१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

यौन तथा लैंगिक असमानता

- शोभा ज्ञवाली
समाज कता गइरहेको छ ! जति सम्हाल्न खोज्छौँ, उति साना तर गहन मुद्दाहरू छुट्दै गइरहेको छ । यसो हेर्दा ती इस्यु साना देखिन्छन् तर तिनले जनजीवनमा नराम्रो असर पारिरहेका हुन्छन् । त्यसैले हामीले सकेसम्म सबै समस्यालाई राम्ररी सोचविचार गरेर समाधनार्थ अगाडि बढाउँदै लैजानु पर्छ । हेर्दा साना तर समाजलाई ठूलो असर पारिरहेका मुद्दालाई मैले ‘परिवार म्यागेजिन’को यस समाज पृष्ठमा सधैँ पस्किने जमर्को गरिरहेकी हुन्छु ।  

१०/१२ वर्षअघिसम्म जुन कुरा हामीले त्यति देखेका थिएनौँ, सुनेका पनि थिएनौँ, त्यही कुरा अहिले समाजमा फेसनको रुपमा सुनिने/देखिने वा पत्रपत्रिकामा पढ्न थालेका छौँ । र, त्यो विषय हो– यौन तथा लैंगिक अल्पसंख्यक अर्थात् एलजिबिटी ।

यौन तथा लैंगिक अल्पसंख्यक भन्नाले पुरुष–पुरुषबीचको आकर्षण (गे), महिला–महिलाबीचको आकर्षण (लेस्बियन) भनेर अहिलेलाई बुझौँ । पछिल्लो समय सम्पन्न परिवारमा प्राकृतिक रुपमा ‘गे’ वा ‘लेस्बियन’ हुनेभन्दा पनि फेसनको रुप लिन थालेको गुनासा सुन्न थालिएको छ । कतिसम्म भने आफू लैंगिक अल्पसंख्यक भएको घोषणासमेत गर्ने चलन सुरु भएको छ ।

लैंगिक अल्पसंख्यक नेपाली समाजका लागि नयाँ कुरा होइन । हामीले महाभारतमा शिखण्डीको कथा सुनेका छौँ । ‘हिजडा’हरु त हामीमध्ये कतिपयले प्रत्यक्ष देखेका छौँ । तराईका कतिपय स्थानमा पवित्र कार्य गर्नका लागि तिनको उपस्थितिलाई महŒवको मानिन्छ । यस्तो प्रचलन नेपालमा भन्दा भारतमा अझ बढी छ ।

नेपालमा खुला रुपमा यौनिक अल्पसंख्यकका बारेमा बहसमा ल्याउने काम साहित्यकार शोभा भट्टराईले गरेकी थिइन् । उनको वि.सं. २०५७ मा प्रकाशित गरेको ‘अन्त्यहीन अन्त्य’ अनुभवन्यासमा जीवनमै पहिलो पटक तेस्रो लिङ्गी देखे–भोगेकोबारे छ । काठमाडौँको सुशिक्षित परिवारमा जन्मिएर बुवाआमाको करले विवाह गर्दा सोचेविपरीतको पति पाएको, पति शारीरिक रुपमा पुरुष भए पनि स्त्रीजस्तै सोच्ने, रमाउने र पुरुषहरुप्रति नै आशक्त हुने बानीबाट छक्क परेको र त्यसबाट उत्पन्न परिस्थितिबारे उपन्यास केन्द्रित छ ।

ठीक त्यसैबेला काठमाडौँमा नीलहिरा समाजको स्थापना भयो । यस संस्थाले यौन तथा लैंगिक अल्पसंख्यक युवाका हकअधिकारका बारेमा आवाज उठाउन थाल्यो । यौन तथा लैंगिक अल्पसंख्यक हुनु परिवारबाट परित्यक्त हुनु हो, समाजबाट अपहेलित हुनु हो । अपहेलनाले रोजगारी, सहज जीवनयापन निकै कठीन बन्न पुग्छ । तिनका समस्या, भोगाइ र पीडाको बयान गरिसाध्य छैन । कति घरबाट निकालिएका छन्, कति शोषितपीडित बनेका छन्, कतिले आत्महत्यासमेत गरेका छन् ।

