१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कर फर्स्योट आयोग पदाधिकारीविरुद्ध मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्स्योट आयोगका पदाधिकारीविरुद्ध १० अर्ब २ करोड रुपैयाँ बिगो माग दाबीसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

अख्तियारले आइतबार दिउँसो बबरमहलस्थित विशेष अदालतमा आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेशप्रसाद ढकाल र सदस्यसचिव चूडामणि शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। कर फर्स्योट आयोगले बदनियतपूर्वक कर छुट दिएको भन्दै अख्तियारले १० अर्ब २ करोड १९ लाख १ हजार ८ सय ४२ रुपैयाँ बिगो माग दाबी गरेको छ। कर फर्स्योट आयोग ऐन, २०३३ को दफा १७ विरुद्ध हुनेगरी आयोगका पदाधिकारीले खराब नियतले काम गरेर कर छुट दिएको आरोप लगाउँदै मुद्दा दर्ता गरिएको हो।

क्षेत्राधिकार नाघी छली भएको कर मिनाह गरेको, अघिल्लो कर फर्स्योट आयोगले निर्धारण गरी असुल गरेको करसमेत फिर्ता दिनेगरी सम्झौता गरेको, कर निर्धारणपश्चात् चित्त बुझाई बसेका करदाताको कर बक्यौता मिनाह गरेको, अन्य व्यक्तिलाई भुक्तानी गर्दा उनीहरूबाट कटाएको वा कटाउनुपर्ने अग्रिम करसमेत मिनाह गरेको, माग नै नगरेको रकम मिनाह गरेको, अदालतमा विचाराधीन मुद्दा फिर्ता नलिएका करदाताको बक्यौता मिनाह गरेको, करदाताले स्वयं घोषणा गरेको मूल्य अभिवृद्धि कर नै मिनाह गरेको र आयोगको कार्यावधि समाप्त हुने अन्तिम मितिमा सम्झौता गरी करदातालाई बदनियतपूर्वक १० अर्बभन्दा बढी कर छुट तथा मिनाह दिएको आरोप अख्तियारले लगाएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा परिभाषित कसुर गरेको पुष्टि हुन आएकाले मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ।

आन्तरिक राजस्व विभागको महानिर्देशकसमेत रहेका शर्मालाई गत  जेठ १९ गते पक्राउ गरेपछि अख्तियारले कर फर्स्योट आयोग, २०७१ माथिको अनुसन्धान बाहिर ल्याएको थियो। महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदन (२०७३) मा कर छुट दिएको विषय समावेश गरेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो। महालेखाको प्रतिवेदनले कर फर्स्योट आयोगले ९ अर्ब ५४ करोड ६१ लाखमा सम्झौता गरी ३० अर्ब ५२ करोड ५८ लाख राजस्व मिनाह गरेको सार्वजनिक भएपछि यस विषयमा अख्तियारद्वारा छानबिन गरिएको हो।

अनुसन्धानका क्रममा अख्तियारको हिरासतमा रहेका शर्मालाई यसअघि नै ३ अर्ब २ करोड रुपैयाँ धरौटी माग गरिएको थियो। धरौटी नबुझाएपछि शर्मा हिरासतमै छन्। कर फर्स्योट आयोगका अध्यक्ष महत र सदस्य  ढकाल अझै फरार छन्। उनीहरूविरुद्ध  पक्राउ पुर्जी जारी गरिएको छ।

प्रकाशित: २ श्रावण २०७४ ०३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App