१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

विवाहको उत्पत्ति, प्रकार र परिवर्तन

–रोशन दाहाल

विवाहको प्रचलन मानिसहरुमा मात्रै छ । विवाह प्राचीनकालदेखि चलिआएको एउटा संस्कार हो । विश्वकै पहिलो लिखित ग्रन्थ मानिने ऋग्वेदमा सूर्य र सूर्याको प्रसङ्गमा विवाह संस्कारका सबै वैदिक मन्त्रहरु उल्लेख गरिएका छन् । विवाह संस्कारसँग सम्बन्धित सबै क्रियाकलाप (पाणिग्रहण आदि) पनि ऋग्वेदमा उल्लेख छन् । भन्नुको तात्पर्य के भने वैवाहिक प्रथा त्यस बेलादेखि नै प्रचलनमा थियो । चार वेदमध्ये सबैभन्दा पछिल्लो अथर्व वेदमा पनि विवाह संस्कारबारे उल्लेख छ ।
मानव जीवनलाई आदर्श रुपमा सञ्चालन गर्न विवाहको चलन सुरु भएको हो । आफ्नो सम्पत्ति अरुलाई दान दिँदा विधिपूर्वक दिने चलनजस्तै कन्याका पिताले आफ्नी छोरीलाई धार्मिक विधि अपनाएर कुमारको हातमा सुम्पने चलन चलेको हो ।
पुरातनकालमा भने विवाहको चलन थिएन । विवाहको चलनबारे हाम्रा पुराणमा एउटा रोचक कथा पाइन्छ । ऋषि उद्दालकका छोराकी पत्नीलाई कुनै बलियो व्यक्तिले जबर्जस्ती लैजान बल गर्यो । यो देखेर उद्दालकले कुनै प्रतिक्रिया जनाएनन् । उद्दालकका छोरा श्वेतकेतुलाई आफ्नी आमामाथि बलजफ्ती भएको मन परेन । उनले त्यसको प्रतिकार गरे । उद्दालकले छोरालाई भने, ‘नरोक, यो हाम्रो पहिलेदेखिकै सामाजिक परम्परा हो ।’ यस घटनाले श्वेतकेतुलाई यति असर गर्यो कि पछि उनले जबरजस्ती अर्कालाई उठाउने व्यवस्था अन्त्य गरे । उनले एक पत्नी–एक पतिको व्यवस्थाको पैरवी गरे । अर्को एउटा प्रसङ्गअनुसार दीर्घतमस नाम गरेका ऋषि थिए । उनी जन्मान्ध थिए । उनको निरङ्कुश यौनाचारको बानी सहन नसकेर पत्नीले उनलाई त्यागिन् । यो देखेर दीर्घतमसले महिलाले श्रीमान्लाई छोड्न नहुने नियम बनाए । यी सबै घटनामा पतिपत्नीको अनिवार्यता देखिए पनि विवाह र धार्मिक क्रिया जोडिएका थिएनन् ।
पत्नीको महत्व कति हुन्छ भन्ने झल्काउनका लागि रामायणको एउटा कथा रोचक छ । रामले जीवनमा सीताबाहेक कसैसँग विवाह गरेनन् । सीतालाई पवित्रताको नाममा जंगल छाडेपछि भएको अश्वमेध यज्ञ पूरा हुन सकेन । उनले सीताको प्रतिमा बनाएर यज्ञ पूरा गरे ।
महाभारत कालसम्म आइपुग्दा चार वर्णाश्रमको व्यवस्था भइसकेको देखिन्छ । महाभारतको आदिपर्वमा आश्रमधर्म र पतिव्रतधर्मका बारेमा उल्लेख गरिएको पाइन्छ । शिक्षा ग्रहण गर्न गुरुगुल जाने र त्यहाँ ब्रह्मचर्याश्रम सकिएपछि धार्मिक विधिअनुसार विवाह गर्ने चलन चल्यो । विवाह एउटा संस्कारवान् व्यक्तिका लागि अनिवार्य मानिन थालियो । दुई आत्माको पवित्र बन्धनको रुपमा लिन थालियो । मनुष्य अविवाहित हुँदासम्म अधुरो भएको मानिन थालियो ।
फिसोन, टेलर आदि पश्चिमी विद्वानका अनुसार विविध व्यापार र बन्दोबस्तीबाट अकूत सम्पत्ति जम्मा हुन थालेपछि मात्रै एउटा पुरुषले धेरै पत्नी राख्ने चलन विकसित भयो । सम्पत्तिमा दाबी विरोधका किचलो उठ्न थालेपछि मात्रै एउटी पत्नीसँग धार्मिक विवाह गर्ने, सम्पत्तिको हकदार धर्मपत्नीका सन्तानको मात्र हुनेजस्ता नियम थपिन थाल्यो ।
हाम्रा शास्त्रले विभिन्न प्रकारका विवाहका बारेमा उल्लेख गरिएका छन्ः
ब्रह्म विवाहः यस विवाहअनुसार आभूषण, वस्त्र आदिबाट अलङ्कृत गरेर कन्यादान गरिन्छ । यस विवाहमा दुवै पक्षको सहमतिबाट समान वर र कन्याको विवाह निश्चित गरिन्छ । अहिलेको मागी विवाहलाई यस खालको विवाह भन्न सकिन्छ ।
प्रजापत्य विवाहः यस्तो विवाहमा कन्यासँग अनुमति लिइँदैन । अभिभावकले योग्य वर हेरेर कन्याको विवाह गरिदिन्छन् । विवाह भने विधिवत् हुन्छ । दुवैले एकसाथ मिलेर धर्माचरणको व्रत लिन्छन् ।
