१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘प्रधानमन्त्री भए खाल्डाखुल्डी पुर्थें’

दिया मास्के, अभिनेत्री
तपार्इंलाई मनपर्ने सहर कुन हो ?

मलाई मनपर्ने सहर काठमाडौं नै हो । पछिल्लो समय प्रदूषित भए पनि अन्य ठाउँमा भन्दा यहाँको हावापानी र मौसम राम्रो छ । नजिकका पहाड पनि मनपर्छ  । पुराना कलाकृति र पर्यटकीय क्षेत्र र दरबार भएकाले मलाई काठमाडौं मनपरेको हो । 

काठमाडौंको मनपर्ने पक्ष के हो ?
यहाँको मौसमी अनुकूलता अति नै मनपर्छ । स्वास्थ्य सेवा, सरकारी सेवा, शिक्षालगायत आफूलाई आवश्यक पर्ने सेवा तुरुन्तै लिन पाउनु राम्रा पक्ष हुन् । हावापानी र पुराना दरबार एकदमै राम्रो लाग्छ । कहिलेकाहीँ फुर्सद भयो भने घुम्न निस्कन्छु ।

तपाईंको सपनाको सहर कस्तो हुनुपर्छ ?
मेरो सपनाको सहर सफा, सुग्घर र व्यवस्थित हुनुपर्छ । सहर यस्तो होस्, त्यहाँ बसेर पनि गाउँको महसुस गर्न सकियोस् । सडक र यातायातको सास्ती नहोस् । नजिकै घुम्ने र आराम गर्ने हरियाली ठाउँ मिलोस् । सबैखाले सेवा–सुविधा लिन कुनै अप्ठेरो नपरोस् ।

हाम्रा सहर किन व्यवस्थित हुन नसकेका होलान् ?
हाम्रा सहर व्यवस्थित हुन नसक्नुको मुख्य कारण भएका योजनालाई मूर्तरूप दिन नसक्नु हो । अहिलेसम्म सहर सपार्नका लागि सरकारले ल्याएका योजना पूरा गर्ने हो भने काठमाडौं संसारले नसोचेको राम्रो बन्न सक्छ । काम गर्ने हो भने सहर व्यवस्थित बन्नलाई धेरै समय लाग्दैन । अहिले प्राकृतिक सुन्दरता भए पनि विकास निर्माणका कामले सोचेजस्तो गति लिन नसक्दा हामी अरु देशभन्दा धेरै पछि परेका छौँ । 

कतै घुम्न जानुपर्‍यो भने कुन ठाउँलाई रोज्नुहुन्छ ?
मलाई एक्लै हिँड्न मनपर्छ । यो मेरो सानैदेखिको स्वभाव हो । कहिलेकाहीँ फुर्सदका बेला पाटन, भक्तपुर र वसन्तपुर दरबारतिर घुम्न जान्छु । यी ठाउँमा घुमेपछि आनन्द आउँछ ।  

उपत्यकामा तपाईंलाई मनपर्ने खानेकुरा के हो ?
यहाँको मनपर्ने चिज नेवारी खाना हो । यसबाहेक नेवारी संस्कृतिसँग सम्बन्धित सबै चिज मनपर्छ । 

सहरलाई सफा र सुन्दर बनाउन के गर्नुपर्ला ? 
सबै मिलेर विकास निर्माणका काम गुर्नपर्छ । सबै सरकारी निकाय पारदर्शी र निष्पक्ष हुनुपर्छ । अहिले जे भइरहेको छ, त्यसरी नै अघि बढ्ने हो भने सहरलाई व्यवस्थित पार्न धेरै समय लाग्छ । सहरको सुन्दरता र मौलिकता जोगाउन सबै एकजुट भएर जुट्ने हो भने विकास धेरै टाढा छैन । धुँवाधुलो, ट्राफिक जाम, पार्किङलगायत विषयलाई केन्द्रमा राखेर काम गर्नुपर्छ । 

उपत्यकाको मननपर्ने पक्ष के हो ?
यहाँको दिक्कलाग्दो पक्ष प्रदूषण, ट्राफिक जाम, जथाभावी पार्किङ, जनसंख्याको चाप नै हो । सबै निकाय जिम्मेवार भएर लाग्ने हो भने यी समस्या समाधान हुन्छ । 

तपाईं विदेशका धेरै सहर पनि घुम्नुभएको छ, त्यहाँको सहरसँग हाम्रा सहरलाई दाँज्दा कस्तो लाग्छ ?
मलाई फ्रान्सको ग्याप भन्ने ठाउँ एकदमै मनपर्छ । त्यो ठाउँमा गाउँ र सहर दुवैको विशेषता पाउन सकिन्छ । त्यहाँ अग्लाअग्ला पहाड छन् । विदेशका सहर र हाम्रा सहरको विशेषता नै फरक छ । त्यहाँका सहरमा बनावटी कुरा धेरै पाइन्छ । हाम्रो प्राकृतिक चिज छन् । मैले विभिन्न मुलुकका आधा दर्जनजति सहर भौतिक निर्माणले सजिएका थिए । हाम्रा हरेक सहरको विशेषता भनेकै मौलिकता हो । 

काठमाडौंका सडकमा यात्रा गर्दा कस्तो महसुस हुन्छ ?
यहाँका सडकमा यात्रा गर्दा राजधानीमा छुजस्तो लाग्दैन । अहिले काठमाडौंमा हिँडिसक्नु छैन । बाध्यताले मात्रै ओहोरदोहोर गर्नुपरेको छ ।  जिम्मेवार निकायले यसको समस्या खोजेको देखिन्न ।

तपाईं एक महिनाका लागि प्रधानमन्त्री भएको भए के गर्नुहुन्थ्यो ?
सबैभन्दा पहिला त सडकका खाल्डाखुल्डी नै पुर्थें । त्यसपछि प्रदूषण रोकथाम गर्थें । नागरिकसँग सल्लाह गरी प्रदूषण कम गर्ने कार्यक्रम ल्याउँथेँ । 
प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: ९ श्रावण २०७४ ०४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App