१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जनसङ्ख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न सुझाव

काठमाडौँ- दलका शीर्षनेताले जनसङ्ख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्नेमा जोड दिएका छन्।

निर्वाचन क्षेत्र निर्धारण आयोगले आज प्रमुख दलसँग गरेको छलफलमा नेताहरुले यस्तो सुझाव दिएका हुन्। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले २४० निर्वाचन क्षेत्र निर्धारण गर्दा जुन सिद्धान्तलाई आधार बनाइएको हो, १६५ निर्वाचन क्षेत्र निर्धारण गर्दा पनि सोही सिद्धान्तलाई आधार बनाइनुपर्ने बताए।

“यसरी क्षेत्र निर्धारण गर्दा तराई केन्द्रित दललाई पनि स्वीकार्य हुन्छ, आजको छलफलमा पनि राष्ट्रिय जनता पार्टीका नेताले २४० निर्वाचन क्षेत्र निर्धारण गर्दाका सिद्धान्त मान्य हुने बताउनुभएको छ”, उनले भने।

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता झलनाथ खनालले संसारभर निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसङ्ख्या र भूगोललाई आधार मानिएकाले नेपालमा पनि यही सिद्धान्तलाई आधार बनाइनुपर्ने बताए।

नेपाली काँग्रेसका नेता डा रामशरण महतले जनसङ्ख्यालाई पहिलो र भूगोललाई दोस्रो प्राथमिकतामा राखिनुपर्ने संविधानमै उल्लेख भएको बताए। “२४० निर्वाचन क्षेत्रलाई १६५ मा ल्याउनुपर्ने भएकाले त्यही अनुपातमा जनसङ्ख्या र भूगोलका आधारमा क्षेत्र निर्धारण गरिनुपर्छ”, उनले भने।

राष्ट्रिय जनता पार्टीका सहअध्यक्ष राजेन्द्र महतोले मुख्य रुपमा जनसङ्ख्यालाई आधार बनाउनुपर्ने संवैधानिक व्यवस्थालाई आधार बनाइनुपर्ने बताए।

“यसअघि २४० निर्वाचन क्षेत्रमा मधेशले ११६ क्षेत्र पाएको थियो, अब विसं २०६८ को जनसङ्ख्यालाई पनि आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने सुझाव मैले दिएको छु”, उनले भने।

लोकतन्त्रमा सबैको संवाहक राजनीतिक दल भएकाले सुझाव लिन छलफल आयोजना गरिएको आयोगले जनाएको छ। छलफलमा काँग्रेस, एमाले, माओवादी केन्द्र, तराई केन्द्रित दल, नेपाल मजदुर किसान पार्टीलगायत दललाई सहभागी गराइएको आयोगका प्रवक्ता गणेशराज कार्कीले जानकारी दिए।

दलका नेतासँग छलफल गरेपछि आयोगका अध्यक्ष कमलनारायण दास तथा सदस्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी अहिलेसम्म भएका प्रगतिका विषयमा जानकारी गराए। “क्षेत्र निर्धारणका लागि आवश्यक सूचना संकलन गरी धेरै जनसङ्ख्या भएका सहरमा आयोगले पदाधिकारी खटाइएको प्रधानमन्त्री देउवालाई जानकारी गराइयो”, उनले भने।

आयोगका पदाधिकारीसँगको छलफलपछि प्रधानमन्त्री देउवाले आयोगलाई आवश्यक पर्ने स्रोतसाधन जुटाउन सहयोग गरिने प्रतिबद्धता जनाउनुभएको प्रवक्ता कार्कीले जानकारी दिए। रासस

 

प्रकाशित: १५ श्रावण २०७४ १४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App