१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ल्यान्डलाइन फोनको स्तरोन्तति सुरु

काठमाडौं – नेपाल टेलिकमले २५ वर्षपछि पिएसटिएन (ल्यान्डलाइन) टेलिफोन सेवाको स्तरोन्नति सुरु गरेको छ । पुराना प्रविधिमा आधारित डिजिटल प्रविधिका उपकरणलाई पछिल्लो समय प्रचलनमा रहेको आइपीमा आधारित प्रविधिमा रुपान्तरण सुरु गरेको टेलिकमले जनाएको छ । 

नेपालमा ल्यान्डलाइन फोन उपलब्ध गराउने सेवा प्रदायक नेपाल टेलिकम मात्र हो । ‘२५ वर्षअघि स्थापित डिजिटल प्रविधिका उपकरणलाई आधुनिक आइपीमा आधािरत प्रविधिमा रुपान्तरण सुरु गरेका छौं,’ नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले भनिन्, ‘उपभोक्ताको माग अनुरुपको भ्यालु एडेड सेवा समेत वितरण गर्न सकिने गरी स्तरोन्नति गर्न थालिएको छ ।’

आइपीमा आधारित उपकरणले पुरानालाई प्रतिस्थापन गरेपछि ल्यान्डलाइन प्रविधिको भ्वाइस तथा डाटा सेवाको गुणस्तरमा उल्लेखनीय सुधार हुने अपेक्षा टेलिकमले गरेको छ । यस प्रविधि अन्तर्गतका एक्सचेन्जहरुबाट ग्राहकको मागअनुरुप एडिएसएल लाइन उपलब्ध गराउन समेत सम्भव हुनेछ । साथै  भविष्यमा ल्यान्डलाइन सेवामा आधारित आइपिटिभी, भिडियो अन डिमान्ड जस्ता आधुनिक सेवा समेत दिन सकिने टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार आगामी दुई महिनाभित्र मुलुकका एक लाख ३४ हजार पिएसटिएन टेलिफोन लाइनका उपकरणलाई आइपीमा आधारित उपकरणबाट प्रतिस्थापन गरिने छ । त्यसैगरी, आगामी आर्थिक वर्षभित्र चार लाख ल्यान्ड लाइन सेवालाई यस प्रविधिबाट प्रतिस्थापन गरी सक्ने कार्यक्रम छ । त्यसपछि बाँकी ल्यान्डलाइनलाई क्रमशः आइपीमा आधारित प्रविधिमा रुपान्तरण गर्ने लक्ष्य छ ।

टेलिकम सञ्चालक समिति अध्यक्ष तथा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले शुक्रबार कम्पनीको ग्वार्कोस्थित टेलिफोन एक्सचेन्जमा नयाँ प्रविधिको पिएसटिएन टेलिफोन लाइनबाट कुरा गरी सो कार्य सुरु गरेका थिए । उनले पुरानोे टिडिएम प्रविधिको स्विचिङ उपकरणलाई नयाँ प्रविधिको आइपीमा आधारित उपकरणले विस्थापन गर्दै स्तरोन्नति गर्ने कार्य सुरु गरेका थिए । 

शुक्रबार नै ग्वार्को एक्सचेन्जका सम्पूर्ण चार हजार दुई सय २४ लाइन टेलिफोन सफलतापूर्वक प्रतिस्थापन भएको छ । 

सो अवसरमा गुरुङले प्रविधिमा भएको परिवर्तनलाई आत्मसात गर्दै ग्राहकलाई केन्द्रबिन्दुमा राखेर गुणस्तरीय सेवा दिनुपर्ने बताए । उनले यसका लागि आक्रामक बजार रणनीति बनाई त्यसैअनुसार आगामी दिनमा काम गर्न टेलिकमलाई आग्रह गरे ।  

कार्यक्रममा वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक देवनारायण यादवले  सञ्चालनमा रहेका पिएसटिएन प्रविधि अन्तर्गतका सम्पूर्ण लाइनको रुपान्तरण कार्यक्रम अनुरुप समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रकाशित: २५ असार २०७४ ०६:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App