१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मुलुकभर ४२ प्रतिशत रोपाइँ

काठमाडौं – असार सकिन लाग्दा मुलुकभर ४२ प्रतिशतमात्र धान रोपाइँ भएको छ । स्थानीय तहको निर्वाचन र पर्याप्त वर्षा नहुँदा यो वर्ष धान रोपाइँ प्रतिशत कम देखिएको हो ।

पोहोरको तुलनामा धान रोपाइँ ढिला भएकाले उत्पादनमा कमी आउन सक्ने भन्दै धानविज्ञले चिन्ता व्यक्त गरेका छन् । तराईमा समय नघर्किए पनि मध्यपहाडमा ढिला हुँदा उत्पादनमा गिरावट आउने धानविज्ञ भोलामान सिंह बस्नेतले बताए । ‘समयमै रोपाइँ नहुँदा धानका बाला झुक्दैन,’ बस्नेतले भने, ‘त्यसले उत्पादन घट्न सक्छ ।’

देशभरको १५ लाख ५२ हजार चार सय ६९ हेक्टरमध्ये ६ लाख ६२ हजार एक सय ५३ हेक्टरमा मात्र रोपाइँ भएको छ । पोहोर बसारमा बेलौमा धान रोप्न पाउँदा चालु आर्थिक वर्षमा यसको उत्पादन बढेर ५२ लाख ३० हजार मेट्रिक टन पुगेको थियो । 

मंगलबारसम्म उच्च पहाडमा करिब ६० प्रतिशत धान रोपाइँ भएको भएको छ । तराईमा भने ३८ प्रतिशतमात्र भएको कृषि विकास मन्त्रालयले जनाएको छ । ‘वर्षा हुन ढिलो हुँदा किसानले समयमै बेर्ना तयार गर्न पाएनन्,’ कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले भने, ‘वर्षा सुरु भएपछि किसानले भटाभट रोपाइँ गरिरहेका छन् ।’ रोपाइँ कम भए पनि चिन्ता लिनुपर्ने अवस्था नरहेको कार्कीले बताए । ‘साउन दोस्रो सातासम्म रोप्दा उत्पादनमा असर पर्दैन,’ कार्कीले भने, ‘मनसुन सुरु नहुँदा ब्याड राख्न ढिला भएको थियो ।’ 

अन्न भण्डारको रुपमा परिचित तराईमा ६१ प्रतिशत खेतमा रोपाइँ हुन सकेको छैन । उच्च पहाडी क्षेत्रमा ५९.०८ प्रतिशत, मध्य पहाडमा ५१.१६, तराईमा ३८.६७ प्रतिशत रोपाइँ भएको छ । उच्च पहाडी क्षेत्रमा ४०.९२ प्रतिशत, मध्य पहाडमा ४८.८४, तराईमा ६१.३३ प्रतिशत खेतमा रोपाइँ हुन बाँकी छ । 

मनसुल ढिला सुरु भएकाले तराईमा धान रोपाइँ ढिला भएको क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका निर्देशक हस्तबहादुर विष्टले बताए । ‘मौसम सक्रिय भएपछि यसै साताबाट धमाधम रोपाइँ भइरहेको छ,’ विष्टले भने । विगतमा भन्दा अहिले धानको जात, बेर्ना राम्रो भएकाले आत्तिइहाल्नुपर्ने अवस्था नरहेको विष्टले बताए । ‘साउनको दोस्रो हप्तासम्म पनि धान नरोपे उत्पादनमा असर गर्छ,’ विष्टले भने । 

पूर्वाञ्चलका केही जिल्लामा निकै कम रोपाइँ भएको छ । सबैभन्दा कम सिराहामा १० प्रतिशतमात्र रोपाइँ भएको छ । धनकुटामा १५, उदयपुरमा १५, मोरङमा १५, रौतहटमा २२, झापामा २३, रामेछापमा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । हुम्ला, जुम्लामा भने शतप्रतिशत रोपाइँ भइसकेको छ । 
सरकारले आगामी वर्ष ५४ लाख मेट्रिक टन धान फलाउने लक्ष्य लिएकोे छ । असार १५ सम्म तराई क्षेत्रमा ४.५७ प्रतिशत, मध्य पहाडमा १८.५४ प्रतिशत, उच्च पहाडमा २१.१६ प्रतिशत धान रोपाइँ भएको भए पनि १० दिनको अवधिमा धेरै रोपाइँ भएको छ। 

सरकारले आगामी तीन वर्षमा धानमा आत्मनिर्भर बन्ने योजना बनाएको मन्त्रालयका सह–प्रवक्ता शंकर सापकोटाले बताए । ‘आगामी वर्ष करिब ५३ लाख मेट्रिक टन धान फल्ने प्रक्षेपण गरेका छौं,’ सापकोटाले भने, ‘उत्पादन बढाउन सिचाइँ, मल र यान्त्रीकरणमा जोड दिएका छौं।’

उत्पादन बढे पनि मुलुकमा हरेक वर्ष अर्बौंको चामल आयात हुने गरेको छ । चालु आर्थिक वर्षमा पनि नेपालमा भारत, चीन, थाइल्यान्ड, कोरिया, जापान, मलेसिया, बंगलादेश अमेरिका, सिंगापुर र भियतनामबाट तीन लाख ५९ हजार नौं सय ९१ मेट्रिक टन विभिन्न प्रकारका चामल आयात भएको छ । कृषिमा धानको योगदान करिब २१ प्रतिशत छ । कुल गार्हस्थ उत्पादन (जिडिपी) मा कृषिको योगदान २८.९ प्रतिशत छ । खाद्यान्नमा धानको ५० प्रतिशत हिस्सा छ।

मन्त्रालयले आयात प्रतिस्थापन गर्न मसिना तथा बास्नादार धान उत्पादन कार्यक्रम ३५ जिल्लामा विस्तार गरेको छ । चैते धान उत्पादन बढाउन ५० जिल्लामा चैते धान रोपिने क्षेत्रफल एक लाख १८ हजार हेक्टरबाट विस्तार गरी तीन लाख हेक्टर पु¥याउने योजना छ । यो वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जोन, सुपरजोन बनाएर धान उत्पादन बढाउने योजना बनाएको मन्त्रालयले जनाएको छ । २४ ब्लक, पाँच जोन र एक सुपरजोनमा धानबालीलाई प्रथामिकता दिएको छ । मनाङ र मुस्ताङबाहेक मुलुकका सबै जिल्लामा धान खेती हुन्छ । ६० मिटरदेखि तीन हजार ५० मिटरको उचाइसम्म धान फल्छ । नेपालमा वार्षिक एक सय पाँच खर्ब रुपैयाँको धान, पराल, भुसलगायत उप–उत्पादन हुन्छ । कुल खेती हुने क्षेत्रफलमध्ये ५०.२ प्रतिशतमा धान फल्छ । तराईमा ६९.१ प्रतिशत, पहाडमा २६.८ प्रतिशत र उच्च पहाडमा ४.१ प्रतिशत खेतीयोग्य जमिनमा धान खेती हुन्छ। 

प्रकाशित: २८ असार २०७४ ०५:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App