१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

पच्चिस वर्षपछि चेतनको तीज गीत

काठमाडौं- गाउँ सहर खोलेर दिदी र बहिनी

नाचौं न मिलेर नाम लिइ चैनी

तीजको रहर आयो बरिलै ... ...

तीजको यो गीत नसुन्ने नेपाली कमै होलान्। तीजका बेला रेडियो–टेलिभिजनजतातै यो गीत बज्छ। तीजका सयौं गीत बने पनि यो जत्तिको कालजयी गीत अरु बनेनन्।

चेतन कार्कीको शब्द र शम्भुजित बास्कोटाको संगीत रहेको यो गीत २५ वर्षअघिको बनेको 'कन्यादान' फिल्ममा समावेश छ। तर, त्यसपछि न त चेतनले नै कुनै तीज गीत लेखे न त शम्भुजितले कुनै तीज गीतमा संगीत दिए।

चेतनलाई तीज गीत लेख्ने प्रस्ताव नआएको होइन। तर, उनी मौन रहे। यसपटक भने उनले गायिका मिना निरौलाको आग्रहलाई टार्न सकेनन् र तीज गीत लेखे।

बर्षदिनको तीजमा बाबा लिन आएका

हाम्री बज्यै पापीनीले सारी लुकाइन्

माइतमा जानुपर्याे रुँदै रुँदै ... ...

मिनाकै लागि लेख्नुमा कार्कीको आफ्नै अनुभव  छ। 'गीतलाई न्याय गर्छिन् जस्तो लाग्यो। पलेंटीमा पनि उनलाई सुनेको थिएँ। आवाज पनि मीठो लाग्यो। त्यही भएर गीत दिएको हुँ,' कार्कीले नागरिकसँग भने, 'गीत भर्खरै लेखे पनि परिवेश पुरानै हो। बिहे भएको दुई तीन वर्षसम्म चेलीलाई श्रीमान्को घर बिरानै लाग्छ। त्यही मर्मलाई गीतमा प्रस्तुत गरेको छु।’

उनले भने झैं नयाँ दुलहीलाई घरका सासु नन्द, आमाजुसँग घुलमिल हुन समय लाग्छ। त्यस्ता बेलामा माइतबाट बाबु, दाजु, भाइ निम्ता गर्न जाने अनि लिएर आउने चलन छ। घरमा दाजुभाइ नभए गाउँकै दाजुभाइ भए पनि जाने चलन अझै छ।

चेतनका अनुसार गीतको शैली झोरा हो। झोराको अर्थ पश्चिम भेगको भाषा अनुसार फूलको गुच्छा, फूलको थुंगा अथवा सुनको तार हुन्छ। ‘त्यसैले मेरो झोरा गीतको अर्थ पनि तीजको मिठो फूलको थुंगा हो’, उनले खुलाए, ‘गण्डकी क्षेत्रको भाका गीतमा टिपेको छु।’

आमा बाबाको घरमा छिडकनी मारेर खेलेको, पाथीभराका दूध छेलोखेलो गर्दै खाएको चेलीले गीतबाटै सम्भि्कने कार्कीले सुनाए। बिहे भएपछि श्रीमान्सँग गरिएका केही भलाकुसरीका अंश पनि उनले गीतमा अटाएका छन्।

उनले रचेका केही तीजका गीत प्रहरीका कलाकारले गाए पनि बजारमा चर्चामा नआएकाले कसैले थाहा नपाएको खुलाए। ‘आम मानिसका लागि बनाएको भने यो मेरो दोस्रो गीत नै हो,’ उनले भने, ‘अबका तीजमा यो गीत पनि बज्छ।’

आधुनिक तथा शास्त्रीय धारका गीत गाउन रुचाउने निरौला पछिल्लो समय फिल्मका आइटम गीतले चर्चित बनिन्। ‘तीजको गीत गाउने मन थियो त्यो यसपाली पूरा भयो,’ निरौलाले सुनाइन्, ‘चेतन बुबासँग एक कार्यक्रममा भेट हुँदा मैले नै आग्रह गरी गीत मागेकी हुँ।’

गीतमा संगीत संयोजन शिलाबहादुर मोक्तानले गरेका छन्।  गीतको म्युजिक भिडियो बुधबार साँझ युट्युबमार्फत सार्वजनिक गरिएको छ। गीतमा अभिनेत्री मिथिला शर्मा र दिया मास्केको नृत्य छ।

अभिनेत्री मास्केले आफूले यसअघि एउटा गीतमा नाचे पनि यो गीतमा नाँच्दा तीजै लागे जस्तो रमाइलो भएको बताइन्। अभिनेत्री शर्मासँग काम गर्न पाउँदा केही सिक्ने अवसर पाएको दियाले बताइन्।

‘साँच्चैको तीजमा एउटी चेलीले गाउने गीत र नृत्य छ,’ मास्केले भनिन् ,‘गायिका निरौलाले गीत पठाएपछि मन परेर भिडियो गर्न राजी भएँ।’ गीतको रचनाकार कार्की रहेको थाहा नपाएकी मास्केलाई अहिले पनि यो गीत अझै मनपर्दोरहेछ। ‘अहिलेको गीतको केही फ्लेवर त्यस्तै छ जसले मेरो मन छोयो,’ मास्केले भनिन् , ‘तीज भनेको हामी महिलाका भावना बोल्नुपर्छ बजारमा आएको जस्तो लोकदोहारी गीत हैन,’ उनले भनिन्।

प्रकाशित: ५ श्रावण २०७४ ०४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App