विमर्श

विश्वेश्वरका भयवादी कथा

शनिबार, ०७ साउन २०७४, १३ : २० नागरिक

143


दीपक सुवेदी

नेपाली राजनीतिका साथै आधुनिक नेपाली कथाका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालाको जन्म १९७१ भाद्र २४ गते (सन् १९१४ सेप्टेम्बर ९) का दिन बुबा कृष्णप्रसाद कोइराला र आमा दिव्याका पुत्ररत्नका रुपमा भारतको धार्मिक सहर बनारसमा भएको थियो। मोरङ जिल्लामा घरबार भए पनि पिता कृष्णप्रसादले सर्वस्वसहित निर्वासनको सजाय पाएकाले यिनको बाल्यकाल पनि बाबुसँगै भारतमा बित्यो। यिनले प्रारम्भिक अध्ययन काशी हिन्दू विश्वविद्यालयबाट, बिए बनारस हिन्दू विश्वविद्यालयबाट र कलकत्ताबाट बिएलको औपचारिक अध्ययन पूरा गरेका थिए।

राजनीतिमा आफूलाई समाजवादी मान्ने कोइराला आफ्ना कथामा मान्छेलाई खुला र नांगो रूपमा उसको अन्तस्करणभित्र रहेको भयको पर्दाफास गराइदिन्छन्। भयवाद सिद्धान्तअन्तर्गत मानव जीवनको आधारभूत कुरा भनेको भय हो र यसैले जीवनलाई परिचालित गर्दछ भन्ने दर्शन नै कोइरालाका कथाको दर्शन हो।

राजनीतिका क्षेत्रमा सन् १९४२ मा कांग्रेस सोसलिस्ट पार्टी बिहार शाखाको संगठन सचिव भए। अंग्रेजविरोधी भारत छोड आन्दोलनबाट भारतमा रहँदै राजनीतिमा प्रवेश गरेका कोइराला नेपालमा राणाविरोधी सशस्त्र जनक्रान्तिपछि २००७ सालमा गृहमन्त्री बने। ०१५ मा बहुदलीय व्यवस्थामा आधारित संसद्को चुनावमा विराटनगर क्षेत्रबाट कोइराला विजयी भई ०१६ असार १६ देखि ०१७ पुस १ सम्म नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री समेत बनेका थिए।

प्रेमचन्द्र, रवीन्द्रनाथ टेगोर, टोल्सटोय, तुर्गनोभ, चेखव, गोर्की आदि साहित्यकारबाट प्रभावित एवं प्रेरित विश्वेश्वरप्रसाद कोइरालाको राजनीतिक क्रियाकलाप पनि निकै महत्वपूर्ण रहेको छ। नेपाली कांग्रेस पार्टीका अध्यक्ष समेत भएका कोइराला 'सोसलिस्ट इन्टरनेसनल'का सक्रिय सहभागी समेत थिए।

कोइरालाको साहित्य लेखन भने बनारसमा बस्दा शान्तिप्रसाद द्विवेदीको प्रेरणाबाट सुरु भएको मानिन्छ। हिन्दीमा कथा लेखनको प्रारम्भ कसैले १९८५ मा लेखेको 'हरिदत्त' बाट भएको भनेका छन् भने कसैले १९८७ मा 'हंस' पत्रिकामा प्रकाशित 'वहाँ' शीर्षकको कथाबाट भएको भनेका छन्।

कानुनमा स्नातक गरेपछि दार्जिलिङमा वकालती पेसामा संलग्न रहँदा सूर्यविक्रम ज्ञवालीको प्रेरणा पाएर उनले नेपालीमा कथा लेख्न थालेका थिए। १९९२ मंसिरको शारदामा प्रकाशित 'चन्द्रवदन' यिनको पहिलो नेपाली कथा हो। जुन नेपाली कथाकारितामा मनोवैज्ञानिक यथार्थको कथा लेखन आरम्भ बिन्दू पनि हो। यिनका कथासंग्रह दोषी चस्मा (२००६) र श्वेतभैरवी (०३९) प्रकाशित छन् भने सम्पूर्ण कथा हरिप्रसाद शर्माद्वारा सम्पादित विश्वेश्वरप्रसाद कोइरालाका कथा (०५०) कृतिमा संकलन गरिएका पाइन्छन्।