अल्पसंख्यकको अपहेलनालाई हामीले त्यति ध्यान दिइरहेका हुन्नौँ । उनीहरूका समस्या, हामीलाई समस्या लाग्दैनन् । ती पनि मानिस हुन्, तिनमा भावना हुन्छ, तिनलाई पीडा हुन्छ भन्ने हाम्रो समाजले बुझ्दैन ।

त्यही बुझाउने क्रममा पनि हिजोआज यौन तथा लैंगिक अल्पसंख्यकलाई वर्गीकृत गर्ने, आफ्ना समुदायलाई वृहद् बनाउने प्रयास गरिँदैआएको छ ताकि आफू संगठित हुन सकियोस् र आफ्ना हक, अधिकार सुरक्षित गर्न सकियोस् । त्यसैले हिजोआज यौन तथा लैंगिक अल्पसंख्यकहरुलाई समग्र रुपमा बुझाउन एलजिबिटिक्यु भन्न थालिएको छ । एल (लेस्बियन–स्त्रीहरुबीचको आकर्षण), जि (गे–पुरुषहरुबीचको आकर्षण), बि (बाइसेक्सुअल– पुरुषस्त्री दुवैप्रतिको आकर्षण), टी (ट्रान्ससेक्सुअल– शरीर एउटाको भए पनि विपरीत लिङ्गी अनुभव गर्ने), क्यु (ड्र्याग क्विन÷किङ– स्त्रीले पुरुषजस्तो पहिरन लगाउने र पुरुषले स्त्रीजस्तो पहिरन लगाउने) अर्थका रुपमा लिइन्छ ।

प्रत्येक वर्ष यौन तथा लैंगिक अल्पसंख्यकको संख्या बढिरहेको छ । यस हिसाबले कतै यसले फेसनको रुप त लिइरहेको छैन भन्ने विश्वव्यापी चिन्ता पनि बढाएको छ । मानिसमा शारीरिक (फिजिकल्ली) तथा जैविक (बायोलजिकल्ली) रुपमा आएको स्वाभाविक परिवर्तनलाई हामीले स्वीकार गर्नुपर्छ । सृष्टिको नियतिलाई हामी परिवर्तन गर्न सक्तैनौँ । जति एउटा सामान्य पुरुषस्त्रीको बाँच्ने अधिकार हुन्छ, त्यति नै अन्यको पनि छ । हिजोआज हामी पशुको अधिकारका लागि त लडिरहेका छौँ भने थोरै जैविक तथा शारीरिक परिवर्तन भएको महसुस गर्ने मानवको अधिकारप्रति हामी आँखा चिम्लन सक्तैनौँ । ती पनि कसैका सन्तान हुन् भन्ने हामीले बिर्सन मिल्दैन । यस्ता कुरामा हामीले दृष्टि पुर्याउन सकेनौँ भने हामीले धेरै हानि व्यहोर्नुपर्ने हुन सक्छ ।

अर्को महत्वपूर्ण पक्ष के छ भने शरीर विज्ञान (फिजियोलजी) का कतिपय पक्ष घरव्यवहारले पनि फरक पार्ने गर्छ । अभिभावकले छोरालाई छोराकै रुपमा र छोरीलाई छोरीकै रुपमा हुर्काउनुपर्छ । छोरालाई फ्रक लगाइदिने, कपाल पालेर बाटिदिनेजस्ता व्यवहार गर्नु हुँदैन । छोरालाई नानी, छोरी, कान्छी भनेर बोलाउनु हुँदैन । यसैगरी छोरीलाई छोरा भनेर पुकार्नु हुँदैन न त हिरोजस्ता पुलिङ्गी शब्द नै प्रयोग गर्नुहुन्छ । उनीहरूलाई मानिसको शरीरमा हुने परिवर्तन, यौन शिक्षा र एलजिबिटिक्युजस्ता आधुनिकतम विचारका बारेमा शिक्षा दिनुपर्छ । छोरा वा छोरी आफैँमा सम्पूर्ण लिङ्गी हुनु हो । आफ्ना सन्तानलाई छोरी भए पनि छोरा बनाउन खोज्नु र छोरा भएर पनि छोरीको व्यवहार गर्नुले तिनको भावनामा उथलपुथल मच्चिन्छ । तिनलाई न कोही पुरुष भएर आधा हुन्छ, न त स्त्री भएर आधा भनी बुझाउनु पर्छ ।  

