१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भट्टराई यादवको नेतृत्व मान्न तयार, एकीकरणको अन्तिम तयारी हुँदै

काठमाडौं- संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ। साउन तेस्रो साताभित्रै एकीकरण घोषणा गर्ने गरी गृहकार्य सुरु भएको दुवै  पार्टीका नेताहरूले बताएका छन्।

फोरम नेपालकी राजनीतिक समितिकी सदस्य रेखा यादवले नागरिकसँग भनिन्, 'दुई पार्टी एकीकरणका लागि सबै कुरा टुंगिसकेको छ। सानातिना प्राविधिक कुरा मिलाउन मात्र बाँकी छ।'

आगामी साउन ११, १२ र १३ गते बस्ने फोरम नेपालको केन्द्रीय समिति बैठकले नयाँ शक्तिसँग एकीकृत हुने औपचारिक निर्णय गर्ने फोरम नेपालका नेताहरूले बताए। नयाँ शक्तिको साउन ९ र १० गते केन्द्रीय समिति र ११ र १२ गते केन्द्रीय परिषद् डाकिएको छ। दुवै पार्टीको बैठक सकिएलगत्तै एकीकरण घोषणा गर्ने तयारी भएको फोरम नेतृ यादवले बताइन्।

एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने विवाद पनि सकिएको छ। 'एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने कुरा अब टुंगिसकिएको छ। उपेन्द्र यादवज्यू अध्यक्ष र बाबुराम भट्टराई वरिष्ठ नेता हुने सहमति भइसकेको छ,' यादवले भनिन्।

स्रोतका अनुसार अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता बाबुराम भट्टराई र नेता अशोक राई हुने गरी नेतृत्व विवाद टुंगो लागेको छ।

यसैगरी एकीकृत पार्टीको चुनाव चिह्न एक हातले बोकेको मसाल राख्न दुवै पार्टी सहमत भएका छन्। यो फोरम नेपालको चिह्न हो। दुवै पार्टीले स्थानीय तह निर्वाचनमा सोही  चिह्न लिएर चुनाव लडेका थिए। एकीकृत पार्टीको नाम नयाँ शक्ति फोरम रहने भनिए पनि टुंगो लाग्न बाँकी रहेको नेताहरू बताए।

दुवै पार्टीका केन्द्रीय सदस्यहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय भने टुंगो लगाउन बाँकी छ। हाल फोरम नेपालसँग २ सय ५१ र नयाँ शक्तिसँग २ सय ५ सदस्यीय केन्द्रीय समिति छ। स्रोतका अनुसार एकीकृत पार्टीको केन्द्रीय समिति दुई सयभन्दा बढी नराख्ने सहमति भएको छ। 

फोरम नेपाल संसदीय दलका प्रमुख सचेतक शिवजी यादवले स्थानीय तहको तेस्रो चरणको चुनावअघि नयाँ शक्ति र फोरम नेपालबीच एकीकरण हुने बताए। 'साउन तेस्रो हप्ताभित्रै एकीकरण गर्ने गरी प्रक्रिया अघि बढेको छ,' यादवले भने।

फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरणका लागि उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राई सम्मिलित तीन सदस्यीय कार्यदल गठन भएको थियो। कार्यदलमा पहिलो चरणको चुनावअघि नै एकीकरण घोषणा गर्ने विषयमा वार्ता भए पनि एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने विवाद  टुंगो लागेको थिएन।

दुई पार्टीबीच एकीकरण नभए पनि यसअघिका स्थानीय चुनावमा दुई पार्टीबीच  सहकार्य भएको थियो। तर चुनवामा नयाँ शक्तिको प्रभाव देखिएन।

दोस्रो चरणमा फोरम नेपालले जुनजुन ठाउँमा जित्यो, त्यहाँ फोरमको मात्र प्रभाव रहेको नेताहरूले विश्लेषण गरेका छन्। नयाँ शक्तिको प्रभाव रहेको बाबुराम भट्टराईको गृहजिल्ला गोरखामा समेत नयाँ शक्तिको प्रभाव देखिएन।

नयाँ शक्तिका नेता पर्शुराम  खापुङले फोरमसँग पार्टी एकीकरणबारे साउन ९ र १० तथा ११ र १३ को बैठकमा छलफल हुने बताए।

स्रोतका अनुसार फोरम नेपाल र नयाँ शक्तिबीच एकीकरण भएमा एकीकृत पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई स्वीकार गर्ने भएको छ। अहिले पनि दुवै पार्टीले सोही सिद्धान्त  अंगीकार गरेका छन्।

पहिलो चरणको स्थानीय चुनावपछि फोरम नेपालका अध्यक्ष यादव र राजपाबीच सम्बन्ध चिसिएको छ। यादव नयाँ शक्तिका संयोजक भट्टराईसँग नजिकिएका छन्।

प्रकाशित: ६ श्रावण २०७४ ०२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App