१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विदेशी च्यानलमा विज्ञापन रोक

काठमाडौं- नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले अबदेखि विज्ञापनरहित सामग्री मात्र प्रसारण गर्न पाउने भएका छन्। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले नेपालभित्र प्रसारणको अनुमति लिने विदेशी टेलिभिजन च्यानललाई विज्ञापनरहित बनाउने (क्लिन फिड) व्यवस्थासहितको ‘आमसञ्चार नीति ०७३' पास गरेको हो। यो नीतिअनुसार नयाँ च्यानलले विज्ञापन प्रसारण गर्न पाउने छैनन् भने अनुमति लिइसकेका हकमा निश्चित अवधि तोकेर विज्ञापनरहित सामग्री मात्र प्रसारण गर्न पाउने छन्।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शेरधन राईले स्वदेशी टिभी र विज्ञापन एजेन्सीलाई प्रोत्साहन गर्न, नेपालबाट विदेसिइरहेको मु›ा रोक्न, भाषा र संस्कृतिमा भएको नकारात्मक प्रभाव रोक्न र स्वदेशी विज्ञापन बजार वृद्धि गर्न यो निर्णय गरिएको बताए। 'यो व्यवस्थापछि आगामी दिनमा नेपाली बजारमा सित्तैमा बजिरहेका विदेशी विज्ञापन रोकिनेछन्,' उनले भने, 'यसले नेपाली विज्ञापनको बजारलाई बढावा दिनेछ।' उनले मन्त्रिपरिषद्को २०७२ माघ १० मा गठित समितिले दिएको सुझावका आधारमा उक्त नीति स्वीकृत गरिएको जानकारी दिए।

समितिले बुधबार मात्र प्रधनमन्त्री केपी ओलीसमक्ष नीतिको प्रतिवेदन बुझाएको थियो। समितिका अध्यक्ष काशीराज दाहालले हस्तान्तरण गरेको उक्त नीतिमा सञ्चारमाध्यममा हुने लगानीको पारदर्शिता, श्रमजीवी पत्रकारको हक–अधिकार, मिडियाको पुनःसंरचनालगायत विषय छन्। यो नीतिले विदेसिएको विदेशी मु›ा कम गर्न, नेपालमा राजस्व र रोजगारी बढाउन तथा नेपाली भाषा र संस्कृतिमा परेको नकारात्मक प्रभाव कम गर्न सघाउने मन्त्री राईले जानकारी दिए।

यसैगरी मन्त्रिपरिषद्ले मुस्ताङको लोमन्थाङमा भेटिएको युरेनियम खानीको सुरक्षाका लागि नेपाली सेना खटाउने निर्णयसमेत गरेको छ। उद्योगमन्त्री सोमप्रसाद पाण्डेका अनुसार बहुमूल्य युरेनियम खानी रहेको क्षेत्रको सुरक्षा जरूरी रहेकाले उद्योग मन्त्रालयबाट सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनु उचित हुने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिएको थियो। 'अब तत्काल नेपाली सेनालाई पत्राचार गरेर त्यहाँ सुरक्षा पोस्ट राख्नेबारेमा काम अगाडि बढ्ने छ,' उनले भने।

युरेनियमको अध्ययन र अन्वेषणको काम उद्योग मन्त्रालयअन्तर्गत पर्ने खानी तथा भूगर्भ विभागले गरिरहेको छ। हालै उद्योगमन्त्री पाण्डेको नेतृत्वमा खानी विभागका विज्ञसहितको टोलीले युरेनियम खानी क्षेत्रको स्थलगत अध्ययन गरेको थियो। यसैगरी, चीनको चोङ क्युङ सहरका लागि अवैतनिक नेपाली वाणिज्य दूतमा चिनियाँ नागरिक कोङ म्यान तिनलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री राईले जानकारी दिए।

प्रकाशित: ८ श्रावण २०७३ ०२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App