१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

फोरम–नयाँ शक्ति एकता तत्काल टर्‍यो

काठमाडाैँ – नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कार्यकारी अधिकारसहित ‘फस्ट मेन’ दाबी गरेपछि नयाँ शक्ति र मधेसी जनअधिकार फोरम, फोरम नेपालबीचको एकता तत्कालका लागि टरेको छ ।

साउन १५ भित्रै एकता गर्नेगरी आइतबार साँझ भट्टराई निवासमा दुई पार्टीका शीर्ष नेताहरूबीच भएको वार्ता बिनानिष्कर्ष टुंगिएको नेताहरूले जनाएका छन् ।

एकीकृत पार्टीको कार्यकारी अध्यक्षमा बाबुराम भट्टराईले दाबी गरेपछि वार्ता निष्कर्षविहीन

फोरमका नेताहरूले नयाँ शक्तिका संयोजक भट्टराई यसअघि भएका सहमतिबाट पछि हटेको आरोप लगाएका छन् ।  नयाँ शक्तिका नेताहरूले एकतापछि कार्यकारी अधिकारसहित  ‘फस्ट मेन’ को दाबी आफ्नो पक्षले पाउनुपर्ने दाबी कायमै रहेको बताएका छन् । 

आइतबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट छुट्टिएर गएका मोहन वैद्य, नेत्रविक्रम चन्द, भट्टराईलगायत नेतालाई पुरानै घरमा फर्कन आह्वान गरेपछि भट्टराई फोरमसँगको एकता प्रक्रियाबाट पछि हटेको अनुमान गरिएको छ । ‘आइतबारबाट परिस्थिति केही बिग्रेको देखिन्छ । माओवादी केन्द्रको निर्णय सार्वजनिक भएपछि यस्तो भएको हुनसक्छ’, फोरम नेपालका एक शीर्ष नेताले भने ।

वार्तामा सहभागी नयाँ शक्तिका नेता देवेन्द्र पौडेलले फोरमसँग एकीकरण भएपछि एकिृकत पार्टीको ‘फस्ट मेन’ हुनेगरी कार्यकारी अध्यक्ष भट्टराई हुनुपर्ने आफ्नो  अडान कायमै रहेको बताए । ‘हाम्रो दाबी  स्पष्ट छ, एकीकृत पार्टीमा पहिलो पोजिसन  र कार्यकारी अध्यक्ष बाबुराम भट्टराई हुनुपर्छ’, पौडेलले भने, ‘पूर्वप्रधानमन्त्री भइसकेको र  अन्य राजनीतिक दृष्टिकोणबाट पनि सिनियर भएको व्यक्ति दोस्रो पोजिसनमा बस्ने कुरा आउँदैन ।’ 

फोरम नेपालका प्रमुख सचेतक शिवजी यादवले भने एकीकृत पार्टीको अध्यक्षमा उपेन्द्र यादव र सर्वोच्च नेता या वरिष्ठ नेतामा  भट्टराई रहने सहमति यसअघि भएको तर आइतबार भटट्टराई त्यसबाट पछि हटेको बताए । ‘हिजो (शनिबार) सम्म एकीकृत पार्टीको अध्यक्ष उपेन्द्र यादव र सर्वोच्च नेता या वरिष्ठ नेता भट्टराई हुने सहमती करिबकरिब भएको थियो । हाम्रो अडान पनि यही हो,’ उनले भने । आइतबार साँझ भएको वार्ताबारे भने आफू अनभिज्ञ रहेको उनले बताए । 

आइतबारको वार्तामा फोरम नेपालबाट अध्यक्ष्र यादव, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र नेता अशोक राई तथा नयाँ शक्तिबाट संयोजक भट्टराई, नेता पौडेल र पर्शुराम तामाङको उपस्थिति थियो ।  वार्तामा एकीकृत पार्टी नाम के राख्ने भन्ने विषयमा पनि टुंगो लाग्न सकेन । समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नयाँ शक्ति फोरम, संघीय समाजवादी फोरमलगायत नाममा चर्चा भएको नेता पौडेलले बताए । उनले पार्टी एकता वार्ता जारी रहने पनि बताए । ‘आइतबारको वार्ता असफल भयो  भन्न मिल्दैन तर बिनानिष्कर्ष टुंगिएको हो,’ पौडेलले भने ।

सोमबार नयाँ शक्तिको बैठक बस्दै छ । सुरुमा केन्दी्रय परिषद् र त्यसपछि केन्दी्रय समितिको बैठक बस्नेछ । यसैगरी साउन ११ मा फोरम नेपालको बैठक बस्ने भएको छ । 

फोरम नेपालका नेताहरू पहिलो र दोस्रो चरणको चुनावपछि फोरम नेपाल बलियो देखिएकाले एकृीकत पार्टीको अध्यक्ष  फोरमबाटै हुनुपर्ने अडानमा छन् । 

प्रकाशित: ९ श्रावण २०७४ ०२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App