आधुनिकताका लागि आवश्यक सर्तको रूपमा रहेको नवीन कथ्यको प्रयोग, नवीन रूपको स्थापना तथा विद्यागत पहिचानको दृष्टिले सफल देखिएका विश्वेश्वरप्रसाद कोइराला भयवादी कथाकार हुन्। मानिसका अन्तर्मनमा रहेका मानसिक अन्तर्द्वन्द्वको प्रस्तुतीकरण गर्ने कथा भयवादी कथाअन्तर्गत पर्छन्।

राजनीतिमा आफूलाई समाजवादी मान्ने यी व्यक्तित्व आफ्ना कथामा मान्छेलाई खुला र नांगो रूपमा उसको अन्तस्करणभित्र रहेको भयको पर्दाफास गराइदिन्छन्। भयवाद सिद्धान्तअन्तर्गत मानव जीवनको आधारभूत कुरा भनेको भय हो र यसैले जीवनलाई परिचालित गर्दछ भन्ने दर्शन नै कोइरालाका कथाको दर्शन हो। उनी आफ्ना कथामार्फत मानवीय जीवनका भयका विविध पक्षको उद्घाटन गर्ने उद्देश्य राख्छन्। उनले भयलाई मानिसको चेतनासँग सम्बद्ध गर्दै त्यसको भय विश्लेषण रोचक तथा कलात्मक ढंगबाट गरेका छन्। उनले चेतनामा रहेको दमित भयको पनि उद्घाटन गर्दै भयशक्ति कति धेरै प्रभावशाली हुन्छ भन्ने भयवादी तथ्यलाई कथावस्तुमा प्रस्तुत गरेका छन्। त्यसैले गर्दा उनका कथाका प्रायः सबै पात्रमा भय प्रेरणा प्रबल भएकाले ती भय कुण्ठाका सिकार भएका छन्।

कुनै पनि कथाकारले मानवीय जीवनका भयको प्रस्तुत गर्ने पात्र सिर्जना गरी ती पात्रको भयको गहिराइभित्र पसेर सूक्ष्म भयतन्तुलाई पकड्न सक्ने सामर्थ्य हुनु र भयपूर्ण जीवनको बचाइमा धेरै मृत्यु आइरहेका हुन्छन् साथै जीवन पनि जीवनजस्तो भएन भने मृत्यु हो भनेर एउटा भयपूर्ण जीवनको सार्थकता खोजी गर्दै भयमय यथार्थको बोध गराउनु चानचुने कुरा होइन। त्यस्तै कोइराला भयको अन्तर्य ययार्थको खोजी गर्ने क्रममा भयको तहसम्म पुगी कहिले कृष्ण रायलाई जन्माउँछन् त कहिले केशवराजलाई त, कहिले सिपाही र सर्वसाधारणलाई भयको लगाम लगाउँछन्।

यसरी भय मनका तहमा पूर्णतः बहिष्कृत यथार्थलाई भयप्रबल भएको अवस्थामा मान्छेका मनमा कस्ता विचार आएका हुन्छन् भन्ने कुराको अत्यन्तै कलात्मक रूपमा खोजी गर्न सक्षम छन् कोइराला। उनले आफ्ना कथामा पात्रको भयभीत मनहरूको अन्तर्संघर्ष देखाइदिएका छन्। उनी मानवले गर्ने निर्णयलाई भयको सक्रियतामा हुने कुरामा विश्वास गर्छन्। त्यहीअनुरूप मानवीय क्रियाकलापलाई सोहीअनुरूप पात्रको सिर्जना गर्दै त्यो पात्रको सूक्ष्म भयको विश्लेषण गर्छन्। उनका पात्रको वास्तविक स्वरुप थाहा पाउन हामीले भयभीत मनलाई नै स्रोत बनाउनुपर्ने हुन्छ। उनले भयवादी विश्लेषणलाई पूरै स्वायत्त गरेर व्यक्ति–व्यक्तिको भयस्थितिका कार्यकारणको गूढ रहस्य पत्ता लगाएका छन्।

