१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सेन्सर प्रविधिमा मेलम्ची पानी

काठमाडौं- अब ठूलो चाबी बोकेर भल्बमा पानी खोल्ने र बन्द गर्नुपर्ने छैन। न त ठाउँ–ठाउँमा पानी चुहिएर खेर जानेछ। भल्ब खोल्न र बन्द गर्न होस् वा कुन जडानमा पानी चुहिएको छ भन्ने कोठामै बसेर थाहा हुनेछ।

काठमाडौं उपत्यकामा मेलम्ची खानेपानीको आगमनसँगै पानी वितरण प्रणाली पनि पूर्णस्वचालित तरिकामा जानेछ। आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौं उपत्यका खानेपानी लिमिटेडले मेलम्ची खानेपानीलाई पूर्णस्वचालित तरिकाले वितरण र अनुगमन गर्न 'हाइड्रोलिक स्काडा' (सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन) सिस्टम लागू गर्ने  तयारी गरिरहेको छ। त्यस्तै पाइप र धारा जडान पनि पछिल्लो प्रविधि 'इलेक्ट्रिक फ्युजन' प्रयोग भइरहेको छ जसले पानी चुहिने ठूलो समस्यालाई समाधान गर्नेछ।  

'हामी मेलम्ची खानेपानी वितरणलाई पूर्णरूपमा स्वचालित प्रणालीबाट गर्दैछौं,' निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले शनिबार नागरिकसँग भने, 'पानी वितरण प्रणालीलाई विश्वको सबैभन्दा पछिल्लो प्रविधि स्काडा सिस्टम लागू गर्ने तयारी गरिरहेका छौं।'

पानी वितरणको सम्पूर्ण जानकारी 'सेन्टर प्रोसेसिङ सिस्टम' मा ल्याउने र सम्पूर्ण नियन्त्रण 'सेन्टर रुम' बाट गर्ने गरिनेछ। यस सिस्टमबाट मुहानदेखि धारासम्म पानी वितरण प्रणालीमा कहाँ के भइरहेको छ भनेर कन्ट्रोल रुममै थाहा हुनेछ।

यो नयाँ प्रविधिले मेलम्ची स्रोत, सुरुङ मार्ग, पानी प्रशोधन केन्द्र, भल्बबाट पानी वितरण र धारा जडानसम्म प्रयोग गरिने छ। सहरका विभिन्न क्षेत्रमा पानी वितरण गर्न राखिएका भल्ब बन्द गर्न वा खोल्न, ती भल्बबाट पानी वितरण कति गर्ने भनेर ठूलो चाबी बोकेर कर्मचारी उपस्थित हुनुपर्नेछैन। भल्बमा राखिएको 'मिटर रिड' पनि स्वचालित पद्धतिबाट हुने छ।

यसका लागि सहरका विभिन्न क्षेत्रमा ८ सय ३७ वटा सेन्सर प्वाइन्ट राखिने ढकालले बताए। आवश्यकता अनुसार डिस्ट्रिक मिटरिङ एरिया (डिएमए) छट्ट्याइने छ। एक डिएमएबाट ५ सय देखि १ हजार घरधुरीलाई पानी वितरण हुनेछ। 'ती भल्ब सञ्चालन सेन्सरबाट हुनेछ,' उनले भने, 'त्यहाँ कोही मान्छे गएर भल्ब खोल्ने–बन्द गर्ने गर्नुपर्दैन।' भल्ब मिटरले घरधुरीमा कति पानी गइरहेको छ भन्ने रेकर्ड पनि राख्छ। त्यो रेकर्ड सेन्सर, जिपिएसबाट सिस्टममा आउनेछ।

मेलम्ची पानी संकलन गर्न उपत्यकाका विभिन्न ठाउँमा बन्न लागेका नौवटा पानीपोखरी र पुराना दुईवटा (हाल सञ्चालनमा रहेका) पानीपोखरीलाई पनि स्काडा सिस्टमबाट सञ्चालन गरिने छ। नौ रिजर्भ्वायर एरिया छट्ट्याएर एउटै कन्ट्रोल रुममा ल्याउने तयारी निर्देशनालयको छ। पानीपोखरीमा कति पानी आइरहेको छ, कति वितरण भइरहेको छ, पानी कस्तो छ लगायत विषयलाई पनि स्वचालित प्रणालीबाट अनुगमन गरिनेछ।

नयाँ प्रविधि प्रयोगका लागि पूर्ण रूपमा अध्ययन भइसकेको छ भने अहिलेकोे स्काडामैत्री हुने गरी काम भइरहेको ढकालले जानकारी दिए। अमेरिकी विज्ञबाट अध्ययन भएर टेन्डरमा जाने तयारी निर्देशनालयले गरेको छ। 'नेपालीसँग अनुभव, क्षमता र सामान छैनन्,' उनले भने, 'टेन्डरबाट विदेशी कम्पनी छानिनेछ।' अमेरिकी टोलीले टेन्डरको लागि सबै तयारी गरिसकेको छ।   

नयाँ प्रविधि सञ्चालनका लागि एसियाली विकास बैंक (एडिबी) ले वित्तीय सहयोग गर्ने भएको छ। एडिबीसँग ६० लाख अमेरिकी डलर (करिब ६५ करोड रुपैयाँ) ऋण सहयोगका लागि मोटामोटी सहमति भएको ढकालले बताए।

