१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पूर्वाञ्चल र एपिएफ विजयी

काठमाडौं- पूर्वाञ्चल र एपिएफले शनिबार राष्ट्रिय महिला छनोट क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। कीर्तिपुरस्थित त्रिविमैदानमा पूर्वाञ्चलले पश्चिमाञ्चलमाथि ९ विकेटले विजय पायो भने अर्को खेलमा एपिएफ क्लबले मध्यमाञ्चललाई ६ विकेटले हरायो। विजेता दुवैले समान २ अंक जोडेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेकाले राष्ट्रिय खेलकुद परिषद(राखेप) ले आइसिसी महिला विश्वकप छनोट प्रतियोगिताका लागि राष्ट्रिय छनोट प्रतियोगिता गरिरहेको छ। मंगलबार सम्पन्न हुने स्पर्धाबाट २४ खेलाडी बन्द प्रशिक्षणमा छनोट गर्ने राखेपले जनाएको छ।

शनिबार सुरुआती ब्याटिङ गरेको पश्चिमाञ्चल १८.२ ओभरमा ३८ रनमै अलआउट भयो। जवाफमा काजोलश्रेष्ठ र रश्मी शर्माले उत्कृष्ट ब्याटिङ गरेपछि पूर्वाञ्चलले ८ ओभरमा १ विकेट गुमाई लक्ष्य पार गरेको थियो।

अविजित काजोलले २१ र रश्मीले १३ रन बनाए। ओपनर काजोलले २४ बलमा १ चौका प्रहार गरिन्। उनलाई क्रिजमा साथ दिएकी रश्मीले १४ बलमा १ चौका हानिन्। अनुराधा चौधरी भने २ रन जोडेर आउट भइन्। उनी आउट हुँदा ३.३ ओभरमा पूर्वाञ्चलले १२ रनमात्र जोडेको थियो।

पश्चिमाञ्चलकी सुस्मिता गुरुङले १ विकेट लिइन्।

त्यसअघि पश्चिमाञ्चलबाट वर्षा राना र सरस्वती पुन बाहेक अन्यले गतिलो स्कोर गर्न सकेनन्। ओपनर वर्षाले १६ रन जोडिन्। उनले ३२ बल खेल्दै २ चौका प्रहार गरिन्। तर १०.१ ओभरमा वर्षा चौथो विकेटका रूपमा आउट भइन्। उनी पूर्वाञ्चलकी कविता गौतमबाट एलबिडब्लुको सिकार भइन्। वर्षा आउट भएपछि पश्चिमाञ्चलको ब्याटिङ सम्हालिन सकेन।सरस्वती पुनले ११ रन बनाएर टोलीको स्कोरबढाउने प्रयास गरिन्। तर उनलाई सन्तोषी चौधरीले रुबिना क्षेत्रीको हातबाट क्याचआउट गराइन्।

पश्चिमाञ्चलका अन्य खेलाडीले दोहोरो अंकमा स्कोर जोड्न सकेनन्। पाँच खेलाडीले खाता खोल्न भ्याएनन्। कप्तान इन्दु बर्माले २ रन बनाइन्। राष्ट्रिय टोलीकी सदस्य इन्दुलाई सरस्वतीले बोल्ड गरिन्।

राष्ट्रिय टोलीकी कप्तान रुबिना र कविताले पूर्वाञ्चलबाट २–२ विकेट लिए। सरस्वती र सवनम राईले समान १ विकेट लिए।

अर्को खेलमा एपिएफविरुद्ध सुरुआती ब्याटिङ गरेको मध्यमाञ्चलले १६ ओभरमा ८ विकेट गुमाई ३९ रन जोडेको थियो। मध्यमाञ्चलका कप्तान शोभा आले र श्रद्धा वाग्ले बाहेक अन्यले दोहोरो स्कोरमा रन बनाउन सकेनन्। शोभाले १२ रन र श्रद्धाले १० रन बनाए। क्रिजमा लामो समय टिक्ने प्रयास गरेकी शोभाले २८ बल खेलिन्। उनी एपिएफकी सीता रानामगरबाट क्याचआउट भइन्। सरिता मगरको बलमा सीताले शोभालाई आउट गरेपछि मध्यमाञ्चलको ब्याटिङ कमजोर भयो। श्रद्धा भने करुणा भण्डारीबाट बोल्ड भइन्।

एपिएफकी करुणा, सरिता र नीरा राजोपाध्यायले समान २ विकेट लिए।

 ज्योतिपाण्डेले १६ रन बनाएपछि जवाफमा एपिएफले ८.१ ओभरमा ४ विकेट गुमाई लक्ष्य पाएको थियो।

ओपनर ज्योतिले २० बलमा २ चौका प्रहार गरिन्। मध्यमाञ्चलकी रोजी कँडारीले २ विकेट लिइन्।

आइतबार मध्यपश्चिम र एपिएफ तथापश्चिमाञ्चल र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: ९ श्रावण २०७३ ०३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App