 कोइरालाका कथावस्तुको निर्माणमा चेतना र भयको ठूलो भूमिका रहेको हुन्छ। विसंगति र मानव जातिका सन्त्रास, अर्थहीनता तथा पराजित भय नियतिको चित्रवत रूप कथामा उतारिएको र पात्रहरूको क्रिया व्यापार भयद्वारा अनुप्रेरित भएकाले उनका कथा यथार्थ लाग्छन्। आफ्ना कथामा भयपूर्ण स्थितिमा पात्रका मनमा परेको प्रभावको खोजमा कोइराला साह्रै सबल देखिन्छन्।

जीवनलाई व्यवस्थित र निश्चित पार्न साथै सोही हेर्न चाहने मानवीय इच्छा हुन्छ तर चाहेजस्तो बनाउन असमर्थ स्थितिसँग भयभीत छ। भयले गर्दा मानिसमा तनाव बढ्छ। भयले गर्दा साना ओहोदामा बस्ने मानिसले उच्च ओहोदामा बस्ने मानिसलाई खुसी पार्न अनेक कार्य गर्ने गर्छ। साना कर्मचारीले ठूलालाई चाकरी गर्दा अलिकति कमजोरी हुन गएका खण्डमा रिसाउने भय हुन्छ। यसले गर्दा सानो कर्मचारी भयमय स्थितिमा बाँच्न विवश हुन्छ।

...जर्साब घोडामा सवारी भयो। केशवराज डरले थर्थर कामिरहेका थिए। भनेजस्तो एकान्तको मौका पाएर डरले भकभकाउँदै उनले बिन्ती गरे, 'प्रभु, चस्माको दोष ...माफ पाऊँ।'

जर्साबले घोडा रोकेर नबुझी सोध्नुभयो, 'केको माफी?' केशवराजको सातो गयो। जर्साब कति रिसाउनुभएको रहेछ, माफीसम्म दिन खोज्नुहुन्न। उनले चारैतिर अँध्यारो देख्न थाले। काम्न लागेका गोडाले भर दिएन। दुवै हातले कपाल समातेर उनी थुचुक्क बसे। ...केशवराज एक्कासि ५० वर्षका बूढाजस्ता देखिन थाले। हिँड्दा कम्मरमा हात लगाउनुपर्ने भयो। लाठीको आवश्यकता परेको उनले थाहा पाए...। यसरी कोइरालाको दोषी चस्मा कथामा केशवराजले जर्साबलाई स्वस्ति गर्न नपाउँदा उसको मनमा जागृत भएको भयको छटपटाहट र उनको मनले त्यसले पारेको प्रभाव भनेको आज पनि चाकरी गर्ने प्रथामा अल्भि्कएका मानिसको भयको प्रतिविम्ब नै हो।

वास्तविक वस्तु, समस्यासित टाढा रहेर हुने भय कृत्रिम हो। रुढीवादी अन्धविश्वासले मान्छेलाई भयभीत बनाउँछन्, यो वास्तविक हुँदैन। यसमा शंका र भ्रम आउँछ। डोरीलाई सर्प देख्नु भ्रम भय हो। त्यही डोरीलाई सर्प पो हो कि भनेर हेर्नु शंका भय हो।

शंकाको भयभाव मानवीय मनको विकार हो। यो सबै अवस्थामा जागृत हुँदैन, कुनै पनि व्यक्तिको विपक्षमा घटित घटनाले शंका भय जाहेर गर्न सामान्य घटनाले पनि भयभाव जागृत गराउँछ, जसरी शत्रु कथाका कृष्ण रायलाई लाठी प्रहारको घटनाले गराएको छ। किनभने, उनले उक्त घटनाको टुंगो नलागीकनै प्रतिक्रियास्वरूप भय जाहेर गरे। यो मानवको स्वभाव हो, जसलाई अन्य कार्य वा घटना तथा जीवन सञ्चालकको रूपमा र वनको बाघले खानु कहाँ छ कहाँ मनको बाघले मानिसलाई खान्छ भन्ने उक्तिको प्रमाणका रूपमा लिन सकिन्छ।

कथामा आफूलाई कसैको पनि शत्रु नदेख्ने पात्र सुतेका बेला टाउकाको छेउमै रहेको सिरानीमा लाठी हानेको घटनापछि सबैलाई शत्रु देख्न पुगेको भयपरक प्रस्तुति उनले कथामा अत्यन्तै यथार्थपरक ढंगले गरेका छन् भने मान्छेका मनभित्र भयहरूको प्रकटीकरण कसरी हुन्छ भन्ने कुरालाई कथामा यिनले आफ्नो कथ्य विषय बनाएका छन्।