आफू जे हुँ, त्यसैमा गर्व गर्ने वातावरण दिनुपर्छ आफ्ना सन्तानलाई । पढाइका क्रममा होस्टल बस्दा होस् या प्रहरी–सेनाको तालिम लिँदा होस्, उमेर बढ्दै जाँदा उचित यौन शिक्षाको अभावमा आफ्नै लिङ्गीप्रतिको आकर्षण बढ्न सक्छ । यस्ता कुरालाई अभिभावकले ख्याल गर्नुपर्छ । सबैभन्दा खतरा भने फेसनका रुपमा लिङ्ग परिवर्तन गर्ने क्रिया हो । कहिलेकाहीँ आफू हुनुको अस्तित्व बोध गर्न नसक्दा, हीनताबोध गर्दा लिङ्ग परिवर्तन गर्नेतर्फ आकर्षण बढ्न सक्छ । खासगरी आर्थिक रुपमा सक्षम परिवारमा यो क्रम तीव्र हुन सक्छ । यस्ता कुरामा अभिभावकहरुले पनि उचित विचार पुर्याउनुपर्छ ।

यति हुँदाहुँदै पनि प्रकृतिले नै बेग्लै व्यक्तित्व जन्माएको हुन्छ । परिवारमा त्यस्ता सदस्य जन्मिएका अवस्थामा लुकाउने, झुक्याएर विवाह गरिदिनेजस्ता क्रियाकलाप हाम्रो समाजमा देखिन्छ । यसले जीवनभर दुवै पक्षलाई पछुतोको अवस्थामा पु¥याउँछ । कतिपय अवस्थामा पारपाचुके हुने र कतिले त आत्महत्याकै बाटोसमेत रोज्ने गरेका छन् । त्यसैले यौन तथा लैंगिक अल्पसंख्यकले आफूले चाहेजस्तो गरी बस्नसक्ने अवस्था समाजले निर्माण गर्नुपर्छ ।

यस धर्तीमा जन्मिएपछि चाहे त्यो लेस्बियन होस् या गे, तिनले चाहेको जीवन बाँच्न पाउनु पर्छ । यो मानव अधिकार हो, उनीहरुको अधिकार हो । उनीहरुमा पनि अन्य जत्तिकै क्षमता हुन्छ, दृष्टिकोण, विचार र सोच हुन्छ भन्ने उदाहरण यौन तथा लैंगिक अल्पसंख्यकले चलाएका सफलता विश्वप्रसिद्ध कम्पनीका उदाहरणबाट पनि सिद्ध हुन्छ । तिनले संसारलाई सहज बनाउन ठूलो भूमिका खेलेका छन् । हामीले पनि हाम्रा आफ्नै समाजका यौन तथा लैंगिक अल्पसंख्यकलाई पनि त्यस किसिमको वातावरण दिनुपर्छ, सहयोग गर्नुपर्छ । सँगैमा के पनि ख्याल गर्न आवश्यक छ भने हाम्रा युवाले घरको अस्वाभाविक व्यवहार, फेसन वा लहलहैमा लागेर कतै आफूलाई यौन तथा लैंगिक अल्पसंख्यक ठान्न नथालून् ।

प्रकाशित: ५ श्रावण २०७४ ०८:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App