१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

संकटमा कपास खेती

विद्या राई

भोजपुर- जिल्लामा कपास खेती संकटमा पर्दै गएको छ। एक समय भोजपुरको पहिचान बनेको यो खेती अहिले संकटमामा पर्नुलाई राम्रो संकेत मान्न सकिँदैन। आदिवासी जनजातिको मौलिक पहिचानका रुपमा रहेको कपास (कोगटी) बाट कपडा तयार गरिने घरेलु उद्योग यतिखेर लोप भइसकेका छन्। विशेषगरी जिल्लाको पूर्वी जरायोटार, चरम्बी र याकु गाविसमा सञ्चालित यस्ता उद्योग लोप भइसकेका छन्। यसै कारण आदिवासी जनजातिहरूको छुट्टै पहिचान बोकेको कोगटीव्यवसाय दिनदिनै संकटमा पर्दै गएको छ।

कोकटीबाट कपडा उत्पादन हुन छाडिसकेको छ। १२ वर्ष अघिसम्म गाउँमा व्यावसायिक रुपमा सञ्चालन हुँदै आएको यो व्यवसाय संकटमा छ।  विदेशी आयातित पहिरनले नेपाली उत्पादित पहिरनलाई प्रतिस्थापन गरेकाले व्यवसाय ओझेलमा पर्दै गएको चरम्बीका स्थानीय बताउँछन्। विदेशी लत्ताकपडा रंगीबिरंगी र सस्तो दरमा समेत पाउन थालेपछि स्थानीय उत्पादनका कपडामा ध्यान नजाँदा व्यवसाय ओझेलमा परेको उनीहरूको भनाइ छ। 

कोकटीबाट उत्पादित कपडा टिकाउ हुने भए पनि उत्पादनका लागि बढी मेहनत गर्नुपर्ने र झन्झटिलो हुने भएकाले युवा पुस्ता आकर्षित नहुँदा पहिचान नै लोप हुन लागेको हो। 'एक सिजन कपास उब्जाउन खेती लगाएपछि ६ महिना कुर्नुपर्छ। खेती भित्र्याउनुर्छ। कपडा बुन्नुपर्छ। यस्तो दुःख गर्ने जमाना अहिले छैन,' चरम्बी, ३ की कोगटीउद्यमी ६३ वर्षीया रानीमाया राईले बताइन्। कोगटीखेतीका लागि फागुन/चैत महिनामा जमिन तयार गर्नुपर्छ। वैशाखमा छरेर असोजमा कपास तयार हुन्छ। त्यसपछि  दुईदेखि ३ महिनासम्म कपडा बुन्न सकिन्छ। '१५ केजीजति कपासले एक देखी डेढ लाखसम्म आम्दानी लिन सकिन्छ,' रानीमायाले भनिन्।

एक दशक पहिला  महिलाका लागि हलुका काम मानिने र आम्दानी पनि राम्रै हुने कोकटीका घरेलु उद्योग घरघरमा थिए। अहिले चरम्बीका ३ घरले मात्रै कपास खेती र कपडा उत्पादन गर्छन्। अहिले बनावटी कपडा घरेलु उद्योगमा तयार पारिएका भन्दा कम मूल्य र सहज पाउने भएकाले यो व्यवसाय संकटमा परेको जरायोटारका स्थानीय बताउँछन्। 'पहिले त बाध्य भएरै कोगटीकपासबाट तयार गरेको कपडा लगाउनु पर्थ्यो,' जरायोटारका इन्द्रसुर राईले भने।

कपासबाट तयार गरिने दौरासुरवाल प्रतिसेट १५ हजारदेखि २० हजारसम्म पर्छ। गाउँमै खपत हुने कोगटीधनकुटा, संखुवासभा, सुनसरीलगायत जिल्लामा निर्यात हुन्छ। त्यस्तै कोकटीबाट बनाइएका कपडाको माग बेलायत, हङकङलगायबाट पनि हुने गरेको छ। तर यो पेशालाई धेरैले त्यागिसकेका कारण माग धान्न गाह्रो भएको यो उद्यममा संलग्न बताउँछन्। इश्वरले रंगाएको रङका रुपमा लिइने कोकटीलाई स्थानीय भाषामा 'ज्यापु' भन्ने चलन छ। पृथ्वी नारायण शाहले एकीकरण क्रममा कोगटीतथा कपासबाट बुनेका कपडा लगाएर युद्ध लडेको भनाइ छ।

यसरी ऐतिहासिक र छुट्टै अस्तित्व बोकेको कोगटीउत्पादन फैलावटमा कसैले चासो नदिएको उद्यमीको गुनासो छ । यसका लागी सरोकारवाला निकायले बेलैमा ध्यान दिन सके पहिचान र मौलिकता जगेर्ना हुनुका साथै स्थानीय अर्थतन्त्र बलियो हुनेमा दुई मत देखिँदैन।

प्रकाशित: ८ श्रावण २०७३ ०५:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App