आर्ष विवाहः यस विवाहमा कन्यापक्षलाई कन्याको मूल्य तिरिन्छ । वर पक्षबाट विशेषगरी गाई दिने चलन हुन्छ ।
दैव विवाहः यस विवाहमा कुनै तपस्वीलाई कन्यादान गरिन्छ । कुनै सेवा कार्यको मूल्यको रुपमा कन्यादानमा दिइन्छ ।
महाभारतकालमा यी चार विवाहलाई धर्मसम्मत मानिन्थ्यो ।
गन्धर्व विवाहः यस विवाहमा परिवारको सहमति हुँदैन । कुनै रीतिरिवाज अपनाइँदैन । दुष्यन्त र शकुन्तलाले गन्धर्व विवाह गरेका थिए । कथाअनुसार एक पटक शिकार गर्ने क्रममा संयोगवश दुष्यन्त महर्षि कण्वको आश्रममा पुगे । त्यसबेला महर्षि आश्रममा थिएनन् । दुष्यन्तले शकुन्तलासँग गन्धर्व विवाह गरे । उनीहरुबीच शारीरिक सम्बन्ध गाँसियो । केही समय कुर्दा पनि महर्षि कण्व नआएपछि दुष्यन्त शकुन्तलालाई त्यहीँ छाडेर दरबार गए । जाने बेलामा उनले शकुन्तलालाई एउटा औँठी दिए । पछि शकुन्तलाले छोरा जन्माइन् । छोरा बोकेर उनी दुष्यन्तकहाँ पुगिन् । दुष्यन्तले दिएको औँठी उनले बाटोमै हराइन् । औँठीको अभावमा दुष्यन्तले शकुन्तलालाई स्वीकार गरेनन् । पछि ‘शकुन्तलालाई स्वीकार गर’ भनेर आकाशवाणी भयो र उनले स्वीकार गरे । यही घटनामा अर्को एउटा मतअनुसार पछि दुष्यन्तलाई दुर्वासाको श्राप परेको थियो । श्रापअनुसार उनको स्मरण शक्ति गुम्यो । पछि विभिन्न माध्यम हुँदै शकुन्तलालाई दिएको औँठी उनीकहाँ पुग्यो । औँठी देखेपछि उनले शकुन्तलासँगको घटना सम्झिए र शकुन्तलालाई छोरासहित स्वीकार गरे ।
आसुर विवाहः यस्तो विवाहमा वरपक्षद्वारा शुल्क दिएर कन्या ग्रहण गरिन्छ । कन्याका आफन्तलाई  धन या प्रलोभन देखाएर स्वेच्छाले कन्या प्राप्त गरिन्छ ।
राक्षस विवाहः यस्तो विवाहमा कन्याको सहमति हुँदैन । उसलाई अपहरण गरेर जबर्जस्ती विवाह गरिन्छ ।
नेपालमै कुनै–कुनै जातिमा केही समय पहिलासम्म विभिन्न जमघट हुने ठाउँबाट आफूलाई मन परेकी कन्यालाई जबर्जस्ती उठाएर लैजाने चलन थियो । यस्तो चलन अहिले धेरै कम भएको छ । त्यस्ती कन्यालाई घरमा फिर्ता लगिँदैन । अपहरण गरेकै पुरुषलाई कन्यापक्षले स्वीकार गर्छ ।
पैशाच विवाहः सुतेको अथवा नशामा उन्मत्त कन्यालाई एकान्तमा बलात्कार गरी जबर्जस्ती ग्रहण गर्नुलाई पैशाच विवाह भनिन्छ ।
माथिका अन्तिम चारवटा विवाहलाई शास्त्रले मर्यादाविपरीत मान्छ ।
आचार्य चाणक्यले विवाहका बारेमा भनेका छन्, ‘कन्याको बुबाको इच्छाअनुसार गरिने विवाह धर्मसम्मत हुन्छन् । अन्य चार विवाह धर्म मार्यादाअनुकूल छैनन् । यी विवाह कन्याको बलात्कार हो । सबैको प्रशन्नता हुने विवाह नै सर्वोत्तम हो । यसबाट सबैको सुख वृद्धि हुन्छ ।’
माथि चर्चा गरिएका आठ प्रकारका विवाहप्रथा उल्लेख हुनुले त्यसबेला त्यस्ता प्रथा प्रचलित थिए भनेर अनुमान गर्न सकिन्छ । भनिन्छ, पुरातनकालमा विभिन्न जातिहरुको प्रचलित वैवाहिक चलन हेरेर मनु आदि स्मृतिकारहरुले यी विवाहलाई मान्यता दिएका थिए । उनले सुरुका चार विवाह ब्राह्मण वर्गको लागि, राक्षस र गन्धर्व विवाह क्षत्रियको लागि र आसुर विवाह वैश्य र शुद्र वर्गका लागि भनेर छुट्याएका थिए । पैशाच र आसुर विवाह आर्यहरुको कुनै वर्गको लागि पनि उचित मानिँदैन थियो ।
जेहोस्, समयक्रममा बिस्तारै विवाह एउटा अनिवार्य धार्मिक संस्कार बन्न पुगेको छ । हाम्रा पुर्खाले विवाहको जुन परम्परा बसाले, ठाउँ–अवस्था–जाति र प्रकृतिअनुसार तिनले त्यसलाई टिप्दै आफ्नो जीवनको अंग बनाएका छन् । विवाह समाजको सबैभन्दा सशक्त परम्पराका रुपमा स्थापित भएको छ तर समय क्रमले विवाहको शैली, वैवाहिक जीवनजस्ता धेरै कुरामा निकै फेरबदल पनि ल्याएको छ ।

(दाहालका आध्यात्मसम्बन्धी आधा दर्जन पुस्तक प्रकाशित छन् ।)
   

प्रकाशित: ७ श्रावण २०७४ ०८:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App