१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अन्तर्घातीलाई कारबाही हुन्छ : देउवा

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेताहरूले 'अन्तर्घात' का कारण स्थानी तहको पहिलो र दोस्रो चरण निर्वाचनमा पार्टी दोस्रो भएको बताएका छन्। स्थानीय तहको तेस्रो चरण निर्वाचन तयारीका क्रममा बिहीबार प्रदेश नम्बर २ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, सांसद्, जिल्ला र क्षेत्रीय सभापतिको भेलालाई सम्बोधन गर्दै शीर्ष नेताहरूले उक्त कुरा बताएका हुन्। उनीहरूले अब पार्टीलाई पहिलो बनाउनेगरी चुनाव तयारीमा जुट्न निर्देशन दिए।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नम्बर २ का जिल्लामा असोज २ गते हुने तेस्रो चरण निर्वाचनमा पार्टी पहिलो हुनुपर्ने र त्यसका लागि व्यक्तिगत स्वार्थ छाडेर लागिपर्न आग्रह गरे। 'निर्वाचनमा उम्मेदवार हुने आकांक्षा राख्नु स्वाभाविक हो,' देउवाले भने, 'आफूले टिकट पाएमात्र जितिने भन्ने भ्रम नपाल्नुस्। टिकक नपाउनेका लागि पनि अन्य अवसर आउँछन्।'

पार्टीभित्रकै अन्तर्घातका कारण पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा अपेक्षित नतिजा हासिल गर्न नसकिएको बताउँदै देउवाले अन्तर्घातमा संलग्नलाई कारबाही गर्ने पनि बताए। 'कारबाही नगरे पार्टीमा ठूलो क्षति हुन्छ, चुनावका अन्तर्घातीलाई पार्टीले कारबाही गर्छ,' उनले भने, 'काम गर्ने पुरस्कृत हुन्छन्।'

नेता रामचन्द्र पौडेलले सम्पन्न स्थानीय निर्वाचनमा केन्द्रबाट उम्मेदवारी छनोटमा त्रुटि भएको स्वीकार गर्दै अब स्थानीय तहबाटै उम्मेदवार टुंगो लगाउनुपर्ने धारणा राखेका थिए। केन्द्रले उम्मेदवार टुंगो लगाउँदा मेरो र तेरो भन्ने हुने भन्ने भन्दै पौडेलले थपे, 'स्थानीय तहबाट टुंगो लागेका उम्मेदवारले जितेका छन्। केन्द्रले छानेका उम्मेदवार पराजित भएका छन्। अब तलैबाट उम्मेदवार छान्न सके राम्रो हुन्छ।'

कांग्रेस मधेसबाटै जन्मिएकाले प्रदेश नम्बर २ को चुनावपछि पार्टी पुनः पहिलो बन्ने विश्वास उनले व्यक्त गरे। 'कांग्रेस, मधेस र लोकतन्त्र पर्यायवाची हुन्,' पौडेलले भने, 'कांग्रेसले नै मधेसलाई न्याय दिन सक्छ। हामीविरुद्ध एमालेले छरेको भ्रम छिचोलेर अघि बढ्नुपर्छ।'

महामन्त्री शशांक कोइरालाले स्थानीय तह निर्वाचनमा अवसर नपाएका नेता कार्यकर्तालाई प्रदेश र केन्›ीय संसदको निर्वाचनमा अवसर दिनुपर्ने बताए। २ नम्बर प्रदेशको निर्वाचनपछि कांग्रेस पहिलो पार्टी हुने बताउँदै कोइरालाले भने, 'त्यही लक्ष्यका साथ हामी सबै अघि बढांै अब।'

नेता विमलेन्द्र निधिले असोज २ गते हुने प्रदेश दुईको स्थानीय निर्वाचनमा पार्टीले एक सय सिट जित्नुपर्ने धारणा राखे। एकताबद्ध भएर लागे कांग्रेस पहिलो पार्टी बन्ने बताउँदै निधिले सप्तरी र सिराहाबाहेक ६ जिल्लाका ९६ स्थानीय तहमध्ये १९ मा मात्रै एमालेको प्रभाव रहेको दाबी गरे।

'असोज २ को चुनाव सफल पारौं र, त्यहाँ बहुमत प्राप्त गर्ने मात्र होइन, राष्ट्रिय रिजल्टमा नै क्षतिपूर्ति हुनेगरी लिड गरौं,' उनले भने।

भेलामा जिल्ला सभापति र अन्य सहभागीले संविधान संशोधन प्रस्तावलाई निर्वाचनअघि नै टुंगोमा पुर्‍याउन नेतृत्वलाई सुझाए।  सहभागीले धारणा राख्ने क्रम नसकिएका भेला शुक्रबार पनि हुनेछ।

यसैबीच, सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक दुई दिनअघि शनिबार नै बस्ने भएको छ। मन्त्रिपरिषद् विस्तारमा जुट्नुपर्ने भएकाले बैठक शनिबार बिहान ८ बजेका लागि सारिएको हो।

प्रकाशित: ६ श्रावण २०७४ ०२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App