट बागमती करिडोर हँुदै पाँच मिनेट हिँडेपछि पार्टी कार्यालयमा पुगिन्छ। 

तर, पार्टी कार्यालय जाने पश्चिमतर्फको सडकमा खल्डाखुल्डी र रोपाइँका लागि तयार परिएको दबदबे हिलोबाहेक केही देखिन्न।  बल्खुमा अटोवर्क सञ्चालन गर्दै आएका चक्र सेढाईलेे भने, 'नेपालको मुख्य ठूलो दल नेपाली कांग्रेसको पार्टी कार्यालय यहीं छ। प्रधामन्त्री त्यही दलका छन्। तर, सडक मर्मतसम्भार गर्न कसैको ध्यान गएको छैन।'

सानेपाका रमेश श्रेष्ठ हिलाम्मे र धुलाम्मे सडक देख्दा आफूलाई राजधानीबासी भन्नै लाज लाग्ने बताउँछन्। 'जता हेर्‍यो, त्यतै हिलाम्मे र धुलाम्मे सडक देख्दा आफू राजधानीवासी जस्तै लाग्दैन,' उनले भने, 'रिङरोडको पनि अवस्था उस्तै छ।'

कांग्रेस केन्द्रीय कार्यालयका सूचना अधिकारी केशव रिजाल उक्त सडक खण्डबारे प्रधानमन्त्री जानकार रहेको बताउँछन्। 'पार्टीले सडक मर्मतसम्भारका लागि पटक–पटक पहलकदमी गरेको छ। बागमती सडक खण्डअन्तर्गत भएकाले मर्मतमा केही ढिलाइ भएको सुन्नमा आएको छ,' उनले भने, 'सडक समयमै नबन्दा धेेरैले सास्ती खेप्नुपरेको छ।'  उनका अनुसार प्रधानमन्त्री देउवा सानेपा हाइट हुँदै कार्यालय जान्छन्।

टेकु क्षेत्रका सडकमा पानी जम्ने समस्याले सडक प्रयोगकर्ता आक्रान्त छन्। बल्खु क्षेत्रमा पिकअप भ्यान चलाउँदै आएका दीपेन्द्र  तिमिल्सेनाले खल्डाखुल्डीकै कारण बारम्बार सवारी बिग्रिने गरेको बताए। 'खल्डाखुल्डीकै कारणले वर्षायाममा धेरै पटक गाडी बिग्रिन्छ,' उनले भने 'कहिले गाडीको पट्टा भाच्ँिचन्छ, त कहिले बेरिङ चुँडिन्छ। अचेल त सवारी मर्मत गर्दा हैरान भइसकें।'

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख ज्योतिकुमार श्रेष्ठले वर्षात्कै कारण खल्डाखुल्डी पुर्न नसकेको बताए। 'अहिले खल्डाखुल्डी पुरे फेरि उस्तै हुन्छ। त्यसैले नपुरेका हौं,' उनले भने, 'वर्षायाम सकिएपछि खल्डाखुल्डी पुरे र सडक पिच गरिनेछ।' समितिले टेकु कालो पुलमुनि पानी जम्ने समस्या समाधानका लागि छुट्टै योजनाको तयारी गरेको छ। 'टेकु कालो पुलमुनि पानी जम्ने समस्या छ,' आयोजना प्रमुख श्रेष्ठले भने, 'पानीको उचित निकास नहुँदा समस्या आएको हो। यसका लागि छुट्टै योजना बनाउनेछौं।'

प्रधानमन्त्री निवास फर्कने सडक पनि उस्तै

प्रधानमन्त्रीको निजी निवासमा ओहोरदोहोर गर्ने महाराजगन्ज–बूढानीलकण्ठ सडकका खाल्डा त पुरिएका छन् तर कालोपत्रे भने गरिएको छैन्। सडक बनाउने जिम्मा पाएका निकायले गतिलो ढंगले काम नगरेका कारण अहिले सडकको अवस्था उस्तै छ। जिम्मा पाएका तीन निकायका सचिवहरु खाल्डा पुर्ने स्थानामा सहभागी नभएका कारण खाल्डा पुर्ने कार्यले गति लिन सकेको छैन।

खानेपानीको पाइप फुटेर आहाल

कोटेश्वर चोकमा खानेपानीको पाइप फुटेको महिनौं भइसक्यो। चोक जलमग्न  छ। तर, काठमाडौं उपत्यका खानेपानी लिमिटेडले दीर्घकालीन रूपमा मर्मत नगर्दा बारम्बार पाइप फुट्ने समस्या रहँदै आएको छ।  अत्यधिक चाप हुने उक्त सडक खण्डमा सवारी फस्ने समस्या छ।

कोटेश्वर चोकका अनिल नेपालले महिनौंंदेखि खानेपानीको पाइप फुटेर सडक बेहाल बने पनि कसैले वास्ता नगरेको गुनासो गरे। 'पाइप फुटेर सडक आहालजस्तै भइसक्यो। दिनहुँ गाडी फसिरहेका हुन्छन्,' उनले भने, 'सरोकारवाला भने बेखबर छन्।'  कोटेश्वरबाट बालकुमारीतर्फ जाने सडकको हालत पनि उस्तै छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता सतिशकुमार दत्तले कोटेश्वरचोकमा खानेपानीको भल्ब बिग्रिएर पानी निस्किएको स्वीकार गरे। 'च्याम्बरभित्रको भल्ब बिग्रिएर सडकमा पानी जम्मा भएको हो। च्याम्बर खोलेरै मर्मत गर्नुपर्ने भएकाले केही समय लागेको हो,' उनले भने, 'वर्षायाममा काम गर्न असहज छ।'

कोटेश्वरचोकदेखि तीनकुनेतर्फको करिब १०० मिटर सडक मेलम्चीको पाइपलाइन बिछ्याउन भनेर खनिएको थियो। उक्त सडक पिच नगर्दा सवारी आवागमनमा असर परेको छ।

कोटेश्वर–कलंकी सडक खण्ड समयमै निर्माण सम्पन्न नहुँदा सर्वसाधारणले अत्यधिक सास्ती खेपेका छन्। महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट भाटभटेनीतर्फ जाने सडक लामो समयदेखि अस्तव्यस्त छ।  सडक छेउछाउमा पसल सञ्चालन गर्ने व्यापारी हैरानी खेपिरहेका छन्।

डुबानले आक्रान्त बालाजु

अन्यत्रजस्तै बालाजु, सामाखुुसी, गोंगबु र महाराजगन्जबासी भने हिलो र धुलोले मात्रै होइन, वर्षायाममा हुने डुबानले पीडित छन्। ती क्षेत्रका सडकमा व्यवस्थित ढल निकास छैन। आकाशेपानी पर्नेबित्तिकै भलबाढीले सडक भरिन्छन्। 'पानी परेपछि सडकमा निस्कनै सकिँदैन,' बालाजुका तिर्सना श्रेष्ठले भनिन्, 'स्कुल पठाएका छोराछोरी सकुशल  फर्किन्छन् कि फर्किंदैनन् भन्ने चिन्ताले सताउँछ।'

सत्या डुबेको ठाउँमा बन्यो रेलिङ

काठमाडौं महानगरपालिकाले सामाखुसीमा खुला नाली क्षेत्रमा फलामको रेलिङ बनाएको छ। सामाखुसीस्थित सडकको नालीमा सत्या सापकोटा डुबेकी थिइन्। महानगरले सापकोटा डुबेको स्थानमा करिब एक सय मिटरको रेलिङ बनाएको हो।

प्रकाशित: १६ श्रावण २०७४ ०२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App