हालका लागि प्रयोग गर्न लागिएको स्काडा मिटरलाई प्रत्येक घरधुरीमा भने लगिने छैन। महँगो पर्ने र तत्कालै गर्न नसकिने भएका कारण हाललाई डिएमए लेभलसम्म मात्र गर्न लागिएको हो। केही वर्षपछि भने घरधुरीमा जाने पानीको अनुगम तथा कन्ट्रोलको व्यवस्था स्काडा सिस्टममा जाने योजना छ। पहिलो चरणमा डिएमए लेभलसम्म मात्र जाने र दोस्रो चरणमा प्रत्येक घरधुरीसम्म यो प्रविधि प्रयोग गर्ने योजना निर्देशनालयको छ।

त्यसैगरी, मेलम्चीबाट आएको पानी जम्मा गरिने सुन्दरीजलको पानी प्रशोधन केन्द्र (टि्रटमेन्ट प्लान्ट)लाई पनि पूर्णस्वचालित बनाउने गरी काम भइरहेको छ। 'स्वचालित प्रणाली लागू हुने गरी पानी प्रशोधन केन्द्र तथा कार्यालय भवन निर्माण भइरहेको छ,' मेलम्ची खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक ज्योतिकुमार श्रेष्ठले भने, 'पानीको सुम्पूर्ण अनुगमन कन्ट्रोल रुमको कम्प्युटरबाट हुनेछ।'

सुरुङमा पानीको लेभल थाहा पाउन, पानीको गुणस्तर कस्तो छ भनेर थाहा पाउन, प्रशोधन भएर बाहिर जाने पानी वा टनेलमा आइरहेको पानी कुन गुणस्तरको छ भनेर पनि यस कम्प्युटर सिस्टमबाटै थाहा हुने छ।

त्यस्तै, पानी ओभर फ्लो भयो कि, पानी घट्यो कि, सिस्टममा सुधार गर्न आवश्यक छ कि, फिल्टर, ट्यांकी सफा गर्ने बेला भयो कि जस्ता सबै विषय स्वचालित प्रणालीले बताउने श्रेष्ठले जानकारी दिए।

हाल विश्वका विकसित सहरमा यो प्रविधि प्रयोग भइरहेको छ। अहिले बंगलादेशको ढाकामा पनि यो प्रविधिबाट पानी वितरण गर्न लागिएको छ। स्काडा प्रविधिबाट पानी वितरण प्रणालीको काम भइरहेको ढाकामा केही दिनमा नेपाली टोली अध्ययनका लागि जान लागेको ढकालले बताए।

पाइप तथा धारा जडानमा इलेक्ट्रिक फ्युजन

आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकाका विभिन्न ठाउँमा पाइप जोड्ने, विछ््याउने र घरधुरीका लागि धारा जोड्ने काम तीव्र रुपमा गरिरहेको छ। निर्देशनालयले यी सबै कामलाई विश्वको सबैभन्दा पछिल्लो प्रविधि प्रयोग गरिरहको छ। त्यो हो – इलेक्ट्रिक फ्युजन अर्थात सेन्सरबाट पाइप जडान प्रविधि।

'मेलम्ची पानी वितरणमा प्रयोग हुने पाइप तथा धारा जडान गर्न विश्वको सबैभन्दा नयाँ प्रविधि प्रयोग गरिरहेका छौं, निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले भने, 'इलेक्ट्रिक फ्युजन अत्याधुनिक प्रविधि हो।'

यस प्रविधिअनुसार दुई पाइप जोड्न तामा तार राखिएको छ। यसलाई बारकोडबाट हातले नछोइ सेन्सरबाट जोडिन्छ। घरधुरीमा धारो जोड्न वा दुई पाइप जोड्न यो प्रविधि प्रयोग भइरहेको छ। हेर्दा सामान्य भए पनि जडान प्रविधि अत्याधुनिक भएको र अत्यन्तै बलियो हुने ढकालको भनाइ छ।

'इलेक्ट्रिक फ्युजनबाट जोडिएपछि पानी चुहिने सम्भावना शून्य प्रतिशत हुन्छ,' ढकालले भने, 'यो जापानी प्रविधि हो। भारत, चीन लगायतका देशले पनि यही प्रविधि प्रयोग गरिरहेका छन्।'

सन् २००६ देखि यो प्रविधि विकास भएको थियो। ढकालले २०११ मा जापान गएर यस प्रविधिबारे तालिम लिएका थिए। 'अझ महत्वपूर्ण कुरा यदि पाइप वा धारा जडानबाट पानी रसाएको छ भने कुन ठाउँमा रसाएको हो यसमा प्रयोग भएको बारकोड सेन्सरको प्रयोगबाट कम्प्युटरबाटै थाहा हुन्छ,' उनले भने। पुरानोभन्दा यो प्रविधि दस गुणा महँगो पर्ने ढकालले बताए। खानेपानी विभागले पनि जिल्ला स्तरमा यही प्रविधि प्रयोग गर्ने तयारी गरिरहेका छन्।   

 

प्रकाशित: ५ असार २०७३ ०१:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App