भयको क्षेत्र अनन्त क्षितिज जस्तै छ। यात्रीका पदयानले नभेटिएको क्षितिजजस्तै छन् चेतना, ज्ञान र भयका आकाश। प्राणीमा चेतना, ज्ञान र भय गरी तीन तह रहेका हुन्छन्। चेतना र ज्ञानको नजिक भय हुन्छ, भय थिचिएर मिचिएर बस्न बाध्य हुन्छ र कुनै अवसर तथा मौकामा उग्ररूप लिँदै विस्फोटन हुन पुग्छन् भन्ने दृष्टिलाई कोइरालाका कथाले प्रस्तुत गरेका छन्। मानिस आफ्नो जीवनमा जे काम गर्छ, त्यसमा शक्ति भयबाट नै पाउँछ। यो भय प्रेरणाले कस्तो अकल्पित र अचिन्तित रूप लिन सक्छ, यो कुरा कोइरालाका कथामा पाइन्छ।

यिनका कथामा मानिसको अन्तर्मनमा रहेको भय र त्यसले सिर्जना गरेको परिणति नै मूल चुरो हो। भयमा डुबेकाले जति प्रगति गर्नुपर्ने हो, त्यति प्रगति गर्दैन भने अर्कातिर उसको स्वाभिमान पनि बच्दैन। भय मान्नेले कहिल्यै शिर ठाडो पारेर हिँड्न पाउँदैन र त्यस्ताले सपनामा पनि सुख पाउँदैन। त्यसैले आफ्नो स्वाभिमानलाई बचाउन र जीवनमा प्रगति गर्न तथा सुखपूर्वक बाँच्न भयलाई निरुत्साहित गर्नुपर्छ भन्ने सन्देश दिँदै यसरी भयजस्तो विषयलाई संक्षिप्त आकारमा प्रस्तुत गरेर रोचक ढंगले विश्लेषण गरी सत्य भयको उद्घाटन गर्न सक्नु कथाकार विश्वेश्वरप्रसाद कोइरालाको सफलता हो।







यसमा तपाईको मत


अन्य समाचार

फेसबुक एपको अटोप्ले फिचर - बन्द किन गर्ने र कसरी गर्ने ?

फेसबुक एपको अटोप्ले फिचर - बन्द किन गर्ने र कसरी गर्ने ?

हानिकारक र अनुचित विषयका भिडियोहरुबाट टाढा रहनुको लागि पनि फेसबुकमा अटो प्ले फिचर बन्द गर्नु उचित हुन्छ । ...

१ लाख सम्मका उत्कृष्ट स्लिम र पोर्टेबल ल्यापटपहरु

१ लाख सम्मका उत्कृष्ट स्लिम र पोर्टेबल ल्यापटपहरु

धेरै प्रयोगकर्तालाई ल्यापटपमा पोर्टबिलिटिको आवश्यकता पर्छ । ...

८० करोड विन्डोज १० प्रयोगकर्ता

८० करोड विन्डोज १० प्रयोगकर्ता

विन्डोज १० अहिलेको सबैभन्दा प्रचलित कम्प्युटर अपरेटिंग सिस्टम बनेको छ ...

कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग

कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग

स्लो कम्प्युटर फास्ट बनाउने सबैभन्दा फास्ट तरिका ! ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरु

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरु

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे ...

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका ...

स्मार्टफोनका लागि १००० जीबीको मेमोरी कार्ड

स्मार्टफोनका लागि १००० जीबीको मेमोरी कार्ड

स्मार्टफोनका लागि पनि १ टेराबाइट अर्थात् १००० जीबीको मेमोरी कार्ड उपलब्ध हुने भएको छ । ...

चाइनिज कम्पनी नुबियाको अचम्म लाग्दो स्मार्टवाच

चाइनिज कम्पनी नुबियाको अचम्म लाग्दो स्मार्टवाच

चाइनिज कम्पनी नुबियाले निकै अचम्म लाग्दो स्मार्टवाचको अनावरण गरेको छ ...

Ncell Footer Ad